‘पहाड’ को ट्रेलर सार्वजनिक, नयाँ वर्षदेखि विश्वभर प्रदर्शन

‘पहाड’ को ट्रेलर सार्वजनिक, नयाँ वर्षदेखि विश्वभर प्रदर्शन

काठमाडौं । आगामी नयाँ वर्षको अवसर पारेर वैशाख १ गतेदेखि नेपालसहित विश्वभर प्रदर्शनमा आउने फिल्म ‘पहाड’ को ट्रेलर सार्वजनिक गरिएको छ ।

 

सार्वजनिक ट्रेलरमा बेरोजगारी, मानवविहीन बन्दै गएको पहाड र पानी अभावजस्ता समसामयिक विषयवस्तु चित्रण गरिएको छ । निर्देशक तथा लेखक तुलसी घिमिरेले फिल्मले अहिलेको नेपालको यथार्थ कथा प्रस्तुत गरेको बताए ।

 

‘पहाड सुन्दर ठाउँ हो । हामीले त्यसको सुन्दरता र सद्भावसँगै क्रमशः रित्तिँदै गएको गाउँको कथा देखाएका छौं,’ उनले भने, ‘यो कथा पहाडमा आधारित भए पनि समग्र देशकै चित्रण हो ।’

 

फिल्ममा दनकृष्ण श्रेष्ठ, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, सुनिल थापा, रेनुनाथ योगी, उमा गिरी, अरुण क्षेत्रीसँगै नवअभिनेत्री पञ्चमी घिमिरेको अभिनय रहेको छ । निर्देशक घिमिरेले केही वर्षको अन्तरालपछि यो कथावस्तु छनोट गरेर फिल्म निर्माण गरेको बताए ।

 

उनले मनोरञ्जनसँगै सामाजिक सन्देश दिन खोजिएको उल्लेख गर्दै ग्रामीण सौन्दर्य, युवाको विदेश पलायन र गाउँको महत्वलाई फिल्ममा समेटिएको जानकारी दिए ।

 

फिल्ममा विशेषगरी युवा जनशक्ति विदेश पलायन हुँदा खाली बन्दै गएको पहाड र त्यसले निम्त्याउने सामाजिक तथा आर्थिक समस्यालाई चित्रण गरिएको छ ।

 

भाग्यरत्न फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको ‘पहाड’ मार्फत निर्देशक घिमिरेले आफ्नी कान्छी छोरी पञ्चमी घिमिरेलाई अभिनेत्रीका रूपमा डेब्यु गराएका छन् । साथै उनकी जेठी छोरी भावना घिमिरे प्रोडक्सन डिजाइनरका रूपमा

आबद्ध छिन् । फिल्मको छायांकन प्रमोद प्रधानले गरेका हुन् । उनले यसअघि ‘अन्याय’, ‘कोसेली’, ‘चिनो’ र ‘दक्षिणा’ जस्ता फिल्ममा निर्देशक घिमिरेसँग सहकार्य गरिसकेका छन् ।

 

फिल्ममा रञ्जित सिंह गजमेरको संगीत, कविराज गहतराज र मिङमा डी लेप्चाको नृत्य निर्देशन तथा कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको छ ।

 

उत्तम रसाइली प्रस्तुतकर्ता रहेको फिल्ममा सुरेन्द्र लामा थिङ, ओजस्वी केसी, रिम्पोछे लामा थिङ, दमन्ती रसाइली र उमा गिरी निर्माता छन् भने भारती घिमिरे क्रिएटिभ निर्माता हुन् ।

 

फिल्म नेपालमा वैङ्कटेश इन्टरटेनमेन्ट र विदेशमा सेभेन सिज इन्टरनेशनल फिल्म्सले वितरण गर्नेछन् ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 3   +   8   =  

Protected by Spam Master