Breaking News
शिवमको निर्देशनमा ‘सेतो कोट’ बन्ने,पूजा र अशोकको मुख्य भूमिका

सेलिब्रेटी नेपाल। शिवम अधिकारीको लेखन तथा निर्देशनमा चलचित्र ‘सेतो कोट’ निर्माण हुने भएको छ। कोटेश्वर स्थिति महादेवस्थान मन्दिरमा पूजाआजा पश्चात् एक कार्यक्रमका बिच मुहूर्त गर्दै फिल्मको बारेमा जानकारी गराइएको हो । चलचित्रको मुहूर्त सटमा अशोक दर्जी र पूजा शर्माले डाइलग बोल्दै गर्दा नीर शाहले निर्देशन गरे ।

सेतो रङ्ग अभाव भइरहेको समयमा यो चलचित्रले सेतोपना बचाउने अपेक्षा अभिनेता नीर शाहको रहेको छ । अशोक दर्जीले यो टिमसँग काम गर्न उत्साहित रहेको बताउँदै गर्दा पूजा शर्माले आफूले कथा खोल्दिन सक्ने भन्दै धेरै प्रश्न नगर्न आग्रह गरिन् । निर्देशन गर्न बढी मेहनत गर्नुपर्ने भन्दै स्क्रिप्टकै काममा व्यस्त शिवमले यस पटक समय छुट्टाएर निर्देशन गर्न लागेका रहेछन् ।

चलचित्रको कथामा मौलिकता, सामाजिक यथार्थ र भावनात्मक गहिराइलाई विशेष महत्त्व दिइएको छ। नेपाली चलचित्रमा कमै उठान गरिने विषयलाई मनोरञ्जनात्मक तथा प्रभावशाली सिनेम्याटिक शैलीमा प्रस्तुत गर्ने लक्ष्य चलचित्रको रहेको छ। कथाको मूल भाव र घटनाक्रमलाई रहस्यपूर्ण राख्दै दर्शकलाई सोच्न, महसुस गर्न र समाजलाई नयाँ दृष्टिले हेर्न प्रेरित गर्ने विश्वास निर्माण पक्षले लिएको छ।

मिनु शर्मा प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रका निर्माता मिनु शर्मा तथा सन्देश थापा रहेका छन् भने कार्यकारी निर्माता फणीन्द्र तामाङ हुन्। चलचित्रमा नीर,अशोक, पूजा, सुमित्रा संगै पवन खतिवडा ‘बाबा’, विष्णु सापकोटा, सुशान्त कुमार श्रेष्ठ, साम्राज्ञी थापा, सम्मान थापा, रामेश्वर रिजाल, दीपेन्द्र भण्डारी, कपिल खड्का, कृषा घिमिरे, सुप्रिया शर्मालगायतको अभिनय रहनेछ।

चलचित्रको छायाङ्कन काठमाडौँ, मकवानपुरलगायत नेपालको ग्रामीण भेगमा गरिनेछ। चलचित्रको छायाङ्कन सौरभ लामाले गर्नेछन् भने सम्पादन बन्दे प्रसादको रहनेछ। हेड अफ प्रोडक्सन अरुण रेग्मी र मुख्य सहायक निर्देशक नवराज शर्मा रहेका छन्।

‘सिन्दुरे जात्रा’को टिजरमा प्रेम र धोका » Celebrity Nepal

सेलिब्रेटी नेपाल । मंसिर १८ गते रिलिज हुने चलचित्र ‘सिन्दुरे जात्रा’को टिजर सार्वजनिक गरिएको छ । टिजरमा सिनेमा मुख्य तीन कलाकार विजय बराल, अञ्जना बराइली र विनोद न्यौपाने देखिएका छन् । टिजरमा प्रेम, खुसी, धोका र पीडा समेटिएको छ ।

मौलिक परम्परागत संस्कृतिबाट सुरु हुने टिजरमा सुरुमा विजय र अञ्जनाको प्रेम, विवाह र खुसी छ । त्यसपछि टिजरमा द्वन्द्व सिर्जना गर्न एन्टागोनिस्ट विनोद न्यौपानेको प्रवेश हुन्छ । उनको प्रवेशसँगै वियोगमा फसेका विजयको अवस्था र अञ्जनाले व्यहोरेको धोका र त्यसपछिको पीडा टिजरमा देखिन्छ ।

प्रेमिल कथा र घटनाक्रमबाट सुरु हुने टिजर धोकासँगै कलाकारको दुःखले सिर्जना गर्ने इमोसनमा गएर टुंगिन्छ । गाउँको सेटअपले धेरैलाई नोस्टाल्जिया सिर्जना गर्छ ।

‘सिन्दुरे जात्रा’लाई सरोज पौडेलले निर्देशन गरेका छन् । यो सिनेमामा नेपाली सिनेमा उद्योगकै बक्सअफिसको ब्लकबस्टर जोडी विजय बराल र अञ्जना बराइली छन् । उनीहरुको यो दोस्रो सहकार्य हो । यसअघि यो टिमले नेपाली चलचित्र इतिहासकै सर्वाधिक सफल मानिएको ‘पूर्णबहादुरको सारङ्गी’मा सँगै काम गरेको थियो ।

चलचित्रमा विजय र अञ्जनासँगै विनोद न्यौपाने, उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोला राज सापकोटा, हिउँवाला गौतम, राकेश खड्का, युना खड्का, अनिता गिरी, रजनी गुरुङ, देशभक्त खनाल र विनोद परियारलगायत कलाकारको अभिनय देख्न सकिनेछ ।

सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको चलचित्रमा निर्देशक पौडेल स्वयंको कथा छ ।

सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको चलचित्रका निर्माता नेम महर्जन हुन् । सह–निर्माताका रूपमा राकेश खड्का र श्याम मगर छन् भने एसोसिएट निर्माता सुमन रञ्जित र लाइन निर्माता अनिश अधिकारी रहेका छन् ।

दिनेश खड्का कार्यकारी निर्माता रहेको चलचित्रका पदमबहादुर श्रेष्ठ (बाबु) डीओपी, सुरेन्द्र पौडेल सम्पादक र विशाल घिमिरेको क्रिएटिभ निर्देशक रहेका छन् । यस चलचित्रमा प्रशान्त सिवाकोटीको संगीत रहेको छ ।

नेपाल ग्लोबल फिल्म फेस्टिभल हुँदै, विश्वभरका १०० चलचित्रकर्मी काठमाडौंमा आउने

सेलिब्रेटी नेपाल । नेपाली चलचित्रलाई विश्व बजारसँग जोड्ने र नेपाललाई अन्तर्राष्ट्रिय चलचित्रको महत्वपूर्ण गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित आयोजना हुन लागेको नेपाल ग्लोबल फिल्म फेस्टिभल (NGFF) २०२७ को तयारी तीव्र पारिएको छ। आगामी सन् २०२७ फेब्रुअरी १९ देखि २२ (फागुन ७ देखि १० गते) सम्म काठमाडौंमा आयोजना हुने महोत्सवमा विश्वका विभिन्न देशबाट करिब १०० जना चलचित्रकर्मी, संचारकर्मी तथा चलचित्र उद्योगका विशिष्ट व्यक्तित्व सहभागी हुने आयोजकले जनाएको छ।

नेपाल फिल्म एण्ड मिडिया एकेडेमीको आयोजनामा हुन लागेको महोत्सवको पहिलो संस्करणमै विश्वभरबाट ५०० भन्दा बढी फिचर फिल्म, सर्ट फिल्म तथा डकुमेन्ट्री प्राप्त भएका छन्। पहिलो संस्करणमै यति ठूलो संख्यामा अन्तर्राष्ट्रिय चलचित्र प्राप्त हुनुले महोत्सवप्रति विश्व चलचित्र क्षेत्रको चासो र आकर्षण बढ्दै गएको आयोजकको विश्वास छ।

