Breaking News
शिवमको निर्देशनमा ‘सेतो कोट’ बन्ने,पूजा र अशोकको मुख्य भूमिका

सेलिब्रेटी नेपाल। शिवम अधिकारीको लेखन तथा निर्देशनमा चलचित्र ‘सेतो कोट’ निर्माण हुने भएको छ। कोटेश्वर स्थिति महादेवस्थान मन्दिरमा पूजाआजा पश्चात् एक कार्यक्रमका बिच मुहूर्त गर्दै फिल्मको बारेमा जानकारी गराइएको हो । चलचित्रको मुहूर्त सटमा अशोक दर्जी र पूजा शर्माले डाइलग बोल्दै गर्दा नीर शाहले निर्देशन गरे ।

सेतो रङ्ग अभाव भइरहेको समयमा यो चलचित्रले सेतोपना बचाउने अपेक्षा अभिनेता नीर शाहको रहेको छ । अशोक दर्जीले यो टिमसँग काम गर्न उत्साहित रहेको बताउँदै गर्दा पूजा शर्माले आफूले कथा खोल्दिन सक्ने भन्दै धेरै प्रश्न नगर्न आग्रह गरिन् । निर्देशन गर्न बढी मेहनत गर्नुपर्ने भन्दै स्क्रिप्टकै काममा व्यस्त शिवमले यस पटक समय छुट्टाएर निर्देशन गर्न लागेका रहेछन् ।

चलचित्रको कथामा मौलिकता, सामाजिक यथार्थ र भावनात्मक गहिराइलाई विशेष महत्त्व दिइएको छ। नेपाली चलचित्रमा कमै उठान गरिने विषयलाई मनोरञ्जनात्मक तथा प्रभावशाली सिनेम्याटिक शैलीमा प्रस्तुत गर्ने लक्ष्य चलचित्रको रहेको छ। कथाको मूल भाव र घटनाक्रमलाई रहस्यपूर्ण राख्दै दर्शकलाई सोच्न, महसुस गर्न र समाजलाई नयाँ दृष्टिले हेर्न प्रेरित गर्ने विश्वास निर्माण पक्षले लिएको छ।

मिनु शर्मा प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रका निर्माता मिनु शर्मा तथा सन्देश थापा रहेका छन् भने कार्यकारी निर्माता फणीन्द्र तामाङ हुन्। चलचित्रमा नीर,अशोक, पूजा, सुमित्रा संगै पवन खतिवडा ‘बाबा’, विष्णु सापकोटा, सुशान्त कुमार श्रेष्ठ, साम्राज्ञी थापा, सम्मान थापा, रामेश्वर रिजाल, दीपेन्द्र भण्डारी, कपिल खड्का, कृषा घिमिरे, सुप्रिया शर्मालगायतको अभिनय रहनेछ।

चलचित्रको छायाङ्कन काठमाडौँ, मकवानपुरलगायत नेपालको ग्रामीण भेगमा गरिनेछ। चलचित्रको छायाङ्कन सौरभ लामाले गर्नेछन् भने सम्पादन बन्दे प्रसादको रहनेछ। हेड अफ प्रोडक्सन अरुण रेग्मी र मुख्य सहायक निर्देशक नवराज शर्मा रहेका छन्।

लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा, देशभरका नयाँ सङ्क्रमितमध्ये २५ प्रतिशत यहीँका

बाँके। लुम्बिनी प्रदेशका १० जिल्ला कुष्ठरोगको जोखिममा रहेको पाइएको छ । मधेस प्रदेशपछि लुम्बिनी कुष्ठरोगको दोस्रो उच्च जोखिममा रहेको प्रदेश भएको आइएनएफ नेपालका मेडिकल सर्भिसेज निर्देशक डा. अरुणकुमार बुढाले बताए ।

उनका अनुसार रूपन्देही, कपिलवस्तु, पश्चिम नवलपरासीलगायत जिल्ला कुष्ठरोगको जोखिममा छन् । नेपालमा कुष्ठरोग देखिएका १८ जिल्लामध्ये १० जिल्ला बाँकेको साइनिङ अस्पतालको सेवाक्षेत्रभित्र पर्छन् । लुम्बिनी प्रदेशमा बालबालिकामा समेत कुष्ठरोगको सङ्क्रमण देखिएको र त्यसको सङ्ख्या उच्च रहेको उनले बताए ।

कुष्ठरोगको पहिचानमा ढिलाइ हुनुमा गरिबी, स्वास्थ्य सेवामा पहुँचको अभाव, सामाजिक भेदभाव र लाञ्छना प्रमुख कारण रहेको डा. बुढाको भनाइ छ ।

बाँकेको जानकी गाउँपालिका–मानपुरस्थित साइनिङ अस्पताललाई लुम्बिनी प्रदेशसहित पश्चिम नेपालकै कुष्ठरोग तथा उष्ण उपेक्षित रोगसम्बन्धी सेवाको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्ने योजना अघि बढाइएको छ । हाल क्षेत्रीय प्रेषण केन्द्रका रूपमा सञ्चालन भइरहेको अस्पताललाई कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका बिरामीको उपचार केन्द्र बनाउने लक्ष्य रहेको उनले बताए । यो योजना नेपाल सरकारको शून्य कुष्ठरोग रणनीतिसँग सम्बन्धित रहेको उनको भनाइ छ ।

