पोखरामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १२ जना घाइते
काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–२३ स्थित दुण्डेफाँटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।
घाँटीछिनाबाट पोखरातर्फ आउँदै गरेको ग ४ च १३४४ नम्बरको जिप गए राति करिब पौने १० बजे अनियन्त्रित भई दुर्घटनामा परेको हो।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरी उपचारका लागि जीएमसी अस्पताल पुर्याइएको थियो।
कास्कीका प्रहरी निरीक्षक रामजी देवकोटाका अनुसार दुर्घटनामा परी घाइते भएका पर्वत घर भई हाल पोखरा महानगरपालिका–२४, पामे बस्ने २३ वर्षीय मिलन गुरुङको उपचारका क्रममा मृत्यु भएको हो। उनलाई आज बिहान करिब पौने ३ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनामा घाइते हुनेमा घाँटीछिनाका १५ वर्षीय विवेक बिक, चैनपुरका १६ वर्षीय विवस पराजुली र पोखरा–२३ का १४ वर्षीय अमित सुनार रहेका छन्।
त्यस्तै, घाइते हुनेमा १८ वर्षीया अनिशा नेपाली, १२ वर्षीय उज्ज्वल सुनार, ११ वर्षीय निशान नेपाली, १४ वर्षीय सन्देश नेपाली, २० वर्षीया मुस्कान गुरुङ, १२ वर्षीय आसिस सुनार, १३ वर्षीय सन्जल सुनार, १९ वर्षीया निसा नेपाली र २० वर्षीय दिपिन खत्री रहेका छन्।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=23056, citypokhara.com
