नेपाली काँग्रेस बागमती प्रदेशको पूर्ण बैठक आजदेखि नगरकोटमा

नेपाली काँग्रेस बागमती प्रदेशको पूर्ण बैठक आजदेखि नगरकोटमा

भक्तपुर –  नेपाली काँग्रेस बागमती प्रदेश कार्यसमितिको १३औँ पूर्ण बैठक आजदेखि भक्तपुरको नगरकोटमा सुरु हुँदै छ । राजनीतिक एजेन्डासँगै नगरकोटको पर्यटन प्रवर्द्धनलाई लक्षित गरी बैठक पर्यटन क्षेत्रमै आयोजना गरिएको नेपाली काँग्रेस भक्तपुरले जनाएको छ । जेनजी आन्दोलनपछिको राजनीतिक परिस्थितिमा काँग्रेसको स्पष्ट धारणा सार्वजनिक गर्ने र आसन्न केन्द्रीय कमिटी बैठकका लागि सुझाव तय गर्ने उद्देश्यसहित बैठक बस्न लागेको पार्टी जिल्ला सभापति दुर्लभ थापाले बताउनुभयो । उहाँले पार्टी निष्क्रिय रहेको भनी टिप्पणी गर्ने नेताहरूलाई वडादेखि जिल्लासम्म सङ्गठन सक्रिय रूपमा काम गरिरहेको सन्देश दिन पनि यो बैठक उपयोगी हुने धारणा राख्नुभयो ।

बागमती प्रदेशको बैठकपछि काँग्रेसलाई एक ढिक्का बनाउने उद्देश्यसहित ७७ वटै जिल्लाका जिल्ला सभापतिहरूको भेला पनि भक्तपुरमै आयोजना गर्ने तयारी भएको उहाँको भनाइ छ । हालै केही महामन्त्रीहरूले महाधिवेशनको नाममा अस्थिरता सिर्जना गर्ने प्रयास गरेको आरोप लगाउँदै थापाले नेतृत्वको होडभन्दा पार्टी बलियो बनाउने काम प्राथमिक हुनु पर्ने तर्क गर्नु भयो । पार्टी सङ्गठन चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको बताउँदै उहाँले नगरकोटमा बस्ने बैठकले सङ्गठन मजबुत पार्नुका साथै आगामी चुनावको तयारीमा स्पष्ट सन्देश दिने विश्वास व्यक्त गर्नुभयो । प्रदेश सभापति इन्द्र बानियाँको अध्यक्षतामा बस्ने बैठकले नयाँ राजनीतिक सन्देश दिने बैठक आयोजक समिति संयोजक एवं बागमती प्रदेशका पूर्व मन्त्री कृष्णलाल भँडेलले जानकारी दिनुभयो । बैठकको उद्घाटन भने पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गर्नुहुने छ ।

बैठकमा प्रदेश कार्यसमितिका १३० जना सदस्य, प्रदेश सभाका ३७ सदस्य र १३ जिल्लाका जिल्ला सभापतिसहित करिब १८० जनाको सहभागिता रहने काँग्रेस भक्तपुरले जनाएको छ । उद्घाटन कार्यक्रममा आज बिहान ११ बजे मध्यपुरथिमिको शखधर साख्वाःको सालिकमा परिक्रमा गरेपछि ४ सयभन्दा बढी मोटरसाइकलसहितको र्‍याली नगरकोटतर्फ प्रस्थान गर्ने छ । धिमे बाजा र सांस्कृतिक झाँकीसहित कार्यक्रम स्थलमै औपचारिक उद्घाटन हुनेछ ।

नगरकोटमा सुरु काँग्रेस बागमती प्रदेशको पूर्ण बैठक संगठनिक सन्तुलन, आन्तरिक असन्तोष र प्रदेश–केन्द्र सत्ता–सन्तुलनको गहिरो राजनीतिक अर्थ दिने बताइएको छ । जेनजी आन्दोलन, राजनीतिक वित्तीय पारदर्शिता, डिजिटल पार्टी संरचना जस्ता विषयमा केन्द्रीय समितिलाई ‘नीतिगत सुझाव–पत्र’सहित बैठकको सन्देश पठाइने बैठक आयोजक समितिले जनाएको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 10   +   2   =  

Protected by Spam Master