Breaking News
नेपाल ग्लोबल फिल्म फेस्टिभल हुँदै, विश्वभरका १०० चलचित्रकर्मी काठमाडौंमा आउने

सेलिब्रेटी नेपाल । नेपाली चलचित्रलाई विश्व बजारसँग जोड्ने र नेपाललाई अन्तर्राष्ट्रिय चलचित्रको महत्वपूर्ण गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित आयोजना हुन लागेको नेपाल ग्लोबल फिल्म फेस्टिभल (NGFF) २०२७ को तयारी तीव्र पारिएको छ। आगामी सन् २०२७ फेब्रुअरी १९ देखि २२ (फागुन ७ देखि १० गते) सम्म काठमाडौंमा आयोजना हुने महोत्सवमा विश्वका विभिन्न देशबाट करिब १०० जना चलचित्रकर्मी, संचारकर्मी तथा चलचित्र उद्योगका विशिष्ट व्यक्तित्व सहभागी हुने आयोजकले जनाएको छ।

नेपाल फिल्म एण्ड मिडिया एकेडेमीको आयोजनामा हुन लागेको महोत्सवको पहिलो संस्करणमै विश्वभरबाट ५०० भन्दा बढी फिचर फिल्म, सर्ट फिल्म तथा डकुमेन्ट्री प्राप्त भएका छन्। पहिलो संस्करणमै यति ठूलो संख्यामा अन्तर्राष्ट्रिय चलचित्र प्राप्त हुनुले महोत्सवप्रति विश्व चलचित्र क्षेत्रको चासो र आकर्षण बढ्दै गएको आयोजकको विश्वास छ।

‘हिमालदेखि सागरसम्मका कथाहरूको उत्सव’ भन्ने मूल नारासहित आयोजना हुन लागेको महोत्सवमा प्राप्त चलचित्रमध्ये करिब १०० वटा उत्कृष्ट चलचित्र छनोट गरी चार दिनसम्म काठमाडौंमा प्रदर्शन गरिनेछ। चलचित्र छनोटका लागि निर्देशक सुवर्ण थापाको नेतृत्वमा गठित चलचित्र छनोट समितिले काम गर्नेछ। छनोट भएकामध्ये उत्कृष्ट चलचित्रहरूलाई निर्देशक अशोक शर्मा नेतृत्वका नेपाली तथा विदेशी जुरीहरूले नगद पुरस्कारसहित विभिन्न विधामा अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ।

महोत्सवका निर्देशक गणेश पाण्डेले पहिलो संस्करणमै विश्वका विभिन्न देशबाट ५०० भन्दा बढी चलचित्र प्राप्त हुँदा आफूहरू अत्यन्त उत्साहित भएको बताए। उनले भने, “हाम्रो पहिलो संस्करणमै विश्वभरबाट यति ठूलो संख्यामा फिचर, सर्ट र डकुमेन्ट्री फिल्म प्राप्त हुनु निकै उत्साहजनक उपलब्धि हो। यसले नेपालमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवप्रति विश्व चलचित्रकर्मीको विश्वास र चासो देखाएको छ। हामी नेपालकै एउटा ठूलो महोत्सव बनाउने उद्देश्यका साथ अघि बढिरहेका छौँ।”

महोत्सवमा फिचर फिल्म, सर्ट फिल्म, डकुमेन्ट्री, माउन्टेन फिल्म, वातावरणसम्बन्धी फिल्म, मानवशास्त्रीय फिल्म, मानवअधिकारसम्बन्धी फिल्म, महिला विषयवस्तुमा आधारित फिल्म तथा आदिवासी जनजातिका कथा र संस्कृतिमा आधारित चलचित्रलाई समेटिनेछ। त्यसैगरी एनिमेसन, विद्यार्थी चलचित्र र कृत्रिम बौद्धिकता (AI) मा आधारित चलचित्रलाई समेत विशेष प्राथमिकता दिइनेछ।

यो पनि पढ्नुहोस् :  ‘सिन्दुरे जात्रा’को टिजरमा प्रेम र धोका » Celebrity Nepal

महोत्सवमा करिब १०० जना अन्तर्राष्ट्रिय चलचित्रकर्मी तथा चलचित्र उद्योगका व्यक्तित्वको सहभागिता जुटाउने तयारी भइरहेको छ। हलिउड, बलिउड तथा चिनियाँ चलचित्र क्षेत्रका चर्चित चलचित्रकर्मी महोत्सवमा अतिथिको रूपमा सहभागी हुने आयोजकले जनाएको छ।

महोत्सव आयोजक समितिका सदस्य फूलमान बलका अनुसार चार दिनसम्म चलचित्र प्रदर्शनसँगै विशेष सम्मान, अन्तरक्रिया, चलचित्र कार्यशाला, प्यानल छलफल तथा अन्तर्राष्ट्रिय नेटवर्किङ कार्यक्रम सञ्चालन गरिनेछ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 0   +   4   =