Breaking News
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सफल बनाउन प्रधानमन्त्री शाहको आह्वान

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानलाई सफल बनाउन सबै पक्षसँग सक्रिय सहभागिता र ऐक्यबद्धताका लागि आह्वान गर्नुभएको छ ।

प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने यस वर्षको अभियान नेपालमा पनि विभिन्न कार्यक्रमसहित सुरु भएको सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै उहाँले लैङ्गिक हिंसाको अन्त्यका लागि सबैको साझा प्रतिबद्धता आवश्यक रहेको बताउनुभएको हो ।

संयुक्त राष्ट्रसङ्घले यस वर्ष ‘लैङ्गिक हिंसाविरुद्ध एकजुट होऔँ : न्याय सुनिश्चित गरौँ, पीडितको संरक्षण गरौँ र दण्डहीनताको अन्त्य गरौँ’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ अभियान सञ्चालन गरेको छ ।

नेपालमा भने ‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता : पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने राष्ट्रिय नारासहित अभियान सञ्चालन हुँदैछ ।

प्रधानमन्त्री शाहले लैङ्गिक हिंसालाई मानव अधिकारको गम्भीर उल्लङ्घन र समतामूलक समाज निर्माणको प्रमुख चुनौतीका रूपमा उल्लेख गर्नुभएको छ ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सीमान्तकृत समुदाय यसबाट बढी प्रभावित हुने गरेको उल्लेख गर्दै उहाँले डिजिटल माध्यमबाट हुने हिंसा पनि थप चुनौतीका रूपमा देखिएको बताउनुभएको छ ।

संविधानको मर्मअनुरूप समानता, सामाजिक न्याय र समावेशितालाई व्यवहारमा रूपान्तरण गर्न सबै प्रकारका हिंसाको रोकथाम, पीडितको संरक्षण, न्यायमा पहुँच र दोषीलाई कानुनी कारबाही सुनिश्चित गर्नुपर्ने उहाँको भनाइ छ ।

सरकारले लैङ्गिक हिंसाप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्दै कानुनी तथा संस्थागत व्यवस्था सुदृढीकरण, महिलाको सशक्तीकरण, बालिका शिक्षाको प्रवर्द्धन तथा पीडितको संरक्षण र पुनःस्थापनालाई प्राथमिकता दिएको प्रधानमन्त्री शाहले सन्देशमा उल्लेख गर्नुभएको छ ।

यस वर्ष भोटेकोशी क्षेत्रमा गएको बाढीले पुर्‍याएको क्षतिका सन्दर्भमा विपद्का समयमा लैङ्गिक हिंसाको जोखिम बढ्न सक्ने भएकाले विशेष सतर्कता अपनाउन पनि उहाँले आग्रह गर्नुभएको छ ।

अभियानलाई सफल बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्था, नागरिक समाज, निजी क्षेत्र, सञ्चारमाध्यम, राजनीतिक दल, अभियन्ता र आम नागरिकको सक्रिय सहभागिता तथा ऐक्यबद्धताका लागि उहाँले आह्वान गर्नुभएको छ ।।