‘हिमालदेखि सागरसम्मका कथाहरूको उत्सव’ भन्ने मूल नारासहित आयोजना हुन लागेको महोत्सवमा प्राप्त चलचित्रमध्ये करिब १०० वटा उत्कृष्ट चलचित्र छनोट गरी चार दिनसम्म काठमाडौंमा प्रदर्शन गरिनेछ। चलचित्र छनोटका लागि निर्देशक सुवर्ण थापाको नेतृत्वमा गठित चलचित्र छनोट समितिले काम गर्नेछ। छनोट भएकामध्ये उत्कृष्ट चलचित्रहरूलाई निर्देशक अशोक शर्मा नेतृत्वका नेपाली तथा विदेशी जुरीहरूले नगद पुरस्कारसहित विभिन्न विधामा अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ।

महोत्सवका निर्देशक गणेश पाण्डेले पहिलो संस्करणमै विश्वका विभिन्न देशबाट ५०० भन्दा बढी चलचित्र प्राप्त हुँदा आफूहरू अत्यन्त उत्साहित भएको बताए। उनले भने, “हाम्रो पहिलो संस्करणमै विश्वभरबाट यति ठूलो संख्यामा फिचर, सर्ट र डकुमेन्ट्री फिल्म प्राप्त हुनु निकै उत्साहजनक उपलब्धि हो। यसले नेपालमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवप्रति विश्व चलचित्रकर्मीको विश्वास र चासो देखाएको छ। हामी नेपालकै एउटा ठूलो महोत्सव बनाउने उद्देश्यका साथ अघि बढिरहेका छौँ।”

महोत्सवमा फिचर फिल्म, सर्ट फिल्म, डकुमेन्ट्री, माउन्टेन फिल्म, वातावरणसम्बन्धी फिल्म, मानवशास्त्रीय फिल्म, मानवअधिकारसम्बन्धी फिल्म, महिला विषयवस्तुमा आधारित फिल्म तथा आदिवासी जनजातिका कथा र संस्कृतिमा आधारित चलचित्रलाई समेटिनेछ। त्यसैगरी एनिमेसन, विद्यार्थी चलचित्र र कृत्रिम बौद्धिकता (AI) मा आधारित चलचित्रलाई समेत विशेष प्राथमिकता दिइनेछ।

महोत्सवमा करिब १०० जना अन्तर्राष्ट्रिय चलचित्रकर्मी तथा चलचित्र उद्योगका व्यक्तित्वको सहभागिता जुटाउने तयारी भइरहेको छ। हलिउड, बलिउड तथा चिनियाँ चलचित्र क्षेत्रका चर्चित चलचित्रकर्मी महोत्सवमा अतिथिको रूपमा सहभागी हुने आयोजकले जनाएको छ।

महोत्सव आयोजक समितिका सदस्य फूलमान बलका अनुसार चार दिनसम्म चलचित्र प्रदर्शनसँगै विशेष सम्मान, अन्तरक्रिया, चलचित्र कार्यशाला, प्यानल छलफल तथा अन्तर्राष्ट्रिय नेटवर्किङ कार्यक्रम सञ्चालन गरिनेछ।

भजन–आरती, पाहुनालाई सात्त्विक भोजन » Celebrity Nepal


सेलिब्रेटी नेपाल। कार्तिक आर्यन मुम्बईको जुहुस्थित इस्कोन मन्दिरमा फिल्म ‘हनुमान अंश’को सफलताको उत्सवमा सहभागी भएका छन् । फिल्मले हलमा प्रदर्शनको १०० दिन पूरा गरेको अवसरमा निर्माण पक्षले उक्त कार्यक्रम आयोजना गरेको हो ।

करिब १ करोड ५० लाखदेखि २ करोड भारतीय रुपैयाँको बजेटमा बनेको यस फिल्मले भारतमा ३४२ करोड ८६ लाख भारु नेट र विश्वभर ४५३ करोड ३३ लाख भारु ग्रस कमाइ गरेको छ । सुरुवाती दुई सातासम्म सुस्त व्यापार गरेको फिल्मले तेस्रो सातादेखि भने तीव्र गतिमा कमाइ बढाएको थियो ।

फिल्मको सफलताको उत्सव सामान्य बलिउड पार्टीभन्दा फरक थियो । धार्मिक स्थलमा आयोजना गरिएको कार्यक्रममा भजन र आरती गरिएको थियो ।

सफलता उत्सवमा फिल्मका मुख्य अभिनेता शोभिनव सत्य (जसले नीम करौली बाबाको भूमिका निर्वाह गरेका छन्) र निर्देशक डा. विशाल चतुर्वेदी पनि सहभागी भएका थिए ।

निर्माण पक्षले फिल्मको सफलताको उत्सव कुनै पाँचतारे होटल वा महँगो रेस्टुरेन्टमा नभई जुहुस्थित इस्कोन मन्दिरमा मनाएको हो ।

रिपोर्टअनुसार कार्यक्रममा मदिरा वा मांसाहारी परिकार राखिएको थिएन । पाहुनाका लागि शाकाहारी तथा सात्त्विक भोजनको व्यवस्था गरिएको थियो ।

कार्यक्रमका भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् । ती भिडियोमा कार्तिक आर्यन मन्दिर परिसरमा पुग्दै फिल्मका टोलीका सदस्यहरूसँग भेटघाट गरिरहेको देखिन्छ । सिनेमाघरमा सफलता पाएपछि ‘हनुमान अंश’ अब ओटीटीमा पनि प्रदर्शन हुने भएको छ ।

चलचित्र ‘फ्रेन्च किस’ को टिजर सार्वजनिक » Celebrity Nepal


सेलिब्रेटी नेपाल । चलचित्र ‘फ्रेन्च किस’ले टिजर सार्वजनिक गर्दै रिलिज डेट अनाउन्स गरेको छ । आज ओएसआर डिजिटलमार्फत टिजर सार्वजनिक गर्दै सिनेमाको प्रदर्शन मिति जानकारी गराइएको हो ।

‘फ्रेन्च किस’ माघे संक्रान्तिको अवसर पारेर माघ १ गतेबाट प्रदर्शनमा आउने भएको छ । सार्वजनिक टिजरमा एक युगल जोडी छ । जो काठमाडौंका सुन्दर ठाउँदेखि तालसम्म हात समाएर घुम्छ । प्रेमका बारे आआफ्ना धारणा राख्छ । प्रेम आधुनिक समयमा मिथमा परिणत भइसकेको बताउँछ ।

केटा र केटी नै एकअर्काप्रति आकर्षित छन् । एकान्तमा बसेर किस गर्छन् । र, होटेलमा पसेर जवानी साट्छन् । त्यसपछि केही ठूलठूलो स्वरमा बोेलेको सुनिन्छ, यसले उनीहरूको सम्बन्धमा चिसोपना आएको अनुमान लगाउन सकिन्छ ।

अर्पण थापाले निर्देशन गरेको चलचित्रमा अर्पण र थिन्ले ल्हामोसँगै रेखा थापा, गौरी मल्ल, आयशा तामाङलगायत कलाकारको अभिनय छ । चलचित्रको कथा पनि निर्देशक स्वयंको छ । निर्माण टिमले ‘फ्रेन्च किस’लाई नयाँ पुस्ताको स्वाद अनुसारको चलचित्र भनेको छ । दर्शकले आधुनिक प्रेमकथाको अनुभूत यो चलचित्रमार्फत गर्न पाउने निर्देशक अर्पणले बताएका छन् ।

