वर्ल्ड नेवाः डेकाे अवसरमा पत्रकार द्वय स्थापित र विजयरत्न पुरस्कृत

काठमाडौँ । विश्वभर रहेका नेवाः समुदायले संयुक्त रूपमा प्रत्येक वर्ष मार्च महिनाको अन्तिम शनिबार मनाउँदै आएको ‘हलिं नेवाः दिवस’ (वर्ल्ड नेवाः डे) का अवसरमा यस वर्ष साहित्य तथा पत्रकारिता क्षेत्रका अग्रजहरू सम्मानित भएका छन्। वरिष्ठ साहित्यकार तथा पत्रकार रमेशकाजी स्थापितलाई ‘भिम तुलसी नेपालभाषा पत्रकारिता सिरपाः’ र सञ्चार क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका सिने पत्रकार विजयरत्न तुलाधर असंबरेलाई ‘हरिश्चन्द्र लुमन्ति सिरपाः’ प्रदान गरिएको हो।
यस वर्ष नवौँ हलिं नेवाः दिवस मार्च २८ शनिबार परेको थियो। ‘विश्वभर जहाँ रहे पनि हामी नेवाः’ भन्ने नारासहित मनाइएको उक्त दिवसको मुख्य समारोह काठमाडौँको बसन्तपुरमा सम्पन्न भएको हो। कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी कार्यवाहक नगर प्रमुख सुनिता डंगोल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो भने कार्यक्रम हलिं नेवाः दबू नेपाः मू कवःका अध्यक्ष रमेशमान मुनिकारको सभापतित्वमा सम्पन्न भएको थियो।
उक्त समारोहमा नेवाः समुदायको भाषा, संस्कृति, कला, व्यापार तथा विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूलाई विभिन्न विधाका सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। यस क्रममा लोकप्रिय गायिका तथा संगीतज्ञ रिता महर्जनलाई ‘रमेश ताम्राकार लुमन्ति सिरपाः’, वरिष्ठ नाट्यकर्मी वीणा जोशी राजभण्डारीलाई ‘सबिता महर्जन मुनिकार लुमन्ति सिरपाः’, संगीतकार जुगल डंगोललाई ‘जयराम श्रेष्ठ लुमन्ति सिरपाः’ तथा रिता दुवाललाई ‘अमृता शाक्य सिर्जना सिरपाः’ प्रदान गरिएको थियो। त्यस्तै, एनआरएनए उपाध्यक्ष रोजिना प्रधान राईलाई विशेष पुरस्कारबाट सम्मान गरिएको थियो।
त्यसैगरी, विभिन्न क्षेत्रमा योगदान पुर्याउने अन्य व्यक्तित्वहरू पर्यटन व्यवसायी योगेन्द्र शाक्य, कार्डियोलोजिस्ट डा. राजेन्द्र कोजु, फिल्मका एक्सन निर्देशक राजेन्द्र खड्गी, फिल्मकर्मी रजिला श्रेष्ठ, होटल व्यवसायी संगीता श्रेष्ठ, उद्योगी प्रदीपकुमार श्रेष्ठ, गणेश भैरव व्यवस्थापन समिति, भाषाविद् विष्णु चित्रकार, सगरमाथा आरोही पूर्णिमा श्रेष्ठ तथा प्रतिनिधिसभा सदस्य भूमिका श्रेष्ठलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो।
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि सुनिता डंगोलले विश्वभर फैलिएको नेवाः समुदायबीचको एकता र सांस्कृतिक सम्बन्धको प्रशंसा गर्नुभयो। त्यसैगरी, हलिं नेवाः दबूका केन्द्रीय संरक्षक तथा नेपालभाषा एकेडेमीका चान्सलर मल्ल के. सुन्दरले यस दिवसको निरन्तरता र यसको महत्वबारे चर्चा गर्नुभयो।
कार्यक्रमका सभापति रमेशमान मुनिकारले स्वागत मन्तव्य राख्नुभएको थियो भने सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठ, एनआरएनए उपाध्यक्ष रोजिना राई प्रधानलगायतका वक्ताहरूले पनि आफ्नो धारणा व्यक्त गर्नुभएको थियो। कार्यक्रमको अन्त्यमा गायक नरेनमान महर्जन, सत्यनारायण मानन्धर, सरस्वती मानन्धरलगायतका कलाकारहरूले सांगीतिक प्रस्तुति दिएका थिए।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ भाद्र २०, शनिबार २१:३४खप्तड फाल्कोन्सलाई सोझो सेटमा हराउँदै सगरमाथाले निकाल्याे दोस्रो जित
समाचार२०८३ भाद्र २०, शनिबार १८:३८भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत
कला, विचार/मनोरञ्जन२०८३ भाद्र २०, शनिबार १२:२३‘गौँथली’ ले मनायो प्रदर्शनको ५१औँ दिन » Celebrity Nepal
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र २०, शनिबार १२:०८१ हजार ३ सय ४२ जनाको शव फेला « रिपोर्टर्स नेपाल









