Breaking News
ममता काफ्ले हत्या प्रकरण : पति नरेश भट्ट दोषी ठहर

अमेरिका । नेपाली मूलकी ममता काफ्ले भट्टको हत्या प्रकरणमा उनका पति नरेश भट्ट दोषी ठहर भएका छन्। अमेरिकाको भर्जिनिया राज्यस्थित प्रिन्स विलियम काउन्टी अदालतमा भएको सुनुवाइपछि जुरीले उनलाई प्रथम श्रेणीको हत्या, शव लुकाउने तथा नष्ट गर्ने र मृत शरीर विकृत बनाउने अभियोगमा दोषी ठहर गरेको हो।

करिब पाँच घण्टासम्म विचारविमर्श गरेपछि जुरीले मंगलबार साँझ फैसला सुनाएको थियो। फैसला सार्वजनिक भएसँगै नरेशलाई सजाय निर्धारण नभएसम्म धरौटीमा रिहा गर्न अदालतले अस्वीकार गरेको छ। उनको सजाय आगामी सन् २०२७ को मार्चमा निर्धारण हुने बताइएको छ।

मुद्दाको सुनुवाइका क्रममा अभियोजन पक्षले विभिन्न साक्षी र प्रमाण प्रस्तुत गरेको थियो। ममताकी निकट साथी तथा सहकर्मी सुनिता बस्नेत थापाले अदालतमा बयान दिँदै ममता आत्महत्या गर्ने स्वभावकी नभएको बताएकी थिइन्। उनका अनुसार ममताले कहिल्यै आत्महत्या गर्ने इच्छा व्यक्त गरेकी थिइनन्।

सुनिताले सन् २०२३ डिसेम्बरमा ममताको अनुहारमा चोटसमेत देखेको बयान दिएकी थिइन्। त्यस्तै, अभियोजन पक्षले विषविज्ञान विशेषज्ञ र नरेशका पूर्वरूममेटलाई समेत साक्षीका रूपमा प्रस्तुत गरेको थियो।
अदालतमा अभियोजन पक्षले करिब १०० जना साक्षी र झन्डै ५०० वटा प्रमाण पेस गरेको जनाएको छ। यता नरेशले भने ममताले आत्महत्या गरेको दाबी गर्दै आएका थिए।

सन् २०२४ मा ममता अचानक बेपत्ता भएपछि घटना सार्वजनिक भएको थियो। त्यसपछि सुरु भएको अनुसन्धानका क्रममा नरेशमाथि पत्नीको हत्या गरी शव लुकाएको आरोप लागेको थियो।

फैसलापछि ममताको परिवारले लामो समयदेखि भोग्दै आएको पीडा र न्यायको प्रतीक्षाबीच मुद्दाले महत्वपूर्ण मोड लिएको छ। अब सबैको ध्यान आगामी मार्चमा हुने सजाय निर्धारणतर्फ केन्द्रित भएको छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=23052, citypokhara.com

दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, तीन जना गम्भीर घाइते

बर्दिया। बर्दियाको बाँसगढी नगरपालिका–५ स्थित मोतिपुर जंगलको भित्री सडकखण्डमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर र एक जना सामान्य घाइते भएका छन्।

दुर्घटनामा परी मृत्यु हुनेमा गुलरिया नगरपालिका–११ निवासी २४ वर्षीय ओमकार थारु रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका थारुलाई थप उपचारका लागि भारतको लखनउ लैजाने क्रममा मृत्यु भएको हो।

दुर्घटनामा बारबर्दिया नगरपालिका–३ बानियाभार निवासी २५ वर्षीय आशिष थारु, बाँसगढी नगरपालिका–७ निवासी १८ वर्षीय रमन थारु तथा भारतको लौकाइ निवासी १८ वर्षीय सहाबुदिन खान र २०/२२ वर्षीय जमाल खान घाइते भएका छन्।

घाइतेमध्ये मोटरसाइकल चालक आशिष थारुको टाउकोमा चोट लागेको छ भने भारतका सहाबुदिन खानको टाउको र अनुहारमा तथा जमाल खानको टाउको, मुख र अनुहारमा चोट लागेको छ। उनीहरूको अवस्था गम्भीर रहेको बताइएको छ।

त्यस्तै, रमन थारुको टाउको र मुखमा सामान्य चोट लागेको थियो। उनको बाँसगढीस्थित कौशिल्या अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेको छ।

प्राप्त विवरणअनुसार हिजो दिउँसो करिब १ बजेतिर भे ५ प ९१६१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको भे ११ प ८५६७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।

दुर्घटनामा संलग्न दुवै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=23049, citypokhara.com

आज भाइटीका, पूर्वान्न ११:०७ बजे उत्तम साइत

पाेखरा । यमपञ्चकको अन्तिम दिन आज देशभर भाइटीका पर्व मनाइँदैछ। कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने यस पर्वमा दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै सप्तरङ्गी टीका तथा फूलमाला लगाइदिने परम्परा छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष भाइटीकाको उत्तम साइत पूर्वान्न ११ बजेर ७ मिनेटमा रहेको छ। यद्यपि सर्वसाधारणले दिनभर टीका लगाउन सक्ने समितिले जनाएको छ।

यस वर्ष टीका लगाइदिने दिदीबहिनी पूर्व र लगाउने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिको सुझाव छ। भाइटीकाका दिन दियो, कलश, गणेश, अष्टचिरञ्जीवी, यमराज र यमुनाको पूजा गर्ने चलन छ।

दिदीबहिनी नहुनेहरूका लागि काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर आज दिनभर खुला रहनेछ। त्यस्तै जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा पनि पूजा तथा दर्शन गरी टीका लगाउने परम्परा छ।

नेवार समुदायले भाइटीकालाई किजापूजाका रूपमा मनाउने गर्छन्। यस पर्वले दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, सद्भाव र आत्मीयतालाई प्रगाढ बनाउने विश्वास गरिन्छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=23046, citypokhara.com