Breaking News
नेपाली फुटबलमाथि फिफाले लगाएको निलम्बन फुकुवाको प्रक्रियामा

काठमाडौँ- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाली फुटबलमाथि अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले लगाएको निलम्बन फुकुवाको प्रक्रिया अघि बढेको बताउनुभएको छ ।

थाइल्यान्डमा फिफा र एसियाली फुटबल महासङ्घ (एएफसी) का अध्यक्षसहितका पदाधिकारीसँग छलफल गरेर स्वदेश फर्किनुभएका मन्त्री पोखरेले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई नेपाल भ्रमणको निम्तोसमेत दिएको जानकारी दिनुभएको हो ।

उहाँका अनुसार निलम्बन फुकुवासँगै फिफा र एएफसी एन्फाको तहगत निर्वाचन गराउन सहमत भएका छन् ।

निर्वाचन कसरी र कुन प्रक्रियाबाट गर्ने भन्ने विषयमा फिफाले आउँदो डिसेम्बरमा प्रस्तावसहितको रोडम्याप पठाउनेछ ।

एन्फाको निर्वाचन पुरानै नेतृत्वबाट गर्ने वा अन्तरिम कमिटी बनाएर गर्ने भन्ने विषय भने टुङ्गिन बाँकी रहेको खेलकुदमन्त्री पोखरेलले बताउनु भयो ।।

मधेशमा सरकार गठन अन्योलमा, समयसीमा थप्न तीन दलको आग्रह

जनकपुरधाम- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि सहमति जुट्न नसकेपछि नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश प्रमुखसँग दाबी पेस गर्ने समयसीमा थप गर्न आग्रह गरेका छन् ।
प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेस गर्न दिएको समयसीमा आज साँझ ४ बजे सकिएको छ । तर, दलहरूबीच सरकारको नेतृत्व र गठन प्रक्रियाबारे सहमति जुट्न सकेको छैन ।
समयसीमा सकिन लागेपछि कांग्रेस, एमाले र नेकपाका नेताहरूले प्रदेश प्रमुखसमक्ष सरकार गठनका लागि दाबी पेस गर्ने समय थप गर्न लिखित आग्रह गरेका हुन् ।
नेकपाका संसदीय दलका नेता युवराज भट्टराईका अनुसार छठपर्व तथा एमालेको राष्ट्रिय भेलालगायतका कारण दलहरूबीच पर्याप्त छलफल हुन नसकेकाले थप समय माग गरिएको हो । उहाँले सरकार गठनबारे विभिन्न दलबीच छलफल जारी रहे पनि नेतृत्वका विषयमा ठोस सहमति भइनसकेको बताउनुभयो ।
यसैबीच, मधेश प्रदेशसभाको सबैभन्दा ठूलो दल जनता समाजवादी पार्टी (जसपा) नेपालले संविधानको धारा १६८ को उपधारा (३) बमोजिम सरकार गठन गर्न प्रदेश प्रमुखसँग आग्रह गरेको छ ।
प्रदेशसभामा सबैभन्दा ठूलो दलको हैसियतमा आफ्नो पार्टीका संसदीय दलका नेतालाई मुख्यमन्त्री नियुक्त गर्न जसपा नेपालका प्रदेशसभा सदस्य तथा पूर्वमुख्यमन्त्री लालबाबु राउतले आग्रह गर्नुभएको हो । जसपा नेपालका प्रदेशसभा सदस्यहरूले आज साँझ प्रदेश प्रमुखलाई भेटेर यस्तो आग्रह गरेका हुन् ।
यसअघि जनमत पार्टीका अध्यक्ष डा सिके राउतले आफ्नो पार्टी मधेश प्रदेश सरकारमा सहभागी नहुने बताउनुभएको थियो ।
नेपाली कांग्रेस नेतृत्वको सरकारलाई समर्थन दिएका एमाले र नेकपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिनुभएको थियो । त्यसपछि प्रदेश प्रमुख कर्णले नयाँ सरकार गठनका लागि संविधानको धारा १६८ को उपधारा (२) अनुसार दाबी पेस गर्न समयसीमा तोक्नुभएको थियो ।
कुल १०७ सदस्यीय मधेश प्रदेशसभामा जसपा नेपालका २८, एमालेका २४, कांग्रेसका २२, नेकपाका १५ र जनमत पार्टीका १२ सदस्य छन् । त्यस्तै, नेपाल सङ्घीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक/एक सदस्य छन् ।
प्रदेशसभामा कुनै पनि दलको एकल बहुमत नभएकाले सरकार गठनका लागि दलहरूबीच सहकार्य आवश्यक छ । तर, सरकारको नेतृत्व कसले गर्ने भन्नेमा सहमति जुट्न नसक्दा मधेश प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया अन्योलमा परेको छ ।।
विवाहपञ्चमी महोत्सवको तयारी तीव्र, व्यवस्थापनका लागि समिति गठन

