Breaking News
काभ्रेमा डेङ्गी सङ्क्रमितको सङ्ख्या ५४ पुग्यो

बनेपा (काभ्रे), ८ मङ्सिर । काभ्रेपलाञ्चोकमा चालु आर्थिक वर्षको साउन १ गतेदेखि मङ्सिर ७ गतेसम्म ५४ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ ।

जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख रागीश्री कक्षपति श्रेष्ठका अनुसार सङ्क्रमितमध्ये ३० पुरुष र २४ महिला रहेका छन् । जिल्लाका चार स्थानीय तहमा डेङ्गी सङ्क्रमण देखिएको छ ।

उनका अनुसार पाँचखाल नगरपालिकामा सबैभन्दा बढी २४ जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै बनेपा नगरपालिकामा १९, मण्डनदेउपुर नगरपालिकामा नौ र नमोबुद्ध नगरपालिकामा दुई जनामा सङ्क्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा भने जिल्लामा डेङ्गीका नयाँ सङ्क्रमित थपिएका छैनन् । कक्षपतिका अनुसार, जिल्लाका अन्य स्थानीय तहमा हालसम्म सङ्क्रमण देखिएको छैन ।

जाडोमा ज्येष्ठ नागरिकको स्वास्थ्यमा ध्यान दिन सुझाव

काठमाडौँ, ८ मङ्सिर । जाडो मौसममा ज्येष्ठ नागरिकको स्वास्थ्यमा विभिन्न समस्या देखिन सक्ने भएकाले विशेष हेरचाह र सुरक्षामा ध्यान दिन स्वास्थ्य क्षेत्रका विज्ञले सुझाव दिएका छन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले स्वस्थ बुढ्यौलीका लागि ज्येष्ठ नागरिकको शारीरिक स्वास्थ्य, पोषण, मानसिक स्वास्थ्य तथा सुरक्षित वातावरणलाई प्राथमिकता दिएको छ ।

ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा उमेश बोगटीका अनुसार उमेर बढ्दै जाँदा शरीरको तापक्रम नियन्त्रण गर्ने क्षमता र रोग प्रतिरोधात्मक प्रणाली कमजोर हुने भएकाले चिसो मौसममा सङ्क्रमण तथा अन्य स्वास्थ्य समस्या देखिने जोखिम बढी हुन्छ ।

उहाँका अनुसार ज्येष्ठ नागरिकलाई न्यानो कपडा लगाउने, सुत्ने कोठा न्यानो राख्ने तथा हिटर प्रयोग गर्दा पर्याप्त हावा आवतजावत हुने व्यवस्था मिलाउनुपर्छ । साथै पोषणयुक्त तथा प्रोटिनयुक्त खाना, मौसमी फलफूल, सागसब्जी र पर्याप्त झोलिलो पदार्थ सेवनमा ध्यान दिनुपर्छ ।

“जाडोमा छातीको सङ्क्रमण तथा निमोनियाको जोखिम बढ्ने भएकाले भिडभाड, धुवाँधुलोबाट टाढा रहने, नियमित हात धुने तथा चिकित्सकको सल्लाहअनुसार फ्लू र निमोनियाविरुद्धको खोप लगाउनुपर्छ,”डा बोगटी भन्नुहुन्छ ।

त्यस्तै, नियमित हिँडडुल तथा हल्का व्यायाम गर्नुपर्छ । अत्यधिक चिसो र शीतलहर चलेका बेला बिहान बाहिर निस्कनबाट जोगिनुका साथै सुरक्षित स्थानमा बसेर घाम ताप्न सकिन्छ । लड्ने जोखिम कम गर्न नचिप्लिने जुत्ता प्रयोग गर्ने र आवश्यकताअनुसार लौरोको सहारा लिनुपर्छ ।

डा बोगटी भन्नुहुन्छ, “उच्च रक्तचाप, मधुमेह, दम तथा जोर्नीसम्बन्धी समस्या भएका ज्येष्ठ नागरिकले नियमित औषधि सेवन र स्वास्थ्य परीक्षणमा ध्यान दिनुपर्छ । चिसोका कारण छाला सुक्खा हुने तथा चिलाउने समस्या देखिन सक्ने भएकाले मोइस्चराइजर प्रयोग गर्नुपर्छ ।”

