रौतहटमा एकैदिन पाँच सयको आँखा परीक्षण

चन्द्रपुर (रौतहट), ३१ जेठ । रौतहटमा शनिबार एकैदिन बृहत् निःशुल्क आँखा शिविर सञ्चालन गरी पाँच सयभन्दा बढी नागरिकको आँखा परीक्षण गरेको छ । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित गौर आँखा अस्पतालले आफ्नो महाअभियानअन्तर्गत तीन फरक–फरक स्थानमा आँखा परीक्षण गरेको हो ।
बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म लक्षित गरी उक्त शिविर सञ्चालन गरिएको हो । सेवा फाउन्डेसनको सहयोगमा निजी तथा सामुदायिक विद्यालयबाट छनोट गरिएका बालबालिकालाई लक्षित गरी विशेष आँखा परीक्षण कार्यक्रम समकेत सञ्चालन गरिएको थियो । गौर आँखा अस्पतालका नेत्रअधिकृत शिवकुमार यादव, दृष्टि विशेषज्ञ पुनम यादवसहित करिब १५ सदस्यीय प्राविधिक टोलीले आँखा परीक्षण, परामर्श तथा आवश्यक औषधि वितरण गरेको थियो ।
परीक्षणका क्रममा दृष्टिदोष पहिचान भएका ८३ बालबालिकालाई निःशुल्क चश्मा वितरण गरिएको नेत्रअधिकृत यादवले जानकारी दिए । उनका अनुसार समयमै दृष्टिदोषको पहिचान र उपचारले बालबालिकाको अध्ययन तथा दैनिक जीवनमा सकारात्मक प्रभाव पार्नेछ ।
यस्तै डाक फाउन्डेसनको सहयोगमा यमुनामाई गाउँपालिका–४ स्थित जनता मावि, सरुअठा तथा मौलापुर नगरपालिकाअन्तर्गत पथराबुधराम क्षेत्रमा ज्येष्ठ नागरिक लक्षित बृहत् आँखा शिविर सञ्चालन गरिएको थियो । मौलापुरमा अस्पतालकी नेत्रअधिकृत विनीता केशरी, अशोक पासवान, अर्चना सिंहलगायत १२ सदस्यीय प्राविधिक टोलीले स्थानीयको आँखा परीक्षण गरेको थियो ।
शिविरमा ४२३ ज्येष्ठ नागरिकको आँखा परीक्षण, परामर्श तथा उपचार सेवा प्रदान गरेको अस्पतालकी नेत्रअधिकृत केशरीले जानकारी दिए । शिविरका क्रममा मोतियाबिन्दु पुष्टि भएका ६८ जनालाई निःशुल्क शल्यक्रियाका लागि छनोट गरिएको उनले बताए ।
केशरीका अनुसार छनोट भएका बिरामीलाई अस्पतालसम्म ल्याउने, शल्यक्रियापछि पुनः घरसम्म पुर्याउने तथा सम्पूर्ण उपचार खर्च अस्पतालकै योजनाअन्तर्गत निःशुल्क व्यवस्था गरिएको थियो । ती बिरामीको गौर आँखा अस्पतालमा विशेषज्ञ चिकित्सकको टोलीद्वारा लेन्ससहित निःशुल्क मोतियाबिन्दु शल्यक्रिया गरिने भएको छ ।
अस्पतालका कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेयले शल्यक्रियादेखि घर फर्काउने व्यवस्थासम्म सम्पूर्ण सेवा निःशुल्क उपलब्ध गराइने बताउँदै यस्ता महाअभियानले ग्रामीण तथा विपन्न समुदायमा आँखा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न महत्त्वपूर्ण योगदान पुर्याएको बताए ।
‘हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी–आँखा सेवामा सबैको साझेदारी’ मूल नारासहित गौर आँखा अस्पतालले सञ्चालन गरिरहेको महाअभियान वर्षभरि जारी रहने अस्पतालका प्रशासक नागेश्वरप्रसाद चौधरीले जानकारी दिए । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ जेष्ठ ३१, आईतवार ११:४८अष्ट्रेलियाकाे विजयी सुरुआत « रिपोर्टर्स नेपाल
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ३१, आईतवार ११:१५रौतहटमा एकैदिन पाँच सयको आँखा परीक्षण
समाचार२०८३ जेष्ठ ३१, आईतवार ०७:५०विश्व रक्तदाता दिवसस् सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
खेलकुद२०८३ जेष्ठ ३०, शनिबार २१:०३वर्ल्डकपमा मेरो फेभरेट देशले खेलेकै छैन: प्रधानमन्त्री « रिपोर्टर्स नेपाल