जनकपुर- आगामी मङ्सिर २३ गतेदेखि जनकपुरधाममा सुरु हुने साताव्यापी श्रीराम जानकी विवाहपञ्चमी महामहोत्सवको व्यवस्थापनका लागि विभिन्न समिति गठन गरिएको छ ।

महोत्सवलाई भव्य, व्यवस्थित र सुरक्षित बनाउन जानकी मन्दिरले शान्ति सुरक्षा, प्रचारप्रसार, बजार व्यवस्थापन, रङ्गभूमि मैदान तथा प्रवेशद्वार व्यवस्थापन, पण्डाल निर्माण, ट्राफिक, खानेपानी र विद्युत् व्यवस्थापनलगायतका विषयमा छुट्टाछुट्टै समिति गठन गरेको हो ।

महोत्सवको तयारीबारे बिहीबार मन्दिर परिसरमा आयोजित सर्वपक्षीय बैठकले समिति गठन गरी जिम्मेवारी बाँडफाँट गर्ने निर्णय गरेको छ । यस वर्षको महोत्सवलाई विगतका वर्षभन्दा थप व्यवस्थित र भव्य बनाउने उद्देश्यले बैठक आयोजना गरिएको हो ।

जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवको अगुवाइ तथा उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवको संयोजनमा सम्पन्न बैठकमा उत्तराधिकारी महन्थ दासले महोत्सव सफल बनाउन आवश्यक तयारी अघि बढाइएको बताउनुभयो ।

उहाँले महोत्सवलाई व्यवस्थित बनाउन स्थानीय प्रशासन, सुरक्षा निकाय, स्थानीय तह तथा सम्बन्धित सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो ।

विवाहपञ्चमी महोत्सवमा सहभागी हुन नेपालका विभिन्न जिल्ला तथा भारतको अयोध्यासहितका स्थानबाट हजारौँ साधुसन्त र श्रद्धालु जनकपुरधाम आउने भएकाले उनीहरूको स्वागत, आवास, सुरक्षा र आवागमनलाई सहज बनाउने विषयलाई बैठकले प्राथमिकता दिएको छ ।

बैठकमा धार्मिक सङ्घसंस्था, नागरिक समाज, जनप्रतिनिधि, सुरक्षा निकाय, सञ्चार क्षेत्र तथा विभिन्न सरकारी कार्यालयका प्रतिनिधिको सहभागिता रहेको थियो ।

चितवनले दियो सुदूरपश्चिमलाई १३४ रनको विजयी लक्ष्य

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई १३४ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएको हो ।

चितवनका  लागि डाविड मलानले अविजित ७१ रनको योगदान गरे ।।

 

भैँसेमा सुमो दुर्घटना, तीन जनाको मृत्यु

हेटौँडा, ३ मङ्सिरः मकवानपुरको भैँसे नजिकै आज बिहान सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् ।

रौतहटको चपुरबाट काठमाडौँतर्फ गइरहेको ना १ ज २१४३ नम्बरको सुमो भैँसे नजिकै सुन्दरीमाई मोडमा दुर्घटना हुँदा रौतहटको चन्द्रनिगाहपुर नगरपालिका–३ का ५० वर्षीय बमबहादुर वाइबा र सोही नगरपालिका–४ की २२ वर्षीया जेसिका तिमिल्सिनाको मृत्युु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख श्यामबहादुर खत्रीले राससलाई जानकारी दिनुभयो । अन्य एक मृतकको परिचय खुलेको छैन ।

दुर्घटनाग्रस्त सुमोमा चालकसहित १० जना सवार थिए । घाइते सात जनालाई हेटौँडा अस्पताल पु¥याइएको छ ।

यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ, ३ मङ्सिरः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ ।

समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५०, आलु रातो (लाम्चो) प्रतिकिलो रु ५०, आलु रातो (गोलो) प्रतिकिलो रु ५०, आलु रातो (भारतीय) प्रतिकिलो रु ३५, आलु (सेतो) प्रतिकिलो रु ३२, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ९५, गाजर (लोकल) प्रतिकिलो रु ९०, गाजर (तराई) प्रतिकिलो रु ६०, बन्दा (लोकल) प्रतिकिलो रु ३०, काउली (स्थानीय) प्रतिकिलो रु ३५, काउली (तराई) प्रतिकिलो रु २०, मूला (रातो) प्रतिकिलो रु ३०, मूला सेतो (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा (लाम्चो) प्रतिकिलो रु ३०, भन्टा (डल्लो) प्रतिकिलो रु ५०, तने बोडी प्रतिकिलो रु १०० र मकै बोडी प्रतिकिलो रु ५० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु १२०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ९०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ८०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १२०, टाटे सिमी प्रतिकिलो रु ८०, तिते करेला प्रतिकिलो रु ९०, लौका प्रतिकिलो रु ७०, परबर (लोकल) प्रतिकिलो रु ८०, परबर (तराई) प्रतिकिलो रु १००, चिचिण्डो प्रतिकिलो रु ४०, घिरौँला प्रतिकिलो रु ७०, झिगुनी प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ७०, हरियो फर्सी ( लाम्चो) प्रतिकिलो रु ३० हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३० र भिण्डी प्रतिकिलो रु १३० कायम गरिएको छ ।

त्यसैगरी, सखरखण्ड प्रतिकिलो रु ६०, बरेला प्रतिकिलो रु ४०, पिँडालु प्रतिकिलो रु ७०, इस्कुस प्रतिकिलो रु २०, रायो साग प्रतिकिलो रु ८०, पालुङ्गो साग प्रतिकिलो रु १२०, चम्सुरको साग रु १५०, तोरीको साग प्रतिकिलो रु ७०, मेथीको साग प्रतिकिलो रु १५०, प्याज हरियो प्रतिकिलो रु २००, बकुला प्रतिकिलो रु १००, तरुल प्रतिकिलो रु १००, च्याउ (कन्य) प्रतिकिलो रु २६०, च्याउ (डल्ले) प्रतिकिलो रु ४००, राजा च्याउ प्रतिकिलो रु ३००, सिताके च्याउ प्रतिकिलो रु १,००० र कुरिलो प्रतिकिलो रु ८०० निर्धारण गरिएको छ ।

यसैगरी, ब्रोकाउली प्रतिकिलो रु १२०, चुकुन्दर प्रतिकिलो रु ९०, सजीवन प्रतिकिलो रु २५०, रातो बन्दा प्रतिकिलो रु १८०, जिरीको साग प्रतिकिलो रु १५०, सेलरी प्रतिकिलो रु ५००, पार्सले प्रतिकिलो रु २,८००, सौफको साग प्रतिकिलो रु १५०, पुदिना प्रतिकिलो रु ७००, गान्टे मूला प्रतिकिलो रु १५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १६०, तोफु प्रतिकिलो रु १६० र गुन्द्रुक प्रतिकिलो रु ३५० र रुख टमाटर प्रतिकिलो रु १५० तोकेको छ ।

समितिले स्याउ (फूजी) प्रतिकिलो रु ३५०, स्याउ (जुम्ला) प्रतिकिलो रु ३५०, स्याउ (मुस्ताङ) प्रतिकिलो रु २५०, केरा (नेपाली) दर्जन रु १५०, केरा (मालभोग) दर्जन रु १५०, कागती प्रतिकिलो रु ३००, अनार प्रतिकिलो रु ४००, सुन्तला (नेपाली) रु १००, सुन्तला (भारतीय) रु १००, तरबुजा हरियो प्रतिकिलो रु ८०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ८०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ४०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ७०, निबुवा प्रतिकेजी रु ६०, नासपाती (चाइनिज) प्रतिकिलो रु ३००, मेवा (नेपाली) प्रतिकिलो रु ६०, मेवा (भारतीय) प्रतिकिलो रु १००, अम्बा प्रतिकिलो रु २५०, लप्सी प्रतिकिलो रु ८०, स्ट्रबेरी प्रतिकिलो रु ५००, किबी प्रतिकिलो रु ३००, सरिफा प्रतिकिलो रु २५०, आभोकाडो प्रतिकिलो रु ३०० तथा अमला प्रतिकिलो रु ८० निर्धारण गरिएको छ ।