जाडोमा शरीरको तापक्रम अत्यधिक घट्दा हाइपोथर्मिया हुन सक्छ । शरीर काँप्ने, अत्यधिक थकान हुने, अलमलिने, बोली अस्पष्ट हुने तथा असामान्य निद्रा लाग्ने यसका लक्षण हुन् । यस्ता लक्षण देखिएमा तत्काल न्यानो स्थानमा लैजानुका साथै आपत्कालीन स्वास्थ्य सेवा लिनुपर्छ । छाती दुख्ने, सास फेर्न गाह्रो हुने वा होसमा परिवर्तन आउने अवस्था देखिएमा पनि तुरुन्त अस्पताल लैजानुपर्छ ।

डा बोगटीका अनुसार ज्येष्ठ नागरिकलाई चिसोबाट सुरक्षित राख्न न्यानो वातावरण, पोषणयुक्त खानपान, आवश्यक खोप, नियमित शारीरिक गतिविधि र पारिवारिक सहयोग महत्वपूर्ण हुन्छ ।

गर्भवती महिलाको मृत्युपछि बरहथवा नगर अस्पतालमा आगजनी र तोडफोड, ४ जना पक्राउ

७ मंसिर, सर्लाही । उपचारका क्रममा गर्भवती महिलाको मृत्यु भएपछि सर्लाहीको बरहथवा नगर अस्पतालमा आफन्तले आगजनी र तोडफोड गरेका छन् । आक्रोशित आफन्तले अस्पतालको आकस्मिक (इमर्जेन्सी) कक्षमा आगो लगाउनुका साथै विभिन्न संरचनामा तोडफोड गरेका हुन् ।

मृत्यु हुनेमा बरहथवा नगरपालिका–५, हात्तीढुंगा पानिटंकी टोलकी २१ वर्षीया सीमा रामदेवी रहेकी छन् । नौ महिनाकी गर्भवती उनी तीन दिनदेखि बिरामी थिइन् र बरहथवा नगर अस्पतालमा उपचाररत थिइन् ।

प्रहरीका अनुसार शनिबार साँझ करिब ६ बजे उपचारकै क्रममा उनी अचानक बेहोस भएकी थिइन् । चिकित्सकको लापरबाहीका कारण बिरामीको अवस्था बिग्रिएको आरोप लगाउँदै आफन्तले अस्पतालमा तोडफोड र आगजनी गरेका थिए ।

अवस्था गम्भीर भएपछि उनलाई थप उपचारका लागि चन्द्रनिगाहपुरस्थित अस्पताल लगिएको थियो । तर, त्यहाँ चिकित्सकले राति १० बजेर ५३ मिनेटमा मृत घोषणा गरेका थिए । मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ ।

घटनामा बरहथवा नगर अस्पतालको इमर्जेन्सी कक्षमा आगजनी तथा तोडफोड हुँदा करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको अस्पतालका सूचना अधिकारी राजेश गुप्ताले जानकारी दिएका छन् । प्रहरीले आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको जनाएको छ ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सर्लाही पठाएको छ । आगजनीमा संलग्न रहेको आरोप लागेका अस्पतालका करार कर्मचारी धिरज महरा र सुरेश महरा भने फरार रहेको प्रहरीले जनाएको छ । उनीहरूको खोजी भइरहेको छ ।

घटनापछि अस्पतालको सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । प्रहरीका अनुसार आइतबार बिहानसम्म घटनास्थलको अवस्था सामान्य भइसकेको थियो ।

घटनाको थप अनुसन्धान भइरहेको छ ।

प्रसौनी शिविरबाट ३४६ जना लाभान्वित « रिपोर्टर्स नेपाल

वीरगन्ज (पर्सा), ६ मङ्सिर । समुदायस्तरमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले वीरगञ्ज महानगरपालिका–२३ स्थित प्रसौनी बिर्तामा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट ३४६ जना लाभान्वित भएका छन् ।