ए.टी.एफ. प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण हुने चलचित्रलाई अभिनेता समेत रहेका अर्पण थापाले निर्देशन गरेका छन् । चलचित्रको कार्यकारी निर्मातामा सौगात बस्नेत र सह–निर्मातामा सुभाष बी. शाही छन् । चलचित्रलाई सुदीप बरालले खिचेका हुन्। चलचित्रमा संगीत गायक तथा संगीतकार दीपक बज्राचार्यको रहनेछ ।

मंसिर ११ मा आउने चलचित्र ‘ककाकिकी’ को ट्रेलर सार्वजनिक

तृप्ति नाडकर, गौरी मल्ल, रेखा थापा, महेश त्रिपाठी, शिशिर वाङ्देल, दिया मास्के, मनोज गजुरेल


सेलिब्रेटी नेपाल । हास्य प्रधान चलचित्र ‘ककाकिकी’को ट्रेलर सार्वजनिक गरिएको छ । यो चलचित्र यहि आउँदो मंसिर ११ गतेबाट प्रदर्शन हुने तयारीमा छ। एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा चलचित्रका मुख्य बिषयहरुलाई समेटिएको छ । ट्रेलरले बताए अनुसार कुलेबारी गाउँका मानिसहरु गाउँमा अस्पताल बनाउनका लागी बिभिन्न योजना बनाउँछन्, कतिपयले बैंक लुटेरै भएपनि अस्पताल बनाउनुपर्छ भन्ने निस्कर्षमा पुगेको देखिन्छ ।

ट्रेलरमा चलचित्रका मुख्य कलाकारहरु तृप्ति नाडकर, गौरी मल्ल, रेखा थापा, महेश त्रिपाठी, शिशिर वाङ्देल, दिया मास्के, मनोज गजुरेल लगायतको कलाकारलाई देख्न सकिन्छ । ट्रेलर रिलिज कार्यक्रममा मुख्य कलाकार गौरी मल्लले आइरहेका धेरै फिल्मभन्दा केहि फरक बनाउने कोशिस यस फिल्मको निर्माण टिमले गरेको दाबी गरिन् । कलाकार शिशिर वाङ्देलले निर्माण टिममा युवाजोश भएका साथीहरु भएकाले काम गर्दाको अनुभव राम्रो रहेको बताए । साथै कलाकार मनोज गजुरेलले धेरैपछि फेरी चलचित्रमा जोडिन पाएको र ककाकिकी आफ्नो दोस्रो चलचित्र भएको जानकारी दिए ।

कार्यक्रममा निर्देशक बिक्की अगरवालले नेपाली दर्शकलाई मन पर्ने गरी चलचित्र बनाएको दाबी गरे । उनले चलचित्रको टिजर र ट्रेलर काट्ने काम पनि आफैले गरेको र फिल्म राम्रो हुँदा अथवा जस्तोसुकै प्रतिक्रिया आउँदा आफूले नै त्यसको जिम्मेवारी लिने बताए ।

चलचित्रलाई बिक्की अगरवालसँगै श्रृद्धा प्रसाईंले निर्देशन गरेकी हुन् । चलचित्रमा प्रकाश घिमिरे, माउत्से गुरुङ, सुवास गजुरेल, रेअर राई, खड्ग बहादुर पुन मगर, पवन खतिवडा, मुकुन्द मैनाली, रामबाबु रेग्मी, सिडी बिजय अधिकारी, सरोज भण्डारी, सुजना श्रेष्ठ, बिश्वास तिमल्सिना, एलिसा भोग, सुवर्ण थापा, कमल देवकोटा लगायतको पनि अभिनय रहेको छ । चलचित्रको निर्माता सुमित्रा थापा र श्रद्दा प्रसाई हुन्।

चलचित्रको लेखन निर्देशक बिक्कीसँगै सरोज भण्डारी र बिकाश अर्यालले गरेका हुन् । फिल्मको निर्माता श्रृद्धा प्रसाईं र सुमित्रा थापा हुन् । य फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलसँग छ भने अन्तर्राष्ट्रिय रिलिज अधिकार सेभेन सिज इन्टरनेशनलले लिएको छ ।

निर्मला सुबेदीको रचना र मुख्य स्वरमा ‘सुन्नुहोला घटना भोटेकोशीको’ सार्वजनिक

पोखरा, दीपेन्द्र ढकाल (राजु)। नेपाली लोकसंगीत क्षेत्रमा सामाजिक तथा समसामयिक घटनालाई गीतमार्फत प्रस्तुत गर्ने क्रममा निर्मला सुबेदीको रचना तथा मुख्य स्वरमा ‘सुन्नुहोला घटना भोटेकोशीको’ बोलको गीत सार्वजनिक भएको छ।

भोटेकोशी क्षेत्रमा घटेको दुःखद घटनालाई विषयवस्तु बनाएर तयार गरिएको उक्त गीतमा घटनाले निम्त्याएको पीडा, स्थानीयवासीको अवस्था तथा त्यसबाट परेको प्रभावलाई गीतका माध्यमबाट प्रस्तुत गरिएको छ। गीतमा निर्मला सुबेदीको मुख्य स्वर रहेको छ भने उहाँका आफन्त तथा साथीहरूको समूह स्वरले गीतलाई थप प्रभावकारी बनाएको छ।

समसामयिक घटनालाई लोकभाकासँग जोडेर तयार गरिएको गीतमा वास्तविक घटनाको भाव र पीडालाई सरल शब्द तथा मार्मिक प्रस्तुतिमार्फत अभिव्यक्त गर्ने प्रयास गरिएको छ। गीतको रचना निर्मला सुबेदीले गरेकी हुन्।

‘सुन्नुहोला घटना भोटेकोशीको’ नामले नै घटनाको विषयवस्तु प्रस्ट पार्ने उक्त गीतले भोटेकोशी घटनाप्रति ध्यानाकर्षण गराउँदै पीडितप्रति सहानुभूति व्यक्त गर्ने सन्देशसमेत बोकेको छ।

गीतमा निर्मला सुबेदीको मुख्य स्वरका साथै आफन्त तथा साथीहरूको समूह स्वरले सामूहिक भाव प्रस्तुत गरेको छ। तीज गीत २०८३ का रूपमा समेत प्रस्तुत गरिएको यस गीतले मौलिक लोकसंगीतमार्फत समसामयिक विषय उठान गर्ने प्रयास गरेको देखिन्छ।

नाग पञ्चमी : धर्म, संस्कृति र प्रकृतिसँग जोडिएको पर्व

नाग पञ्चमी हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व हो। प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वमा नागदेवताको पूजा–आराधना गर्ने परम्परा छ। नेपालमा विशेषगरी घरको मूलढोकामा नागको चित्र टाँसेर पूजा गर्ने, दूध, दही, अक्षता, फूल, दूबो, चन्दन आदि अर्पण गर्ने चलन छ। धार्मिक आस्थासँगै नाग पञ्चमी नेपाली समाजको मौलिक संस्कृति, परम्परा र प्रकृतिप्रतिको सम्मानसँग जोडिएको पर्वका रूपमा स्थापित छ।


सनातन धार्मिक परम्परामा नागलाई विशेष स्थान दिइएको पाइन्छ। भगवान् विष्णु शेषनागमाथि शयन गरेको धार्मिक चित्रणदेखि भगवान् शिवले नागलाई आफ्नो आभूषणका रूपमा धारण गरेको स्वरूपसम्म नागको धार्मिक महत्व देखिन्छ। नागलाई जल, भूमि, वर्षा र उर्वरतासँग सम्बन्धित प्रतीकका रूपमा समेत हेर्ने गरिन्छ। त्यसैले नाग पञ्चमी केवल सर्पको पूजा गर्ने दिन नभई प्रकृतिका विभिन्न पक्षप्रति सम्मान प्रकट गर्ने अवसर पनि हो।