यसैगरी, नरिवल (काँचो) प्रतिकिलो रु ८०, नरिवल (हरियो) प्रतिकिलो रु २००, ड्रागन फ्रुट (नेपाली) प्रतिकिलो रु ५००, अदुवा प्रतिकिलो रु ९०, खुर्सानी सुकेको प्रतिकिलो रु ५५०, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ९०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु १००, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु २००, भेडे खुर्सानी प्रतिकिलो रु १००, लसुन हरियो प्रतिकिलो रु २००, हरियो धनियाँ प्रतिकिलो रु १००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २६०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २६०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु २००, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३७०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३३० र ताजा माछा (छडी) प्रतिकिलो ३५० निर्धारण भएको छ ।

मलेसिया श्रमिक ठगी प्रकरणमा पूर्वमन्त्री कुँवर र यादवसहित ६ जना पक्राउ

काठमाडौं — मलेसिया जाने नेपाली श्रमिकमाथि भएको ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धानका लागि दुई पूर्वमन्त्रीसहित ६ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादव रहेका छन्। त्यस्तै, मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुख (सहसचिव) उमेश ढुङ्गाना र राजीव पोखरेल तथा तत्कालीन कानून अधिकृत (उपसचिव) निर्मला गुरुङ पक्राउ परेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र तथा विकास रानाभाटसमेतको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा उनीहरूलाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार मलेसिया सरकार र नेपाल सरकारबीच भएको समझदारीपत्र (एमओयू) विपरीत गैरकानूनी रूपमा ठगी गरी संकलन गरिएको रकम मलेसिया पठाउने निर्णय प्रक्रियामा उनीहरू संलग्न रहेको आरोप छ।

उक्त प्रकरणमा अमेरिकी डलर ८३ लाख ७० हजार ४३९ र बेलायती पाउन्ड ३७ लाख १७ हजार ९८० गरी कुल एक अर्ब ६९ करोड दुई लाख २४ हजार २६ रुपैयाँ ७६ पैसा बराबरको रकम गैरकानूनी रूपमा संकलन तथा विदेश पठाइएको प्रहरीको दाबी छ।

सम्झौताको दायरा र कानूनी प्रक्रिया मिचेर अधिकार क्षेत्रभन्दा बाहिर गई विदेशी मुद्रा अपचलन गराइएको तथा यसबाट मुलुकको विदेशी मुद्रा सञ्चितिमा नोक्सानी पुगेको आरोप पक्राउ परेका व्यक्तिमाथि लगाइएको छ।

श्रमिकमाथि संगठित रूपमा ठगी भइरहेको अवस्थामा सम्बन्धित पदाधिकारीहरूले कानूनी उपचारको प्रक्रिया अघि नबढाई गैरकानूनी रूपमा संकलित रकम मलेसिया पठाउने निर्णयमा भूमिका खेलेको आरोपसमेत छ।

काठमाडौं जिल्ला अदालत, बबरमहलबाट २०८३ मंसिर २ गते पक्राउ पुर्जी जारी गर्ने अनुमति लिएपछि उनीहरूलाई काठमाडौं, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका सबैमाथि ठगीसम्बन्धी कसुर तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान भइरहेको छ।

ठगी तथा संगठित अपराध सम्बन्धी कसूरमा संलग्न व्यक्तिहरु पक्राउ (2083-08-02)

बढी भाडा लिएको गुनासोपछि तोकिएको दर पालना गर्न आग्रह

धादिङ, २ मङ्सिर  : सार्वजनिक यातायातमा तोकिएभन्दा बढी भाडा लिएको गुनासो आएपछि धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाले यातायात व्यवसायीलाई निर्धारित भाडादर पालना गर्न आग्रह गरेको छ ।