समुदायमा स्वास्थ्य सचेतना बढाउने तथा सामाजिक उत्तरदायित्व प्रवद्र्धन पनि गर्ने उद्देश्यले ‘रक्तदान जीवनदान, स्वास्थ्य हाम्रो समाज अभियान’ भन्ने मूल नाराका साथ नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, प्रसौनी बिर्ताको प्राङ्गणमा आयोजित कार्यक्रममा उनीहरुले स्वास्थ्य सेवा प्राप्त गरेका हुन् ।

सशस्त्र प्रहरी बल पर्साद्वारा नेशनल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल, म्याग्नस फार्मा प्रालि र रुङ्गटा वेलफेयर सोसाइटीको सहकार्यमा आयोजित बालरोग, नेत्ररोग, स्त्री तथा प्रसूति रोग, नाक, कान तथा घाँटी, छाला रोगको उपचारसम्बन्धी सेवा प्रदान गरिएको थियो ।

शिविरमा चिकित्सकले सेवाग्राहीको स्वास्थ्य परीक्षण,  विशेषज्ञ परामर्श तथा आवश्यक स्वास्थ्य सेवा प्रदान गरेका थिए ।

सो अवसरमा समुदायमा रक्तदानको महत्वबारे जनचेतना अभिवृद्धि  तथा मानवीय सेवामा समुदायको सहभागिता बढाउने उद्देश्यले रक्तदान कार्यक्रम पनि आयोजना गरियो ।

कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला सङ्घकी केन्द्रीय अध्यक्ष सावित्राकुमारी जैसीले  सङ्घले विभिन्न सङ्घसंस्थासगको सहकार्यमा सामाजिक सेवामूलक अभियानमा सञ्चालन गर्दै आएको जानकारी दिए । 

एएमआर नियन्त्रणमा मन्त्री मेहताको भाषण मात्रै सक्रियता, नियमित अनुगमनमा भने उदासीनता

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) नियन्त्रणलाई नियमित प्राथमिकतामा राख्न नसकेको देखिएको छ । औषधिको जथाभाबी प्रयोग र एन्टीबायोटिकको अनियन्त्रित बिक्री–वितरण रोक्न प्रभावकारी कदम चाल्नुपर्ने समयमा मन्त्रालयको नेतृत्वबाट ठोस पहल नभए पनि विश्व एन्टिमाइक्रोबियल सचेतना सप्ताहका अवसरमा भने मन्त्री मेहताले यस विषयमा सक्रियता देखाएकी छिन् ।

शुक्रबार आयोजित सप्ताह विशेष कार्यक्रममा सम्बोधन गर्दै मन्त्री मेहताले एएमआर नियन्त्रणका लागि स्वास्थ्य, कृषि, पशुपन्छी तथा वातावरण क्षेत्रबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताइन् । उनले एन्टिमाइक्रोबियल औषधिको अविवेकी प्रयोगले उपचार खर्च बढाउनुका साथै समग्र स्वास्थ्य प्रणालीमाथि दबाब सिर्जना गर्ने धारणा राखिन् ।

कार्यक्रममा मन्त्रीले औषधिको विवेकपूर्ण प्रयोग गर्न चिकित्सक तथा सर्वसाधारणलाई आग्रह गर्नुका साथै नियामकीय निगरानीलाई प्रभावकारी बनाउने प्रतिबद्धता पनि व्यक्त गरिन् । तर, बजारमा चिकित्सकको सिफारिसबिनै एन्टीबायोटिक औषधिको बिक्री–वितरण भइरहेको र यसको दुरुपयोग बढिरहेको अवस्थामा मन्त्रालयले नियमित अनुगमन तथा नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सकेको देखिँदैन ।