परम्परागत मान्यताअनुसार नागको पूजा गर्दा सर्पको भयबाट रक्षा हुने, घरपरिवारमा सुख–शान्ति कायम हुने र प्राकृतिक विपत्तिबाट संरक्षण प्राप्त हुने विश्वास गरिन्छ। धार्मिक विश्वासहरू वैज्ञानिक प्रमाणको विषयभन्दा बढी सांस्कृतिक आस्थाका विषय हुन्। यस्ता परम्पराको सम्मान गर्दै तिनमा रहेका सकारात्मक सामाजिक र वातावरणीय सन्देशलाई बुझ्नु आजको आवश्यकता हो।

नेपाल कृषि–प्रधान देश भएकाले वर्षा, पानी र भूमिको विशेष महत्व छ। नाग पञ्चमी पनि वर्षायाममै पर्ने भएकाले यसको सम्बन्ध प्राकृतिक वातावरणसँग जोडेर हेर्न सकिन्छ। सर्पहरू खाद्य शृङ्खलाको महत्वपूर्ण हिस्सा हुन् र उनीहरूले मुसालगायत विभिन्न जीवको संख्या नियन्त्रणमा योगदान पुर्‍याउँछन्। यस अर्थमा सर्पको संरक्षणले वातावरणीय सन्तुलन कायम राख्न सहयोग पुर्‍याउँछ।

तर पछिल्लो समय नाग पञ्चमीका अवसरमा कतिपय स्थानमा सर्पलाई अनावश्यक रूपमा समात्ने, प्रदर्शन गर्ने वा दुःख दिने जस्ता व्यवहार देखिन सक्छन्। धार्मिक आस्था कायम राख्दै यस्ता गतिविधिबाट बच्नु आवश्यक छ। नागको पूजा गर्ने नाममा जीवलाई पीडा दिनु पर्वको मूल भावनासँग मेल खाँदैन। बरु सर्प तथा अन्य जीवजन्तुको संरक्षण, प्राकृतिक बासस्थानको रक्षा र वातावरणप्रतिको जिम्मेवारीलाई प्राथमिकता दिनुपर्छ।

नाग पञ्चमीको अर्को महत्वपूर्ण पक्ष हाम्रो संस्कृति र पुस्तान्तरणसँग सम्बन्धित छ। आधुनिक जीवनशैली र प्रविधिको विस्तारसँगै कतिपय परम्परागत ज्ञान र संस्कार कमजोर हुँदै गएका छन्। यस्तो अवस्थामा नाग पञ्चमीजस्ता पर्वले नयाँ पुस्तालाई आफ्नो इतिहास, संस्कृति र सामाजिक परम्परासँग परिचित गराउने अवसर प्रदान गर्छन्। तर संस्कृति संरक्षणको अर्थ हरेक पुरानो अभ्यासलाई जस्ताको तस्तै दोहोर्‍याउनु होइन; त्यसमा रहेका सकारात्मक मूल्य र सन्देशलाई समयअनुकूल ढङ्गले अगाडि बढाउनु हो।

आजको समाजमा धार्मिक आस्था र वैज्ञानिक चेतनाबीच सन्तुलन आवश्यक छ। नाग पञ्चमीलाई अन्धविश्वास फैलाउने माध्यम बनाउनुको सट्टा धार्मिक तथा सांस्कृतिक पहिचानसँगै वातावरण संरक्षणको चेतना फैलाउने अवसर बनाउन सकिन्छ। विद्यालय, परिवार, समुदाय र सामाजिक संस्थाहरूले सर्पको पर्यावरणीय महत्वबारे जानकारी दिन सके यस पर्वको सामाजिक उपयोगिता अझ बढ्न सक्छ।

नाग पञ्चमीले हामीलाई मानव र प्रकृतिबीचको सम्बन्ध सम्झाउँछ। पृथ्वीमा मानिस मात्र होइन, विभिन्न जीवजन्तु, वनस्पति र प्राकृतिक प्रणालीको पनि आफ्नै महत्व छ। प्रकृतिको सन्तुलन बिग्रिँदा त्यसको असर अन्ततः मानव जीवनमै पर्छ। त्यसैले धार्मिक परम्परालाई प्रकृति संरक्षणसँग जोड्नु आजको सन्दर्भमा अझ सान्दर्भिक देखिन्छ।

नाग पञ्चमी हाम्रो धार्मिक आस्था, सांस्कृतिक पहिचान र प्रकृतिप्रतिको सम्मानको संगम हो। यस पर्वलाई श्रद्धापूर्वक मनाउँदै जीवजन्तुप्रति करुणा, वातावरण संरक्षण र मौलिक संस्कृतिको सम्मान गर्ने संस्कार विकास गर्नुपर्छ। नागको पूजा गर्नु मात्र होइन, नागलगायत सम्पूर्ण जीव र प्रकृतिको अस्तित्वको सम्मान गर्नु नै नाग पञ्चमीको व्यापक सन्देश बन्नुपर्छ।

गुरु पूर्णिमा: ज्ञान, संस्कार र सभ्यताको आधारशिला

सनातन वैदिक सभ्यतामा गुरुको स्थान सर्वोच्च मानिएको छ। गुरु केवल शिक्षा प्रदान गर्ने व्यक्ति मात्र होइनन्; उनी अज्ञानरूपी अन्धकारलाई हटाई ज्ञान, विवेक, नैतिकता र आत्मबोधको ज्योति प्रज्वलित गर्ने जीवन–मार्गदर्शक हुन्। संस्कृत व्युत्पत्तिअनुसार ‘गु’ शब्दले अन्धकार र ‘रु’ शब्दले त्यसको नाश वा निराकरण गर्ने शक्तिलाई जनाउँछ।

यसर्थ, अज्ञानरूपी तमसलाई हटाई सत्य, ज्ञान र धर्मको मार्गमा अग्रसर गराउने व्यक्तिलाई गुरु भनिन्छ। यही कारणले पूर्वीय दर्शनमा गुरुको स्थान देवतासरह मात्र होइन, कतिपय अवस्थामा देवताभन्दा पनि उच्च मानिएको छ।

नेपाल, भारत तथा सनातन संस्कृतिको प्रभाव रहेका अन्य देशहरूमा आषाढ शुक्ल पूर्णिमाका दिन श्रद्धा, भक्ति र कृतज्ञताका साथ गुरु पूर्णिमा मनाइन्छ। यस दिनलाई व्यास पूर्णिमा पनि भनिन्छ, किनभने यही तिथिमा महर्षि कृष्ण द्वैपायन वेदव्यासको अवतरण भएको विश्वास गरिन्छ। वेदहरूलाई चार भागमा विभाजन गर्ने, महाभारत जस्तो विश्वकै महान् महाकाव्यको रचना गर्ने, ब्रह्मसूत्रको प्रणयन गर्ने तथा अठार महापुराणहरूको सम्पादन एवं व्यवस्थित परम्परा स्थापना गर्ने अतुलनीय योगदानका कारण महर्षि वेदव्यासलाई ‘जगत्गुरु’ तथा “आदिगुरु”का रूपमा सम्मान गरिन्छ। त्यसैले गुरु पूर्णिमा गुरु–परम्पराको सम्मान मात्र नभई ज्ञान–परम्पराप्रतिको कृतज्ञताको उत्सव पनि हो।

गुरु पूर्णिमा कुनै धार्मिक अनुष्ठानमा सीमित पर्व होइन; यो ज्ञान, संस्कार, अनुशासन, नैतिकता, कर्तव्यबोध र मानवीय मूल्यहरूको उत्सव हो। यस दिन विद्यार्थीले आफ्ना शिक्षक तथा गुरुहरूप्रति सम्मान व्यक्त गर्छन्, आध्यात्मिक साधकहरूले आफ्ना दीक्षागुरुलाई स्मरण गरी आशीर्वाद ग्रहण गर्छन्, र समाजले ज्ञानको दीप प्रज्वलित गर्ने सम्पूर्ण गुरुजनप्रति कृतज्ञता अर्पण गर्दछ। यस पर्वले व्यक्ति र समाजलाई केवल शिक्षा ग्रहण गर्न होइन, शिक्षालाई जीवनमा आत्मसात् गर्न प्रेरित गर्दछ।