गाउँपालिकाले मङ्सिर १ गते जारी गरेको सूचनामा पालिकाभित्र सञ्चालन हुने बस, जिप, माइक्रो र हाइसले बढी भाडा लिएर यात्रुलाई दुःख दिएको गुनासो प्राप्त भएको उल्लेख छ । सोही आधारमा सबै यातायात व्यवसायीलाई प्रचलित भाडादरअनुसार मात्र रकम लिन भनिएको हो ।

सूचनामा यातायात व्यवस्था विभागले तोकेको वा समायोजन गरेको भाडादर तथा मापदण्ड पालना गर्न आग्रह गरिएको छ । सम्बन्धित यातायात समिति तथा कम्पनीहरूले सरोकारवालाको सहभागितामा निर्धारण गरेको दरभन्दा बढी भाडा नलिन र नदिन पनि गाउँपालिकाले अनुरोध गरेको छ ।

तोकिएभन्दा बढी भाडा मागे वा लिएमा प्रमाणसहित गाउँ कार्यपालिकाको कार्यालय तथा नजिकको प्रहरी कार्यालयमा खबर गर्न यात्रुलाई आग्रह गरिएको छ । बढी भाडा लिएको प्रमाणित भए कानुनबमोजिम कारबाही वा कारबाहीका लागि सिफारिस गरिने सूचनामा उल्लेख छ ।

गाउँपालिकाले उक्त सूचनाको बोधार्थ यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, धादिङ र इलाका प्रहरी कार्यालय सल्यानटारलाई समेत पठाएको छ ।

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ- हाल मुलुकमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा त्यसका प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने लुम्बिनी प्रदेशको पहाडी भागमा आंशिक बदली भएको छ । तराईका केही स्थानमा तुवाँलो लागेको छ भने बाँकी भागको मौसम सफा छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भेगमा आंशिक बदली रहनेछ । बाँकी भागको मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी, मधेस र लुम्बिनी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागमा आंशिक बदली रहनेछ । बाँकी भागको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । तराईका साथै उपत्यका र खोँचहरूमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ ।

धादिङमा बढी आयकर बुझाउने तीन करदाता सम्मानित

धादिङ, १ मंसिर । आन्तरिक राजस्व कार्यालय गल्छीले बढी आयकर दाखिला गरी राजस्वमा योगदान पु¥याउने तीन करदातालाई आज सम्मान गरेको छ । राष्ट्रिय कर दिवसका अवसरमा गल्छी गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८१/८२ को आय विवरणका आधारमा करदाता सम्मान गरिएको हो ।

सम्मानित हुनेमा बेनीघाट रोराङ गाउँपालिका–६ स्थित सदाज्योति सप्लायर्सका प्रोपाईटर उज्वल कुमार थपलिया, नीलकण्ठ नगरपालिका–३ स्थित स्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तर्फबाट संस्थाकी अध्यक्ष कविता थापा र धुनीबेँसी नगरपालिका–५ स्थित एच.एस.मल्टी एग्रो प्रा.लि.का संचालक शिवहरि आचार्य रहेका छन् ।

सम्मानपत्रमा आर्थिक वर्ष २०८१/८२ को आय विवरणअनुसार बढी आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पु¥याएकाले सम्मान गरिएको उल्लेख छ । सम्मानित करदाताबाट अन्य करदातालाई समेत प्रेरणा मिल्ने अपेक्षा गरिएको छ ।
‘कर न्याय र सुशासनको सुनिश्चितता : समृद्धिमा नागरिक सहभागिता’ भन्ने नारासहित आयोजित कार्यक्रममा गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडा, नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठ तथा धादिङ उद्योग वाणिज्य सङ्घका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

कर दिवसकै अवसरमा बिहान गल्छी र बैरेनी बजारमा प्रभातफेरीसमेत गरिएको थियो । कार्यक्रममा करदाता, उद्योगी, व्यवसायी, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि र विद्यार्थी सहभागी भएका थिए ।
राष्ट्रिय कर दिवसका अवसरमा आज देखि ७ गतेसम्म धादिङमा करसम्बन्धी अन्तरक्रिया तथा अन्य कार्यक्रम सञ्चालन गरिने आन्तरिक राजस्व कार्यालय गल्छीका प्रमुख कर अधिकृत प्रेमप्रकाश शाहीले जानकारी दिनुभयो ।

धादिङमा बढी आयकर बुझाउने तीन करदाता सम्मानित