औषधि पसलहरूको नियमित अनुगमन, गैरकानुनी बिक्री नियन्त्रण र औषधिको प्रयोगसम्बन्धी मापदण्ड कार्यान्वयनमा मन्त्रालयको सक्रियता कमजोर देखिँदा एएमआर नियन्त्रणको विषय औपचारिक कार्यक्रममा गरिने सम्बोधनमा मात्रै सीमित हुने जोखिम बढेको छ । सचेतना सप्ताहका अवसरमा प्रतिबद्धता जनाउने तर वर्षभरि नियमन र अनुगमनलाई प्राथमिकता नदिने प्रवृत्तिले समस्या समाधानमा अपेक्षित उपलब्धि हासिल हुन कठिन देखिन्छ ।

मन्त्री मेहताले कार्यक्रममा सन् २०२४ देखि २०२८ सम्मका लागि तयार गरिएको एन्टिमाइक्रोबियल रेसिस्टेन्स नियन्त्रणसम्बन्धी राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा रहेको जानकारी दिइन् । साथै, अस्पतालहरूमा एन्टिमाइक्रोबियल औषधिको प्रयोगसम्बन्धी तथ्याङ्क सङ्कलन गर्न प्रोटोकल तयार पारिएको पनि उल्लेख गरिन् ।

तर, राष्ट्रिय कार्ययोजना र संयुक्त राष्ट्रसङ्घको महासभाबाट पारित एएमआरसम्बन्धी घोषणापत्रप्रतिको प्रतिबद्धता मन्त्री मेहता पदमा आउनुअघि नै अघि बढाइएका विषय हुन् । अघिल्लो नेतृत्वकै पालामा तर्जुमा भएको कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै निरन्तर अनुगमन र नियमनलाई तीव्रता दिनुपर्ने जिम्मेवारी वर्तमान मन्त्रालय नेतृत्वको हो ।

नीतिगत प्रतिबद्धता दोहोर्‍याउनु मात्र एएमआर नियन्त्रणका लागि पर्याप्त हुँदैन । औषधिको अनियन्त्रित बिक्री रोक्ने, चिकित्सकको सिफारिसबिना हुने प्रयोग नियन्त्रण गर्ने र सम्बन्धित निकायलाई जवाफदेही बनाउने काममा मन्त्री मेहताले कस्तो नेतृत्व देखाउँछिन् भन्ने नै अहिलेको मुख्य प्रश्न हो । हालसम्मको अवस्था हेर्दा एएमआर नियन्त्रणप्रतिको उनको चासो नियमित कार्यसम्पादनभन्दा सचेतना सप्ताहका औपचारिक कार्यक्रममा बढी केन्द्रित देखिएको छ ।

लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा, देशभरका नयाँ सङ्क्रमितमध्ये २५ प्रतिशत यहीँका

बाँके। लुम्बिनी प्रदेशका १० जिल्ला कुष्ठरोगको जोखिममा रहेको पाइएको छ । मधेस प्रदेशपछि लुम्बिनी कुष्ठरोगको दोस्रो उच्च जोखिममा रहेको प्रदेश भएको आइएनएफ नेपालका मेडिकल सर्भिसेज निर्देशक डा. अरुणकुमार बुढाले बताए ।

उनका अनुसार रूपन्देही, कपिलवस्तु, पश्चिम नवलपरासीलगायत जिल्ला कुष्ठरोगको जोखिममा छन् । नेपालमा कुष्ठरोग देखिएका १८ जिल्लामध्ये १० जिल्ला बाँकेको साइनिङ अस्पतालको सेवाक्षेत्रभित्र पर्छन् । लुम्बिनी प्रदेशमा बालबालिकामा समेत कुष्ठरोगको सङ्क्रमण देखिएको र त्यसको सङ्ख्या उच्च रहेको उनले बताए ।

कुष्ठरोगको पहिचानमा ढिलाइ हुनुमा गरिबी, स्वास्थ्य सेवामा पहुँचको अभाव, सामाजिक भेदभाव र लाञ्छना प्रमुख कारण रहेको डा. बुढाको भनाइ छ ।