वर्तमान युग विज्ञान, सूचना–प्रविधि र कृत्रिम बुद्धिमत्ता (AI) को युग हो। आज केही क्षणमै संसारभरको जानकारी प्राप्त गर्न सकिन्छ। तर सूचना र ज्ञान समानार्थी होइनन्। सूचना सङ्कलन गर्न प्रविधि सक्षम हुन सक्छ, तर सही–गलत छुट्याउने विवेक, नैतिक निर्णय गर्ने क्षमता, चरित्र निर्माण गर्ने प्रेरणा तथा जीवनको उद्देश्य पहिचान गराउने शक्ति गुरुबाटै प्राप्त हुन्छ। त्यसैले आधुनिक प्रविधिले शिक्षणका माध्यम परिवर्तन गरे पनि गुरुको आवश्यकता र गरिमा कहिल्यै समाप्त हुन सक्दैन।

नेपालको सन्दर्भमा पनि गुरु–शिष्य परम्पराले शिक्षा, दर्शन, साहित्य, योग, आयुर्वेद, कला, संस्कृति तथा सामाजिक मूल्यहरूको संरक्षण र संवर्द्धनमा ऐतिहासिक भूमिका खेलेको छ। ऋषिमुनिहरूको गुरुकुल परम्पराबाट सुरु भएको ज्ञान–यात्रा आज विद्यालय, विश्वविद्यालय तथा अनुसन्धान संस्थासम्म आइपुगेको छ। युग परिवर्तनसँगै शिक्षणका विधि परिवर्तन भएका छन्, तर गुरुको मूल दायित्व—ज्ञान प्रदान गर्नु, चरित्र निर्माण गर्नु, संस्कारको विकास गर्नु र उत्तरदायी नागरिक तयार गर्नु—आज पनि उति नै महत्त्वपूर्ण छ। कुनै पनि राष्ट्रको समृद्धि केवल आर्थिक विकासले होइन, नैतिक, अनुशासित, जिम्मेवार र संस्कारित नागरिकबाट सुनिश्चित हुन्छ, र त्यस्ता नागरिक निर्माण गर्ने प्रमुख आधार गुरु नै हुन्।

अन्ततः, गुरु पूर्णिमा एउटा धार्मिक पर्व मात्र नभई ज्ञानको सम्मान, संस्कारको संरक्षण, सभ्यताको निरन्तरता र राष्ट्र निर्माणको प्रेरणामूलक दिवस हो। गुरुप्रतिको श्रद्धा, कृतज्ञता र समर्पणले व्यक्तिलाई सफल, समाजलाई सभ्य र राष्ट्रलाई समुन्नत बनाउने आधार तयार गर्दछ। आजको भौतिकवादी र तीव्र परिवर्तनशील युगमा गुरु पूर्णिमाको सन्देश झन् सान्दर्भिक बनेको छ। त्यसैले “गुरु पूर्णिमा: ज्ञान, संस्कार र सभ्यताको आधारशिला” शीर्षकमा गुरुको ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा समसामयिक महत्त्वको गहन विश्लेषण गर्नु समयको आवश्यकता हो।

गुरु पूर्णिमाको इतिहास केवल एउटा धार्मिक पर्वको इतिहास होइन; यो मानव सभ्यतामा ज्ञान, शिक्षा, संस्कार र आध्यात्मिक चेतनाको विकाससँग गाँसिएको इतिहास हो। सनातन वैदिक परम्परामा ज्ञानलाई परम धन र गुरुलाई त्यस ज्ञानको जीवित स्रोत मानिएको छ। त्यसैले गुरुको सम्मान गर्ने परम्परा वैदिक कालदेखि नै निरन्तर चल्दै आएको छ।

आषाढ शुक्ल पूर्णिमाका दिन मनाइने गुरु पूर्णिमा विशेषतः महर्षि कृष्ण द्वैपायन वेदव्यासको स्मृतिमा समर्पित छ। यस दिनलाई ‘व्यास पूर्णिमा’ पनि भनिन्छ। हिन्दू परम्पराअनुसार वेदव्यास महर्षि पराशर र सत्यवतीका पुत्र थिए। उनको जन्म यमुना नदीको बीचमा रहेको द्वीपमा भएकाले ‘द्वैपायन’ तथा श्याम वर्ण भएकाले ‘कृष्ण’ भन्ने नाम रह्यो। ज्ञानको संरक्षण र विस्तारमा उनको योगदान अतुलनीय भएकाले सम्पूर्ण गुरु–परम्पराका आदिगुरुका रूपमा उनको पूजा गरिन्छ।

महर्षि वेदव्यासले विशाल वैदिक ज्ञानलाई व्यवस्थित गरी ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरेका थिए। त्यसैगरी महाभारत, ब्रह्मसूत्र, अठार महापुराण तथा अनेक उपपुराणहरूको सम्पादन र परम्परागत संरक्षणमा उनको योगदान रहेको मानिन्छ। यही कारणले उनलाई ‘वेदव्यास’ अर्थात् वेदको विभाजन र व्यवस्थापन गर्ने महामनीषी भनिएको हो।

वैदिक साहित्यमा गुरुको महत्त्व अत्यन्त उच्च स्थानमा रहेको पाइन्छ। तैत्तिरीय उपनिषद्मा विद्यार्थीलाई जीवनभर पालन गर्नुपर्ने आचरण सिकाउँदै स्पष्ट रूपमा भनिएको छ :

त्यसैगरी भगवद्गीतामा भगवान् श्रीकृष्णले सच्चा ज्ञान प्राप्त गर्न गुरुको शरणमा जानुपर्ने आवश्यकता स्पष्ट रूपमा बताएका छन् :

अर्थात् नम्रतापूर्वक प्रणाम गरेर, जिज्ञासा राखेर र सेवाभावका साथ गुरुको समीप जाऊ; तत्त्वदर्शी ज्ञानीहरूले तिमीलाई वास्तविक ज्ञान प्रदान गर्नेछन्। यस श्लोकले ज्ञान प्राप्तिका लागि विनय, जिज्ञासा र सेवाभाव अपरिहार्य रहेको सन्देश दिन्छ।

मुण्डक उपनिषद्ले पनि आत्मज्ञान प्राप्त गर्न योग्य गुरुको शरणमा जानुपर्ने आवश्यकता यसरी व्यक्त गरेको छ :

यस मन्त्रले वेद–शास्त्रमा पारंगत र ब्रह्मज्ञानमा स्थित गुरुबाटै वास्तविक ज्ञान प्राप्त हुने सिद्धान्त स्थापित गर्दछ। यो गुरु–शिष्य सम्बन्धको दार्शनिक आधार हो।

सनातन परम्परामा प्रसिद्ध अर्को गुरु–स्तुति पनि गुरुको आध्यात्मिक स्वरूप स्पष्ट पार्छ :

यस श्लोकको भावार्थ गुरुमा ब्रह्मा (सृष्टि), विष्णु (पालन) र महेश (संहार) का दिव्य गुणहरूको समन्वय रहेको छ भन्ने हो। गुरुले अज्ञानको अन्त्य गरी ज्ञानको नयाँ जीवन प्रदान गर्ने भएकाले उनलाई परमब्रह्मको प्रतीक मानिएको छ।

