अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

काठमाडाैँ। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले संयुक्त राज्य अमेरिकामा बालबालिका खोप कार्यक्रममा व्यापक परिवर्तन गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयास दशकौँदेखिको वैज्ञानिक प्रमाणविपरीत रहेको जनाएको छ।
राष्ट्रपति ट्रम्पले सोमबार विद्यालयमा अनिवार्य गरिएका खोपसम्बन्धी नियमको पुनरावलोकन गर्न आदेश दिएका थिए । उनले दादुरा, मम्प्स र रुबेला (एमएमआर) विरुद्धको संयुक्त खोपलाई तीन छुट्टाछुट्टै मात्रामा दिनुपर्ने मागसमेत दोहोर्याएका थिए।
अमेरिकी स्वास्थ्य सचिव रोबर्ट एफ. केनेडी जुनियरले लामो समयदेखि एमएमआर खोप र अटिजमबीच सम्बन्ध रहेको दाबी गर्दै आएका छन् । वैज्ञानिक अनुसन्धानले भने खोप र अटिजमबीच कुनै सम्बन्ध रहेको पुष्टि गरेको छैन ।
डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले एमएमआरलगायत खोप सुरक्षित रहेको र त्यसले अटिजम नगराउने वैज्ञानिक प्रमाण स्पष्ट रहेको बताए।
“खोपसम्बन्धी नीति राजनीतिक प्रभावबाट नभई उपलब्ध उत्कृष्ट वैज्ञानिक प्रमाणको गहन, स्वतन्त्र र पारदर्शी समीक्षामा आधारित हुनुपर्छ,” उनले सामाजिक सञ्जाल ‘एक्स’मा लेखेका छन्।
अमेरिकी खोप नीतिमा हालै गरिएका परिवर्तन दशकौँदेखिको प्रमाणसँग मेल नखाएकोमा डब्ल्यूएचओ चिन्तित रहेको उनले बताए। उक्त प्रमाणले बालबालिका कुन समयमा विभिन्न रोगको बढी जोखिममा हुन्छन् भन्ने देखाउने उनको भनाइ छ ।
टेड्रोसका अनुसार बालबालिकालाई खोपबाट बलियो सुरक्षा प्रदान गर्न आवश्यक मात्रा र एकैपटक दिन मिल्ने खोपबारे वैज्ञानिक प्रमाणलाई ध्यान दिनुपर्छ । विश्वभरबाट नयाँ तथ्याङ्क प्राप्त हुँदै गएसँगै खोपसम्बन्धी प्रमाणको निरन्तर समीक्षा गरिने उनले बताए।
खोप दिन अनावश्यक ढिलाइ गर्ने वा विभिन्न खोपको मात्रा छुट्टाछुट्टै दिने कार्यले खोपलाई सुरक्षित नबनाउने भन्दै उनले यसबाट बालबालिका रोगको जोखिममा पर्न सक्ने चेतावनी दिए।
केनेडीले दशकौँदेखि प्रयोग हुँदै आएका खोपसहित विभिन्न खोपको व्यापक समीक्षा अघि बढाएका छन्। उनले बालबालिकाको खोप तालिकामा परिवर्तन गर्नुका साथै नयाँ खोप विकासका लागि दिइने बजेटमा कटौती गरेका छन्। यी कदमको अमेरिकी तथा अन्तरराष्ट्रिय चिकित्सा र वैज्ञानिक समुदायले आलोचना गरेको छ ।
यस वर्षको सुरुमा अमेरिकी अदालतले केनेडीले अघि बढाएका केही खोप नीतिसम्बन्धी परिवर्तन रोकिदिएको थियो।रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण २७, बुधबार २१:००अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति
समाचार२०८३ श्रावण २७, बुधबार २०:५१प्रश्न उठ्नै नदिने गरी काम गर्न युवाहरुलाई रास्वपा सभापतिको आग्रह
समाचार२०८३ श्रावण २७, बुधबार २०:३०धादिङका युवाको १५ बुँदे घोषणापत्र सार्वजनिक, युवालाई विकासका साझेदार र नेतृत्वकर्ताका रूपमा स्वीकार गर्न माग
कला, विचार/मनोरञ्जन२०८३ श्रावण २७, बुधबार ०९:०४पुजन काफ्लेको तीज गीत ‘तीजको लहरा आउँदा बरीलै’ सार्वजनिक