बाँकेको जानकी गाउँपालिका–मानपुरस्थित साइनिङ अस्पताललाई लुम्बिनी प्रदेशसहित पश्चिम नेपालकै कुष्ठरोग तथा उष्ण उपेक्षित रोगसम्बन्धी सेवाको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्ने योजना अघि बढाइएको छ । हाल क्षेत्रीय प्रेषण केन्द्रका रूपमा सञ्चालन भइरहेको अस्पताललाई कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका बिरामीको उपचार केन्द्र बनाउने लक्ष्य रहेको उनले बताए । यो योजना नेपाल सरकारको शून्य कुष्ठरोग रणनीतिसँग सम्बन्धित रहेको उनको भनाइ छ ।

नेपाल सरकारको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ मा करिब दुई हजार ५०० नयाँ कुष्ठरोगी पहिचान भएका छन् । तीमध्ये करिब २५ प्रतिशत लुम्बिनी प्रदेशका रहेको आइएनएफ नेपाल, साइनिङ अस्पताल बाँकेले जनाएको छ ।

कुष्ठरोगको जोखिममा रहेका बिरामीलाई लक्षित गरी अस्पतालको सेवा विस्तार गर्न लागिएको हो । करिब दुई करोड ३५ लाख रुपैयाँको लागतमा अस्पतालको अन्तरङ्ग सेवाका लागि भवन निर्माण भइरहेको छ । पाँचवटा वार्डमा २५ जना बिरामी राख्न सकिने भवनमा ह्विलचेयरमैत्री शौचालय, नर्सिङ स्टेसन, उपचार कक्ष र औषधि भण्डारण कक्षलगायत सुविधा रहनेछन् ।

हालसम्म आइएनएफका पोखरास्थित हरियोखर्क अस्पताल, सुर्खेतस्थित साइनिङ अस्पताल र बाँकेको साइनिङ अस्पतालबाट छ हजार ७९ जनाले निःशुल्क उपचार सेवा लिएका छन् ।

अस्पताललाई निरन्तर सञ्चालन गर्न छाला रोग विशेषज्ञ, थेरापिस्ट, कृत्रिम अङ्ग तथा जुत्ता प्रविधिसम्बन्धी जनशक्ति र दक्ष कर्मचारी आवश्यक रहेको डा. बुढाले बताए । अपाङ्गता पुनःस्थापना पनि चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उनले नसर्ने रोगका कारण हुने अपाङ्गताको व्यवस्थापनसमेत चुनौतीका रूपमा रहेको बताए । अस्पतालको सेवा विस्तार र सञ्चालनका लागि लुम्बिनी प्रदेश सरकारको सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।

आइएनएफका अन्तरराष्ट्रिय कार्यकारी प्रमुख रिचर्ड रिभले नेपालमा कुष्ठरोग नियन्त्रणका लागि ठूलो धनराशि खर्च भइरहेको र त्यसबाट आशातीत उपलब्धि हासिल भएको बताए ।

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दिपेन्द्रकुमार पुनले प्रदेश सरकार अस्पतालसँग सहकार्य गर्न तत्पर रहेको बताए । नेपाल सरकारले सन् २०३० सम्म कुष्ठरोग शून्यमा झार्ने रणनीति लिएको छ ।

भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो « रिपोर्टर्स नेपाल

नारायणगढ (चितवन), ३ मङ्सिर । दसैँ–तिहार तथा छठ पर्वको लामो बिदापछि भरतपुर अस्पतालमा बिरामीको चाप बढेको छ । बिदापछि अस्पतालको बहिरङ्ग सेवा (ओपिडी) सञ्चालनमा आएसँगै उपचारका लागि आउने बिरामीको सङ्ख्या बढेको हो ।

अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाका अनुसार मङ्गलबार मात्रै ओपिडीमा तीन हजार ३०० बिरामीले सेवा लिएका छन् । लामो बिदाका कारण निजी अस्पताल तथा क्लिनिक पनि बन्द वा सीमित सञ्चालनमा रहेकाले सरकारी अस्पतालमा बिरामीको चाप बढेको उनले बताए । बुधबार पनि अस्पतालमा बिरामीको चाप अत्यधिक रहेको उनको भनाइ छ ।