वैदिक कालमा शिक्षा गुरुकुल प्रणालीमा आधारित थियो। विद्यार्थीहरू गुरुको आश्रममै बसेर वेद, दर्शन, व्याकरण, गणित, आयुर्वेद, धनुर्वेद, राजनीति, ज्योतिष तथा नैतिक शिक्षाको अध्ययन गर्थे। गुरुकुलको उद्देश्य केवल विद्वान् बनाउनु थिएन; सत्यनिष्ठ, अनुशासित, परिश्रमी, आत्मनिर्भर र राष्ट्रप्रति समर्पित नागरिक निर्माण गर्नु थियो। यही शिक्षापद्धतिले राम, कृष्ण, याज्ञवल्क्य, श्वेतकेतु, नचिकेता, पाणिनि, चाणक्यजस्ता महान् व्यक्तित्व जन्माएको इतिहास पाइन्छ।

नेपालको सभ्यता पनि यही गुरु–परम्पराबाट प्रभावित छ। प्राचीन मठ, आश्रम, संस्कृत पाठशाला, गुरुकुल तथा धार्मिक शिक्षाकेन्द्रहरूले नेपाली समाजमा धर्म, दर्शन, भाषा, संस्कृति र नैतिक मूल्यहरूको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेका छन्। आज पनि वेदपाठशाला, संस्कृत विश्वविद्यालय, आश्रम तथा आध्यात्मिक संस्थाहरूले गुरु–शिष्य परम्परालाई निरन्तरता दिइरहेका छन्।

यसरी हेर्दा गुरु पूर्णिमाको ऐतिहासिक र शास्त्रीय आधार अत्यन्त गहिरो, व्यापक र बहुआयामिक छ। यो पर्व कुनै एक धर्म वा समुदायको सीमित उत्सव नभई ज्ञानको सम्मान, संस्कारको संरक्षण, सभ्यताको निरन्तरता र मानव जीवनलाई प्रकाशतर्फ उन्मुख गराउने गुरु–परम्पराप्रतिको सामूहिक श्रद्धाञ्जलि हो। त्यसैले गुरु पूर्णिमा हाम्रो सांस्कृतिक पहिचान, शैक्षिक परम्परा र आध्यात्मिक चेतनाको अनुपम प्रतीकका रूपमा आज पनि उत्तिकै सान्दर्भिक रहेको छ।

मानव सभ्यताको इतिहास केलाउँदा एउटा सत्य स्पष्ट रूपमा देखिन्छ—जहाँ गुरुको सम्मान भएको छ, त्यहाँ ज्ञानको विकास भएको छ; जहाँ ज्ञानको विकास भएको छ, त्यहाँ सभ्यता, संस्कृति र नैतिक मूल्यहरू फस्टाएका छन्। त्यसैले गुरु केवल शिक्षा दिने व्यक्ति मात्र होइनन्, उनी सभ्यता निर्माणका शिल्पकार, संस्कारका संवाहक र राष्ट्रका भविष्य निर्माता हुन्। गुरुले व्यक्तिलाई केवल साक्षर बनाउँदैनन्; उनीभित्र मानवता, विवेक, अनुशासन, कर्तव्यबोध र आत्मविश्वासको विकास गराउँछन्।

उपनिषद्हरूले ज्ञानलाई मुक्तिको माध्यम मानेका छन्। अज्ञानले मानिसलाई भ्रम, भय र अन्यायतर्फ लैजान्छ भने ज्ञानले सत्य, विवेक र आत्मबोधतर्फ डोर्याउँछ। गुरु यही ज्ञानको सेतु हुन्। गुरुले पुस्तकमा सीमित जानकारी मात्र दिँदैनन्; जीवनलाई कसरी बुझ्ने, सत्यलाई कसरी खोज्ने र ज्ञानलाई व्यवहारमा कसरी उतार्ने भन्ने कला पनि सिकाउँछन्।

संस्कृत वाङ्मयमा भनिएको छ :

अर्थात् यस संसारमा ज्ञानजत्तिको पवित्र वस्तु अर्को छैन। यही ज्ञानको प्राप्तिमा गुरुको भूमिका सर्वाधिक महत्त्वपूर्ण हुन्छ।

शिक्षा र संस्कार एउटै कुरा होइनन्। शिक्षा व्यक्तिलाई दक्ष बनाउन सक्छ, तर संस्कारले उसलाई जिम्मेवार, नैतिक र मानवीय बनाउँछ। गुरुले शिष्यमा सत्य, अहिंसा, करुणा, अनुशासन, परोपकार, सहिष्णुता र आत्मसंयमजस्ता गुणहरूको विकास गराउँछन्। यिनै संस्कारले परिवारलाई सुदृढ, समाजलाई सभ्य र राष्ट्रलाई समुन्नत बनाउँछन्।

प्राचीन गुरुकुलमा विद्यार्थीलाई वेद र शास्त्र मात्र होइन, श्रम, सेवा, विनय, अनुशासन तथा प्रकृतिप्रतिको सम्मान पनि सिकाइन्थ्यो। त्यसैले त्यहाँबाट निस्कने विद्यार्थी विद्वान् मात्र होइन, आदर्श नागरिक पनि बन्थे।

स्वामी विवेकानन्दले भन्नुभएको छ :

यस भनाइले शिक्षाको उद्देश्य केवल जानकारी दिनु होइन, व्यक्तिभित्र रहेको श्रेष्ठतालाई जागृत गर्नु हो भन्ने सन्देश दिन्छ। यही कार्य गुरुले सम्पन्न गर्छन्।

चरित्र नै व्यक्तिको सबैभन्दा ठूलो सम्पत्ति हो। धन, पद वा शक्ति समयसँगै परिवर्तन हुन सक्छ, तर असल चरित्र जीवनभर साथ रहन्छ। गुरुले शिष्यलाई सत्य बोल्न, न्यायको पक्ष लिन, अनुशासन पालना गर्न र समाजप्रति उत्तरदायी बन्न प्रेरित गर्छन्। त्यसैले एउटा असल गुरु हजारौँ कानुनभन्दा प्रभावकारी नैतिक शिक्षक हुन सक्छ।

विश्वका प्रायः सबै महान् सभ्यताहरूमा गुरु–शिष्य परम्पराको विशेष स्थान रहेको पाइन्छ। भारतका ऋषिमुनिहरूदेखि नेपालका मठ, आश्रम र संस्कृत पाठशालासम्म ज्ञानको हस्तान्तरण गुरुमार्फत नै भएको हो। वेद, उपनिषद्, रामायण, महाभारत, आयुर्वेद, योग, संगीत, नाट्यशास्त्र, वास्तुशास्त्र, ज्योतिष तथा अन्य शास्त्रीय परम्पराहरू पुस्तौंदेखि पुस्तासम्म गुरु–शिष्य सम्बन्धकै माध्यमबाट जीवित रहन सकेका छन्।

यदि गुरु–परम्परा नहुने हो भने सभ्यताले आफ्ना मौलिक मूल्यहरू गुमाउने सम्भावना बढ्छ। त्यसैले गुरु संस्कृति र सभ्यताको जीवित वाहक हुन्।

कुनै पनि राष्ट्रको समृद्धि प्राकृतिक स्रोतले मात्र सुनिश्चित गर्दैन; शिक्षित, अनुशासित, नैतिक र सक्षम नागरिकले राष्ट्रलाई उन्नत बनाउँछन्। त्यस्ता नागरिक निर्माण गर्ने पहिलो जिम्मेवारी गुरुको हो।

नेपालका धेरै राष्ट्रिय विभूतिहरू, समाजसुधारक, वैज्ञानिक, साहित्यकार, प्रशासक र राजनीतिक नेतृत्व कुनै न कुनै गुरुको प्रेरणाबाट अघि बढेका हुन्। त्यसैले राष्ट्र निर्माणको आधार विद्यालय मात्र होइन, विद्यालयभित्र रहेका समर्पित गुरु पनि हुन्।

