बर्दिबासमा क्षयरोगीको सङ्ख्या उच्च « रिपोर्टर्स नेपाल

महोत्तरी, २० भदौ । महोत्तरीको सुदूर उत्तरवर्ती बर्दिबास नगरपालिका क्षेत्रमा क्षयरोगीको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्ला १३ महिना अवधिमा यस नगर क्षेत्रमा एक सय ४५ जना नयाँ क्षयरोगी पहिचान गरिएका छन् । यो २०८१ साउन १ गतेदेखि २०८२ साउन मसान्तसम्मको आँकडा हो ।
नगर कार्यपालिकाको कार्यालयको स्वास्थ्य शाखाले बस्तीबस्तीमा सञ्चालन गरेको जाँच अभियानमा यसपालि एक सय ४५ जना नयाँ क्षयरोगी पहिचान गरिएका हुन् । नगरपालिकाका १४ वटा वडामध्ये यो रोगले वडा नं ८ लाई बढी प्रभावित गरेको पाइएको स्वास्थ्य शाखाका प्रमुख तथा वरिष्ठ जनस्वास्थ्य निरीक्षक सुरेश पासवानले जानकारी दिए । वडा नं ८ को हाथीलेटका टोलबस्तीमा यसपालि २२ जना नयाँ क्षयरोगी पहिचान गरिएका नगर स्वास्थ्य शाखाले जनाएको छ ।
बर्दिबास नगरपालिका–७ र ११ मा गरी केही दिनअघिमात्र तीन जनाको मृत्यु भएपछि यहाँ सघन जाँच (स्क्रिनिङ) अभियान सुरु गरिएको हो । यसपालि सबैभन्दा बढी क्षयरोगी पहिचान गरिएको बर्दिबास–८ मा सञ्चालित शिविरमा अत्याधुनिक प्रविधिबाट नयाँ एक सय २३ जनाको खकार, रगत परीक्षण गरिएको छ ।
जसमा २८ जनामा क्षयरोगको सङ्क्रमण भएको हुनसक्ने स्वास्थ्यकर्मीले बताएका छन् । थप जाँचबाट यसको एकिन हुने नगर स्वास्थ्य शाखाले जनाएको छ । शङ्कास्पद २८ जनाको खकार, रगत जाँचका लागि प्राथमिक स्वास्थ्य केन्द्र गौशाला पठाइएको छ । शिविर बागमती सेवा समाज र नगर स्वास्थ्य शाखा बर्दिबासले संयुक्त रूपमा चलाएका हुन् ।
क्षयरोगी बढी पहिचान भएका हाथीलेटमा मगर, तामाङ जाति समुदायको सघन बसोबासका बस्ती छन् । यहाँ घरेलु मदिराको अत्यधिक सेवन, स्वास्थ्य सचेतनाको कमी र पौष्टिक आहारको अभावले क्षयरोगी बढेका हुनसक्ने स्वास्थ्यकर्मीको आकलन छ ।
सरकारले सन् २०५० सम्म मुलुकलाई क्षयरोगमुक्त बनाउने सङ्कल्प लिएको छ । पहिलेका क्षयरोगीको उपचार गर्दै जाँदा रोग निको भए पनि नयाँ थपिने सङ्ख्या डरलाग्दो देखिएपछि सरकारको सङ्कल्प पूरा गर्ने पक्ष झन् चुनौतीपूर्ण बनेको स्वास्थ्यकर्मी नै बताउँछन् । शिविरको आयोजनाले रोग पहिचान गर्न सहयोग पुगेको हुँदा उपचार समयमै पाउने स्थिति बन्नु भने सकारात्मक भएको यहाँका बुद्धिजीवीको मत छ । रासस
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ भाद्र २८, शनिबार ०९:३५नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत, मोदीले दिए बधाई
समाचार२०८२ भाद्र २७, शुक्रबार २३:२४नवनियुक्त प्रधानमन्त्री कार्की: ‘निडर स्वभाव र सरल जीवनशैलीको पर्याय’
समाचार२०८२ भाद्र २७, शुक्रबार १२:०३निर्वाध रुपमा पेशा व्यवसाय गर्न पाउने सुनिश्चितताका लागि सुरक्षा प्रदान गरिदिन महासंघको माग
समाचार२०८२ भाद्र २६, बिहीबार २१:३१धादिङमा चार ठूला दलको संयुक्त विज्ञप्ति : संविधान र लोकतान्त्रिक प्रक्रियामार्फत निकास