उनका अनुसार गत वर्ष २०८२ को कात्तिक महिनामा आकस्मिक, स्वास्थ्य बीमा र सामान्य टिकटमार्फत गरी २९ हजार ४२२ बिरामीले सेवा लिएकामा यस वर्ष सोही अवधिमा ३९ हजार २०० जनाले सेवा लिएका छन् ।

गत वर्ष असोजमा २९ हजार २८१ बिरामीले सेवा लिएका थिए । यस्तै, गत वर्ष कात्तिकमा आकस्मिक सेवामा छ हजार २५९ बिरामी आएकामा यस वर्ष उक्त सङ्ख्या बढेर सात हजार ४९५ पुगेको छ । अस्पतालमा आउने बिरामीमध्ये करिब ६० देखि ७० प्रतिशत स्वास्थ्य बीमामार्फत सेवा लिने छन् । ओपिडीमा सबैभन्दा बढी चाप मेडिसिन र अर्थोपेडिक्स विभागमा रहेको प्रवक्ता सापकोटाले बताए ।

आन्तरिक मेडिसिन विभागमा दैनिक ३०० देखि ४०० सम्म बिरामी आउने गरेको र कहिलेकाहीँ यो सङ्ख्या ५०० देखि ६०० सम्म पुग्ने गरेको उनले जानकारी दिए ।

सरकारी अस्पतालमा निजी अस्पतालको तुलनामा उपचार खर्च कम हुनु, स्वास्थ्य बीमाको सुविधा उपलब्ध हुनु र अस्पतालले प्रदान गर्ने सेवाप्रति बिरामीको विश्वास बढ्नुले पनि बिरामीको आकर्षण बढेको उनको भनाइ छ ।

भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो « रिपोर्टर्स नेपाल

चितवन । दसैँ–तिहार तथा छठ पर्वको लामो बिदापछि भरतपुर अस्पतालमा बिरामीको चाप बढेको छ । बिदापछि अस्पतालको बहिरङ्ग सेवा (ओपिडी) सञ्चालनमा आएसँगै उपचारका लागि आउने बिरामीको सङ्ख्या बढेको हो ।

अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाका अनुसार मङ्गलबार मात्रै ओपिडीमा तीन हजार ३०० बिरामीले सेवा लिएका छन् । लामो बिदाका कारण निजी अस्पताल तथा क्लिनिक पनि बन्द वा सीमित सञ्चालनमा रहेकाले सरकारी अस्पतालमा बिरामीको चाप बढेको उनले बताए । बुधबार पनि अस्पतालमा बिरामीको चाप अत्यधिक रहेको उनको भनाइ छ

उनका अनुसार गत वर्ष २०८२ को कात्तिक महिनामा आकस्मिक, स्वास्थ्य बीमा र सामान्य टिकटमार्फत गरी २९ हजार ४२२ बिरामीले सेवा लिएकामा यस वर्ष सोही अवधिमा ३९ हजार २०० जनाले सेवा लिएका छन् ।

गत वर्ष असोजमा २९ हजार २८१ बिरामीले सेवा लिएका थिए । यस्तै, गत वर्ष कात्तिकमा आकस्मिक सेवामा छ हजार २५९ बिरामी आएकामा यस वर्ष उक्त सङ्ख्या बढेर सात हजार ४९५ पुगेको छ । अस्पतालमा आउने बिरामीमध्ये करिब ६० देखि ७० प्रतिशत स्वास्थ्य बीमामार्फत सेवा लिने छन् । ओपिडीमा सबैभन्दा बढी चाप मेडिसिन र अर्थोपेडिक्स विभागमा रहेको प्रवक्ता सापकोटाले बताए ।

आन्तरिक मेडिसिन विभागमा दैनिक ३०० देखि ४०० सम्म बिरामी आउने गरेको र कहिलेकाहीँ यो सङ्ख्या ५०० देखि ६०० सम्म पुग्ने गरेको उनले जानकारी दिए ।