चाणक्यको जीवन यसको उत्कृष्ट उदाहरण हो। यदि चाणक्यजस्तो गुरु नहुने हो भने चन्द्रगुप्त मौर्यजस्तो सम्राट्को उदय सम्भव नहुन पनि सक्थ्यो। यसले गुरुको दूरदृष्टि र नेतृत्वले इतिहासको दिशा परिवर्तन गर्न सक्ने तथ्यलाई प्रमाणित गर्दछ।

सनातन संस्कृतिमा गुरु–शिष्य सम्बन्ध केवल शिक्षक र विद्यार्थीबीचको औपचारिक सम्बन्ध होइन; यो विश्वास, अनुशासन, सेवा, जिज्ञासा र आत्मीयतामा आधारित सम्बन्ध हो। शिष्यले विनम्रतापूर्वक ज्ञान ग्रहण गर्छ भने गुरुले निस्वार्थ भावले आफ्नो अनुभव र विद्या हस्तान्तरण गर्छन्।

यस सन्दर्भमा प्रसिद्ध संस्कृत उक्ति उल्लेखनीय छ :

अर्थात् विद्यार्थीले एक चौथाइ ज्ञान गुरुबाट, एक चौथाइ आफ्नै बुद्धिबाट, एक चौथाइ सहपाठीबाट र बाँकी एक चौथाइ समय तथा अनुभवबाट प्राप्त गर्दछ। यसले गुरुको महत्त्वसँगै निरन्तर अध्ययन र अनुभवको पनि आवश्यकता देखाउँछ।

आज कृत्रिम बुद्धिमत्ता (AI), डिजिटल पुस्तकालय, अनलाइन शिक्षा र सामाजिक सञ्जालले ज्ञानको पहुँचलाई अत्यन्त सहज बनाएका छन्। तर प्रविधिले जानकारी दिन सक्छ, मूल्यबोध दिन सक्दैन; उत्तर दिन सक्छ, विवेक सिकाउन सक्दैन; सूचना दिन सक्छ, संस्कार निर्माण गर्न सक्दैन। यही कारणले आधुनिक शिक्षामा पनि गुरुको भूमिका अझ गहिरो बनेको छ।

आजको गुरुले केवल पाठ्यपुस्तक पढाउने होइन, आलोचनात्मक चिन्तन, नैतिक चेतना, सामाजिक उत्तरदायित्व, वैज्ञानिक दृष्टिकोण र मानवीय संवेदनशीलताको विकास गराउने भूमिका निर्वाह गर्नुपर्छ। यही गुणले भविष्यका सक्षम नागरिक र उत्तरदायी समाज निर्माण हुन्छ।

ज्ञानले व्यक्तिलाई उज्यालो बनाउँछ, संस्कारले समाजलाई सभ्य बनाउँछ र गुरुले यी दुवैको समन्वय गरेर राष्ट्रको भविष्य निर्माण गर्छन्। त्यसैले गुरुको योगदान कुनै एउटा विद्यार्थीको सफलतामा सीमित हुँदैन; उनी सम्पूर्ण समाज र सभ्यताको विकासका आधारस्तम्भ हुन्। गुरुको सम्मान गर्नु भनेको ज्ञानको सम्मान गर्नु, संस्कारको संरक्षण गर्नु र सभ्यताको निरन्तरतालाई सुनिश्चित गर्नु हो।

एक्काइसौँ शताब्दीलाई सूचना–प्रविधि, कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence–AI), इन्टरनेट र डिजिटल सञ्चारको युगका रूपमा चिनिन्छ। आज विश्वको जुनसुकै कुनामा रहेको ज्ञान केही सेकेन्डमै मोबाइल वा कम्प्युटरको पर्दामा उपलब्ध हुन्छ। शिक्षण–सिकाइका माध्यमहरू पनि परम्परागत कक्षाकोठाबाट विस्तार हुँदै अनलाइन कक्षा, डिजिटल पुस्तकालय, भर्चुअल प्रयोगशाला र कृत्रिम बुद्धिमत्तामा आधारित शिक्षण प्रणालीसम्म पुगेका छन्। यस परिवर्तनले शिक्षा क्षेत्रमा नयाँ अवसरहरू सिर्जना गरेको छ, तर गुरु–शिष्य सम्बन्धका सामु केही गम्भीर चुनौतीहरू पनि खडा गरेको छ।

डिजिटल युगको सबैभन्दा ठूलो विशेषता सूचना (Information) को सहज उपलब्धता हो। तर सूचना नै ज्ञान होइन। तथ्य, आँकडा वा सामग्री सङ्कलन गर्नु मात्र ज्ञान प्राप्त गर्नु होइन; त्यसको विश्लेषण, सत्यताको परीक्षण, नैतिक प्रयोग र जीवनोपयोगी रूपान्तरण नै वास्तविक ज्ञान हो। यही रूपान्तरणको प्रक्रिया गुरुको मार्गदर्शनबाट सम्भव हुन्छ।

यसैले आधुनिक प्रविधिले पुस्तकको स्थान लिन सक्ला, तर गुरुको स्थान लिन सक्दैन। कृत्रिम बुद्धिमत्ताले उत्तर दिन सक्छ, तर जीवनका मूल्य, विवेक, संवेदना र नैतिक निर्णय गर्ने क्षमता सिकाउन सक्दैन।

डिजिटल युगसँगै शिक्षामा अनेक परिवर्तन आएका छन्। विद्यार्थीहरू पुस्तकभन्दा बढी मोबाइल र सामाजिक सञ्जालमा निर्भर हुन थालेका छन्। तत्काल उत्तर खोज्ने प्रवृत्तिले गहिरो अध्ययन, चिन्तन र अनुसन्धानको संस्कृतिमा असर पार्न थालेको छ।

गुरु र विद्यार्थीबीचको आत्मीय संवाद क्रमशः घट्दै जानु।

सामाजिक सञ्जाल र डिजिटल मनोरञ्जनका कारण अध्ययनमा एकाग्रताको कमी हुनु।

गलत वा अप्रमाणित सूचनाको प्रभाव बढ्नु।

नैतिक शिक्षा र जीवनमूल्यप्रतिको आकर्षण घट्नु।

शिक्षकको भूमिकालाई केवल सूचना दिने व्यक्तिमा सीमित रूपमा बुझ्ने प्रवृत्ति बढ्नु।

यी चुनौतीहरूले शिक्षा प्रणालीलाई मात्र होइन, समाजको नैतिक आधारलाई पनि प्रभावित गर्न सक्छन्।

हालका वर्षहरूमा कृत्रिम बुद्धिमत्ताले शिक्षाको स्वरूपलाई तीव्र रूपमा परिवर्तन गरिरहेको छ। AI ले व्यक्तिगत सिकाइ, भाषा अनुवाद, अनुसन्धान, लेखन सहयोग, तथ्य खोजी तथा जटिल विषय बुझ्न नयाँ सम्भावना खोलिदिएको छ। विद्यार्थी र शिक्षक दुवैले यसबाट लाभ लिन सक्छन्।

तर AI लाई गुरुको विकल्पका रूपमा होइन, सहायक साधनका रूपमा प्रयोग गर्नु आवश्यक छ। AI ले जानकारी दिन सक्छ, तर चरित्र निर्माण गर्न सक्दैन; उत्तर दिन सक्छ, तर जीवनको उद्देश्य निर्धारण गर्न सक्दैन; विश्लेषण गर्न सक्छ, तर करुणा, सहानुभूति र नैतिक जिम्मेवारीको अनुभूति गराउन सक्दैन। यी गुणहरू अनुभवी गुरुबाट मात्र प्राप्त हुन्छन्।

