तिहारको तेस्राे दिन आज गाईपूजा गरिँदै
काठमाडौं । हिन्दू धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व तिहारअन्तर्गत आज तेस्राे दिन गाईपूजा गरी मनाइँदैछ। यस अवसरमा बिहानैदेखि घरघरमा गाईलाई स्नान गराएर टीका, माला तथा फूलले सजाउँदै पूजा गर्ने र मीठा परिकार खान दिने परम्परा छ।
हिन्दू धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार गाईलाई गौमाताका रूपमा सम्मान गरिन्छ। गाईबाट दूध, दही, घिउ, गोबर र गहुँत प्राप्त हुने भएकाले धार्मिक अनुष्ठानमा समेत यसको विशेष महत्त्व रहँदै आएको छ। आमाको दूधसरह पोषिलो दूध दिने विश्वासका कारण पनि गाईलाई मातृत्व र समृद्धिको प्रतीकका रूपमा लिइन्छ।
धार्मिक विश्वासअनुसार विधिपूर्वक गाईको पूजा गरी मीठा परिकार खान दिँदा पुण्य प्राप्त हुने मान्यता छ। नेपालका केही स्थान तथा समुदायमा कात्तिक कृष्ण औँसीकै दिन गाईपूजा गर्ने चलन रहे पनि शास्त्रीय मान्यताअनुसार औँसीको अन्त्य र प्रतिपदाको सुरुआतमा गाईपूजा गर्ने परम्परा छ।
वैदिक सनातन हिन्दू धर्मावलम्बीमा विभिन्न धार्मिक कार्य तथा संस्कारका अवसरमा गाईदान गर्ने चलनसमेत छ। पछिल्लो समय सहरी क्षेत्रमा गाईको उपलब्धता कम हुँदै गएपछि गाईको प्रतीकात्मक संकल्प गरी रकम राख्ने प्रचलन बढ्दै गएको धर्मशास्त्रका जानकार प्रा.डा. रामचन्द्र गौतमले बताएका छन्।
गाईलाई नेपालमा राष्ट्रिय जनावरका रूपमा समेत सम्मान गरिएको छ। धार्मिक मान्यताअनुसार साउन शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपछि गाईले वैतरणी नदी पार गराएर स्वर्ग पुर्याउन सहयोग गर्ने विश्वास रहिआएको छ।
यसरी धार्मिक आस्था, सांस्कृतिक परम्परा र गाईप्रतिको सम्मान प्रकट गर्दै देशभर आज गाईपूजा मनाइँदैछ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=23015, citypokhara.com