सरकारी अस्पतालमा निजी अस्पतालको तुलनामा उपचार खर्च कम हुनु, स्वास्थ्य बीमाको सुविधा उपलब्ध हुनु र अस्पतालले प्रदान गर्ने सेवाप्रति बिरामीको विश्वास बढ्नुले पनि बिरामीको आकर्षण बढेको उनको भनाइ छ ।

महानिर्देशक भट्टराई « रिपोर्टर्स नेपाल

काठमाडौँ । औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले एन्टिबायोटिकको जथाभावी प्रयोग नियन्त्रण गर्दै प्रतिजैविक प्रतिरोध (एन्टिमाइक्रोबियल रेसिस्टेन्स) न्यूनीकरण गर्न सबै क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।

विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह–२०२६ को अवसरमा बुधबार आयोजित प्रभातफेरी कार्यक्रममा बोल्दै भट्टराईले यस्ताे बताएका हुन् । उनले एन्टिबायोटिकको अनावश्यक, अत्यधिक तथा कम प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर पारिरहेको बताए ।

एन्टिबायोटिकको प्रभावकारिता जोगाउन यसको प्रयोगलाई व्यवस्थित र नियमन गर्नुपर्नेमा उनले जाेड दिए । उनले भविष्यमा उपचारका लागि आवश्यक पर्ने ‘रिजर्भ एन्टिबायोटिक’ औषधिको जथाभावी प्रयोग रोक्नुपर्ने बताए ।

प्रतिजैविक प्रतिरोध मानव स्वास्थ्यमा मात्र सीमित नरहेको उल्लेख गर्दै भट्टराईले पशु स्वास्थ्य र वातावरणसँग समेत यसको प्रत्यक्ष सम्बन्ध रहेको बताए । यस समस्याको नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालय, औषधि व्यवस्था विभाग, पशु स्वास्थ्य तथा वातावरण क्षेत्रलगायत सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको उनको भनाइ थियो ।

उनले प्रतिजैविक प्रतिरोधबारे सर्वसाधारणलाई सचेत गराउन जनचेतनामूलक कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्नेमा समेत जोड दिए ।

‘एक स्वास्थ्य, एक प्रयास : प्रतिजैविक प्रतिरोध रोकौँ’ भन्ने नाराका साथ मनाउन लागिएको सप्ताहको उद्देश्य एन्टिबायोटिकको दुरुपयोग नियन्त्रण गर्दै प्रतिजैविक प्रतिरोधको बढ्दो चुनौतीलाई न्यूनीकरण गर्नु रहेको भट्टराईले बताए । औषधिको जिम्मेवार प्रयोग, जनचेतना र मानव, पशु तथा वातावरण स्वास्थ्यसँग सम्बन्धित निकायबीच सहकार्यबाट मात्रै यस समस्याको प्रभावकारी समाधान सम्भव हुने उनले उल्लेख गरे ।

बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट सुरु भएको प्रभातफेरी औषधि व्यवस्था विभाग पुगेर समापन भएको थियो ।

जापानमा ६ महिना जीवनसँग संघर्ष गरेकी विष्णुलाई स्वदेशमा डा. सुनिल शर्माको मानवीय साथ

काठमाडौँ । परदेशमा उज्ज्वल भविष्यको सपना बोकेर जापान पुगेकी २२ वर्षीया विष्णु कुँवरका लागि पछिल्ला ६ महिना निकै कष्टकर बने । रोजगारी गर्दै आफ्नो भविष्य निर्माण गर्ने उद्देश्यसहित जापान पुगेकी उनी अचानक मस्तिष्कघातको सिकार भइन् । त्यसपछि उनको जीवनको यात्रा सपनाबाट संघर्षतर्फ मोडियो । स्वास्थ्य अवस्था जटिल बन्दै जाँदा उपचारको चुनौती थपियो भने आर्थिक अभावले उनलाई झनै असहज परिस्थितिमा पुर्‍यायो ।