त्यसैले भविष्यको शिक्षा “AI + Guru” को समन्वित मोडेलतर्फ उन्मुख हुनुपर्ने आवश्यकता देखिन्छ, जहाँ प्रविधिले सिकाइलाई सहज बनाओस् र गुरुले त्यसलाई मूल्य, विवेक र मानवीय संवेदनासँग जोडून्।

परिवर्तनशील समाजमा गुरुको भूमिका पनि विस्तार भएको छ। आजका गुरुले केवल पाठ्यक्रम समाप्त गर्नु पर्याप्त हुँदैन; उनी विद्यार्थीका मार्गदर्शक, प्रेरणास्रोत, अनुसन्धानकर्ता, परामर्शदाता र नैतिक नेतृत्वकर्ता पनि बन्नुपर्छ।

आलोचनात्मक चिन्तन (Critical Thinking) को विकास गराउने।

वैज्ञानिक दृष्टिकोण र अनुसन्धान संस्कृतिलाई प्रोत्साहन गर्ने।

डिजिटल साक्षरता र सूचना परीक्षण (Information Literacy) सिकाउने।

संविधान, लोकतन्त्र, मानव अधिकार तथा नागरिक कर्तव्यबारे सचेत गराउने।

मानवीय मूल्य, सहिष्णुता, अनुशासन र सामाजिक उत्तरदायित्वको विकास गराउने।

यस्ता गुरुहरूले मात्र भविष्यका सक्षम र जिम्मेवार नागरिक तयार गर्न सक्छन्।

डिजिटल युगमा पनि गुरु–शिष्य सम्बन्धलाई बलियो बनाउन केही आधारभूत पक्षमा ध्यान दिन आवश्यक छ—गुरुप्रति सम्मान र विश्वासको वातावरण निर्माण गर्ने।

विद्यालय, परिवार र समाजबीच सहकार्य बढाउने।

प्रविधिको सन्तुलित र जिम्मेवार प्रयोग गर्ने।

अध्ययनसँगै चरित्र निर्माणलाई समान प्राथमिकता दिने।

संवाद, जिज्ञासा र अनुसन्धानमा आधारित शिक्षण पद्धतिलाई प्रोत्साहन गर्ने।

यस्ता प्रयासहरूले आधुनिक शिक्षालाई प्रविधिमैत्री मात्र होइन, संस्कारमूलक र मानवीय पनि बनाउन सक्छन्।

डिजिटल युगले शिक्षाका नयाँ ढोका खोलेको छ, तर गुरुको आवश्यकता समाप्त गरेको छैन। बरु सूचना र भ्रमको भीडमा सही मार्ग पहिचान गराउने जिम्मेवारी अझ बढेको छ। गुरुले विद्यार्थीलाई केवल परीक्षा उत्तीर्ण गराउने होइन, जीवनलाई सफल, नैतिक र अर्थपूर्ण बनाउने प्रेरणा दिन्छन्। त्यसैले प्रविधिको विकाससँगै गुरुको गरिमा र भूमिका अझ सशक्त, अझ उत्तरदायी र अझ अपरिहार्य बन्दै गएको छ।

भविष्यको सभ्य समाज त्यही हुनेछ जहाँ आधुनिक प्रविधिको शक्ति र गुरुको ज्ञान, संस्कार तथा नैतिक नेतृत्वबीच सन्तुलित समन्वय स्थापित हुनेछ।

गुरु पूर्णिमा केवल एउटा धार्मिक वा सांस्कृतिक पर्व होइन; यो ज्ञान, संस्कार, नैतिकता र सभ्यताको सम्मान गर्ने प्रेरणादायी दिवस हो। गुरुले व्यक्तिलाई अज्ञानबाट ज्ञानतर्फ, असत्यबाट सत्यतर्फ र निराशाबाट आशातर्फ डोर्याउने जीवन–मार्गदर्शकको भूमिका निर्वाह गर्छन्। डिजिटल युगमा प्रविधिको विकास भए पनि चरित्र निर्माण, मूल्य शिक्षा र मानवीय चेतनाको विकासमा गुरुको स्थान अझै पनि अपरिवर्तनीय छ।

उपनिषद्को सन्देश “आचार्यदेवो भव” र भगवद्गीताको उपदेश “तद्विद्धि प्रणिपातेन परिप्रश्नेन सेवया” आज पनि उत्तिकै सान्दर्भिक छन्। त्यसैले गुरु पूर्णिमाको वास्तविक सार गुरुको पूजा गर्नुमा मात्र होइन, उहाँबाट प्राप्त ज्ञान, संस्कार र आदर्शलाई जीवनमा आत्मसात् गर्नुमा निहित छ। गुरुको सम्मान नै ज्ञानको सम्मान हो, र ज्ञानको सम्मान नै सभ्य, समुन्नत र समृद्ध राष्ट्र निर्माणको आधार हो।

“खुला पत्र” पोस्टपेड सिममा लाग्ने मासिक रेन्टल शुल्क हटाउने/ घटाउने सम्बन्धमा

खुला पत्र

माननीय सूचना तथा सञ्चार मन्त्रीज्यू,
श्रीमान् प्रबन्ध निर्देशकज्यू, नेपाल टेलिकम

विषय: नेपाल टेलिकमको पोस्टपेड सिममा लाग्ने मासिक रेन्टल शुल्क हटाउने वा घटाउने सम्बन्धमा।

महोदय,

नेपाल टेलिकमप्रति आम सेवाग्राहीको विश्वास र अपनत्व आज पनि उत्तिकै बलियो रहेको छ। गुणस्तरीय सेवा प्रदान गर्दै आएको नेपाल टेलिकमले देशभरका लाखौँ नागरिकलाई दूरसञ्चार सेवामा जोड्दै आएको छ। तर, पोस्टपेड सेवामा लाग्दै आएको मासिक रेन्टल शुल्कका कारण हजारौँ सेवाग्राही अनावश्यक आर्थिक भार वहन गर्न बाध्य भएका छन्।

वर्तमान समयमा दूरसञ्चार सेवा मुख्यतः डेटा, भ्वाइस तथा विभिन्न सेवा प्याकेजमा आधारित भइसकेको छ। सेवाग्राहीहरूले आफूले प्रयोग गरेको सेवाअनुसार शुल्क तिरिरहेका अवस्थामा अतिरिक्त रूपमा मासिक रेन्टल शुल्क निरन्तर कायम राख्नु समयसापेक्ष देखिँदैन। बदलिँदो प्रविधि, बजारको प्रतिस्पर्धा तथा सेवाग्राहीको आवश्यकता र अपेक्षाअनुसार यस व्यवस्थामा पुनर्विचार गर्नु आवश्यक देखिन्छ।

त्यसैले, नेपाल टेलिकमको पोस्टपेड सिममा लाग्ने मासिक रेन्टल शुल्क पूर्ण रूपमा हटाई सेवाग्राहीलाई राहत प्रदान गरियोस् भन्ने हार्दिक अनुरोध गर्दछु। यदि तत्काल उक्त शुल्क हटाउन सम्भव नभए, कम्तीमा पनि यसलाई उल्लेखनीय रूपमा घटाई सेवाग्राहीमैत्री निर्णय गरियोस् भन्ने विनम्र आग्रह गर्दछु।

यस्तो निर्णयले लाखौँ पोस्टपेड सेवाग्राहीलाई प्रत्यक्ष आर्थिक राहत पुग्नुका साथै नेपाल टेलिकमप्रतिको जनविश्वास अझ सुदृढ हुने विश्वास लिएको छु। सेवाग्राहीको हितलाई केन्द्रमा राखी यस विषयमा सकारात्मक पहल हुने अपेक्षा गर्दछु।

धन्यवाद।

दीपेन्द्र ढकाल (राजु)
नेपाल टेलिकमका एक सेवाग्राही