न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा आयुर्वेद चिकित्सालय धादिङलाई ६८.४८ अंक

धादिङबेशी, २९ फागुन । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय धादिङले न्यूनतम सेवा मापदण्ड (Minimum Service Standards) मूल्याङ्कनमा ६८.४८ अंक प्राप्त गरेको छ।
बागमती प्रदेश स्वास्थ्य निर्देशनालयको टोलीले शुक्रबार सम्पन्न गरेको सेवा मापदण्ड मूल्याङ्कनमा चिकित्सालयले सुशासन तथा व्यवस्थापनतर्फ ६४.१० प्रतिशत, क्लिनिकल सेवा व्यवस्थापनतर्फ ७३.४९ प्रतिशत तथा सहयोगी सेवाको व्यवस्थापनतर्फ ५७.८५ अंक प्राप्त गरेको हो। सहयोगी सेवाअन्तर्गत स्वास्थ्य संस्थामा प्रयोग हुने सरसफाइ, सुरक्षा, प्रशासनिक तथा प्राविधिक सहयोगसम्बन्धी सेवाहरू समावेश छन्।
स्वास्थ्य संस्थाको गुणस्तर सुधार, सेवा प्रवाहको वास्तविक अवस्था पहिचान, समस्याको विश्लेषण तथा सुधारका विकल्पहरूको खोजी गर्न न्यूनतम सेवा मापदण्ड मूल्याङ्कन गरिएको हो। यसले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय कायम गर्दै तथ्यमा आधारित योजना निर्माण र कार्यान्वयनमा सहयोग पुर्याउने उद्देश्य राखेको छ।
मूल्याङ्कनका क्रममा आयुर्वेद अस्पतालका सकारात्मक पक्षहरू पनि पहिचान गरिएका छन्। चिकित्सा सेवा तोकिएको समयभन्दा ढिलासम्म सञ्चालन हुने गरेको, सञ्चालन तथा व्यवस्थापन समिति सक्रिय रहेको, आन्तरिक आयका स्रोत परिचालन गरिएको तथा नियमित रिपोर्टिङ र अनुगमनको व्यवस्था राम्रो रहेको उल्लेख गरिएको छ।
त्यस्तै ओपीडी सेवा व्यवस्थित रूपमा सञ्चालनमा रहेको, विशेषज्ञ चिकित्सकसहित पर्याप्त चिकित्सक उपलब्ध रहेको तथा पूर्वकर्म, पञ्चकर्म र अकुपञ्चर सेवा नियमित रूपमा सञ्चालन भइरहेको पाइएको छ। साथै वर्षभरि पुग्ने आवश्यक निःशुल्क औषधि फार्मेसीमा उपलब्ध रहेको पनि मूल्याङ्कन टोलीले जनाएको छ।
मूल्याङ्कन टोलीले आगामी दिनमा फिजियोथेरापी सेवा सञ्चालन, आयुर्वेद चिकित्सक लगायत रिक्त पदहरूको पदपूर्ति तथा नयाँ चिकित्सालय भवन निर्माण गरी सुविधा सम्पन्न भवनबाट सेवा प्रवाह गर्न सुझाव दिएको छ।
न्यूनतम सेवा मापदण्ड मूल्याङ्कन आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नुवाकोटका कन्सल्टेन्ट डा. नरेन्द्र प्रसाद गिरी, स्वास्थ्य निर्देशनालयका ल्याब टेक्निसियन सुशील आचार्य, कविराज निरीक्षक विनोद कुमार शाह र एमएसएस अफिसर वविता रेग्मी लगायतको विज्ञ टोलीले गरेको थियो।
कार्यक्रमको सार्वजनिकरण कार्यक्रममा नीलकण्ठ नगरपालिका वडा न ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठ, जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख अर्जुन पौडेल, धादिङ अस्पतालका निमित्त अस्पताल निर्देशक त्रिभुवनचन्द्र झा, सेवाग्राही तथा नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
समापन समारोहमा बोल्दै आयुर्वेद चिकित्सालय धादिङका अध्यक्ष बद्री प्रसाद कोईरालाले मूल्याङ्कनबाट प्राप्त सुझावलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्दै आगामी दिनमा आयुर्वेद स्वास्थ्य सेवा अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
कार्यक्रमका केहि झलकहरु
लेखकको बारेमा
![]()
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना
समाचार२०८३ जेष्ठ १, शुक्रबार २०:२४५१ किलो अफिमसहित १ जना पक्राउ
समाचार२०८३ जेष्ठ १, शुक्रबार १८:५९धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
खेलकुद२०८३ जेष्ठ १, शुक्रबार १५:३६राखेपले फुकुवा गर्यो एन्फामाथिको निलम्बन