विदेशी भूमिमा बिरामी परेकी विष्णुका लागि उपचारलाई निरन्तरता दिनु मात्रै होइन, आफ्नै देश फर्किनु पनि सहज थिएन । तर, कठिन परिस्थितिमा सहयोगी हात अघि बढेपछि उनी अन्ततः स्वदेश फर्किन सफल भएकी छन् ।

सोमबार नेपाल आइपुगेकी विष्णुको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी) मा निःशुल्क उपचार सुरु भएको छ । नेपाली कांग्रेसका नेता तथा गिरिजाप्रसाद कोइराला फाउन्डेसनका सभापति डा. सुनिलकुमार शर्माको पहलमा उनलाई जापानबाट नेपाल ल्याइएको हो ।

नेपाल एयरलाइन्सको विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेकी विष्णुलाई लिन डा. शर्मा केएमसीका विशेषज्ञ चिकित्सक र एम्बुलेन्ससहित विमानस्थल पुगेका थिए । विमानस्थलबाट उनलाई सिधै अस्पताल पुर्‍याएर भर्ना गरिएको छ । अस्पतालले उनको स्वास्थ्य अवस्थाको विस्तृत परीक्षण गरी उपचार अघि बढाएको जनाएको छ ।

स्वदेश फर्किएपछि विष्णुले डा. शर्मालाई आफू कहाँ रहेको भन्दै प्रश्न गरेकी थिइन् । जवाफमा डा. शर्माले ‘तपाईं आफ्नै देशको काठमाडौँ मेडिकल कलेजमा हुनुहुन्छ’ भनेपछि उनी भावुक बनेकी थिइन् । लामो समय विदेशी भूमिमा स्वास्थ्य र आर्थिक संकटसँग जुधेकी युवतीका लागि आफ्नै देश फर्किनु र उपचारको सुनिश्चितता पाउनु आफैँमा ठूलो राहत बनेको छ ।

उपचार खर्चको जिम्मेवारी डा. शर्माले लिए

विष्णुको उपचारमा लाग्ने सम्पूर्ण खर्च अस्पतालबाट डिस्चार्ज नहुँदासम्म आफूले बेहोर्ने डा. शर्माले घोषणा गरेका छन् । चिकित्सा विज्ञानले सम्भव भएसम्मका सबै उपचार सेवा केएमसीमा निःशुल्क उपलब्ध गराइने उनको प्रतिबद्धता छ ।

‘आर्थिक अभावकै कारण कुनै पनि बिरामी उपचारबाट वञ्चित हुनु हुँदैन,’ डा. शर्माको भनाइ छ ।

स्वास्थ्य सेवामा डा. शर्माको निरन्तर योगदान

डा. सुनिलकुमार शर्मा स्वास्थ्य सेवा र सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका छन् । काठमाडौँ मेडिकल कलेज र नोबेल मेडिकल कलेजमार्फत उनले स्वास्थ्य सेवाको पहुँच विस्तारमा काम गर्दै आएका छन् । विशेषगरी आर्थिक अवस्था कमजोर भएका, उपचार खर्च जुटाउन नसक्ने तथा विपन्न समुदायका बिरामीलाई निःशुल्क उपचार उपलब्ध गराउने अभियानमा उनको संलग्नता रहँदै आएको छ ।

उनको पहल केवल अस्पतालमा उपचार गराउने कार्यमा मात्र सीमित छैन । विपन्न, दलित तथा अल्पसङ्ख्यक समुदायका विद्यार्थीलाई निःशुल्क स्वास्थ्य शिक्षा प्रदान गर्ने कार्यमा समेत उनी सक्रिय छन् । आर्थिक अभावका कारण चिकित्सा शिक्षा हासिल गर्ने सपना अधुरो नहोस् भन्ने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।

केएमसी र नोबेल मेडिकल कलेजमार्फत विभिन्न स्वास्थ्य शिविर, विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा तथा आर्थिक रूपमा कमजोर बिरामीलाई उपचारमा सहयोग पुर्‍याउने कामले पनि उनको सामाजिक सक्रियतालाई जोडेको छ ।