नेपाल सरकारको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ मा करिब दुई हजार ५०० नयाँ कुष्ठरोगी पहिचान भएका छन् । तीमध्ये करिब २५ प्रतिशत लुम्बिनी प्रदेशका रहेको आइएनएफ नेपाल, साइनिङ अस्पताल बाँकेले जनाएको छ ।

कुष्ठरोगको जोखिममा रहेका बिरामीलाई लक्षित गरी अस्पतालको सेवा विस्तार गर्न लागिएको हो । करिब दुई करोड ३५ लाख रुपैयाँको लागतमा अस्पतालको अन्तरङ्ग सेवाका लागि भवन निर्माण भइरहेको छ । पाँचवटा वार्डमा २५ जना बिरामी राख्न सकिने भवनमा ह्विलचेयरमैत्री शौचालय, नर्सिङ स्टेसन, उपचार कक्ष र औषधि भण्डारण कक्षलगायत सुविधा रहनेछन् ।

हालसम्म आइएनएफका पोखरास्थित हरियोखर्क अस्पताल, सुर्खेतस्थित साइनिङ अस्पताल र बाँकेको साइनिङ अस्पतालबाट छ हजार ७९ जनाले निःशुल्क उपचार सेवा लिएका छन् ।

अस्पताललाई निरन्तर सञ्चालन गर्न छाला रोग विशेषज्ञ, थेरापिस्ट, कृत्रिम अङ्ग तथा जुत्ता प्रविधिसम्बन्धी जनशक्ति र दक्ष कर्मचारी आवश्यक रहेको डा. बुढाले बताए । अपाङ्गता पुनःस्थापना पनि चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उनले नसर्ने रोगका कारण हुने अपाङ्गताको व्यवस्थापनसमेत चुनौतीका रूपमा रहेको बताए । अस्पतालको सेवा विस्तार र सञ्चालनका लागि लुम्बिनी प्रदेश सरकारको सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।

आइएनएफका अन्तरराष्ट्रिय कार्यकारी प्रमुख रिचर्ड रिभले नेपालमा कुष्ठरोग नियन्त्रणका लागि ठूलो धनराशि खर्च भइरहेको र त्यसबाट आशातीत उपलब्धि हासिल भएको बताए ।

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दिपेन्द्रकुमार पुनले प्रदेश सरकार अस्पतालसँग सहकार्य गर्न तत्पर रहेको बताए । नेपाल सरकारले सन् २०३० सम्म कुष्ठरोग शून्यमा झार्ने रणनीति लिएको छ ।

विवाहपञ्चमी महोत्सवको तयारी तीव्र, व्यवस्थापनका लागि समिति गठन

जनकपुर- आगामी मङ्सिर २३ गतेदेखि जनकपुरधाममा सुरु हुने साताव्यापी श्रीराम जानकी विवाहपञ्चमी महामहोत्सवको व्यवस्थापनका लागि विभिन्न समिति गठन गरिएको छ ।

महोत्सवलाई भव्य, व्यवस्थित र सुरक्षित बनाउन जानकी मन्दिरले शान्ति सुरक्षा, प्रचारप्रसार, बजार व्यवस्थापन, रङ्गभूमि मैदान तथा प्रवेशद्वार व्यवस्थापन, पण्डाल निर्माण, ट्राफिक, खानेपानी र विद्युत् व्यवस्थापनलगायतका विषयमा छुट्टाछुट्टै समिति गठन गरेको हो ।

महोत्सवको तयारीबारे बिहीबार मन्दिर परिसरमा आयोजित सर्वपक्षीय बैठकले समिति गठन गरी जिम्मेवारी बाँडफाँट गर्ने निर्णय गरेको छ । यस वर्षको महोत्सवलाई विगतका वर्षभन्दा थप व्यवस्थित र भव्य बनाउने उद्देश्यले बैठक आयोजना गरिएको हो ।

जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवको अगुवाइ तथा उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवको संयोजनमा सम्पन्न बैठकमा उत्तराधिकारी महन्थ दासले महोत्सव सफल बनाउन आवश्यक तयारी अघि बढाइएको बताउनुभयो ।

उहाँले महोत्सवलाई व्यवस्थित बनाउन स्थानीय प्रशासन, सुरक्षा निकाय, स्थानीय तह तथा सम्बन्धित सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो ।

विवाहपञ्चमी महोत्सवमा सहभागी हुन नेपालका विभिन्न जिल्ला तथा भारतको अयोध्यासहितका स्थानबाट हजारौँ साधुसन्त र श्रद्धालु जनकपुरधाम आउने भएकाले उनीहरूको स्वागत, आवास, सुरक्षा र आवागमनलाई सहज बनाउने विषयलाई बैठकले प्राथमिकता दिएको छ ।

बैठकमा धार्मिक सङ्घसंस्था, नागरिक समाज, जनप्रतिनिधि, सुरक्षा निकाय, सञ्चार क्षेत्र तथा विभिन्न सरकारी कार्यालयका प्रतिनिधिको सहभागिता रहेको थियो ।