Breaking News
मलेसिया श्रमिक ठगी प्रकरणमा पूर्वमन्त्री कुँवर र यादवसहित ६ जना पक्राउ

काठमाडौं — मलेसिया जाने नेपाली श्रमिकमाथि भएको ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धानका लागि दुई पूर्वमन्त्रीसहित ६ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादव रहेका छन्। त्यस्तै, मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुख (सहसचिव) उमेश ढुङ्गाना र राजीव पोखरेल तथा तत्कालीन कानून अधिकृत (उपसचिव) निर्मला गुरुङ पक्राउ परेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र तथा विकास रानाभाटसमेतको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा उनीहरूलाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार मलेसिया सरकार र नेपाल सरकारबीच भएको समझदारीपत्र (एमओयू) विपरीत गैरकानूनी रूपमा ठगी गरी संकलन गरिएको रकम मलेसिया पठाउने निर्णय प्रक्रियामा उनीहरू संलग्न रहेको आरोप छ।

उक्त प्रकरणमा अमेरिकी डलर ८३ लाख ७० हजार ४३९ र बेलायती पाउन्ड ३७ लाख १७ हजार ९८० गरी कुल एक अर्ब ६९ करोड दुई लाख २४ हजार २६ रुपैयाँ ७६ पैसा बराबरको रकम गैरकानूनी रूपमा संकलन तथा विदेश पठाइएको प्रहरीको दाबी छ।

सम्झौताको दायरा र कानूनी प्रक्रिया मिचेर अधिकार क्षेत्रभन्दा बाहिर गई विदेशी मुद्रा अपचलन गराइएको तथा यसबाट मुलुकको विदेशी मुद्रा सञ्चितिमा नोक्सानी पुगेको आरोप पक्राउ परेका व्यक्तिमाथि लगाइएको छ।

श्रमिकमाथि संगठित रूपमा ठगी भइरहेको अवस्थामा सम्बन्धित पदाधिकारीहरूले कानूनी उपचारको प्रक्रिया अघि नबढाई गैरकानूनी रूपमा संकलित रकम मलेसिया पठाउने निर्णयमा भूमिका खेलेको आरोपसमेत छ।

काठमाडौं जिल्ला अदालत, बबरमहलबाट २०८३ मंसिर २ गते पक्राउ पुर्जी जारी गर्ने अनुमति लिएपछि उनीहरूलाई काठमाडौं, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका सबैमाथि ठगीसम्बन्धी कसुर तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान भइरहेको छ।

ठगी तथा संगठित अपराध सम्बन्धी कसूरमा संलग्न व्यक्तिहरु पक्राउ (2083-08-02)

यो पनि पढ्नुहोस् :  भैँसेमा सुमो दुर्घटना, तीन जनाको मृत्यु

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 6   +   5   =