‘पेन्सन पट्टा’ नेपाली समाजकै कथा हो : दयाहाङ राई

पोखरा । अभिनेता दयाहाङ राईले चलचित्र ‘पेन्सन पट्टा’ नेपाली समाजकै कथा भएकाले यसले दर्शकलाई आफ्नै जीवन र परिवेशसँग जोड्ने विश्वास व्यक्त गरेका छन्।
भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्रबारे जानकारी दिन चलचित्र पत्रकार संघ नेपाल कास्कीले बुधबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा राईले ‘पेन्सन पट्टा’ले प्रेम, भावना, सम्बन्ध र समाजको संरचनालाई सरल ढंगले प्रस्तुत गरेको बताए।
चलचित्रमा आफूले निर्वाह गरेको पात्रको लाउरे परिवारसँग व्यक्तिगत पारिवारिक सम्बन्ध नरहेको स्पष्ट पार्दै उनले छिमेक र नेपाली समाजमा लाउरे परिवारका धेरै कथा रहेको बताए।
“लाउरेसँग मेरो पारिवारिक सम्बन्ध छैन। तर छिमेक र नेपाली समाजमा लाउरे परिवारका कथा धेरै छन्,” उनले भने।
तीस–चालीस वर्षअघिको नेपाली समाजमा पेन्सन पट्टाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै राईले भूतपूर्व गोर्खालीहरूले समाज र देशका लागि दिएको योगदान स्मरणीय रहेको बताए। उनका अनुसार ‘पेन्सन पट्टा’ एउटा परिवारको मात्र कथा नभई नेपाली समाजभित्रका कथा र मनोविज्ञानलाई प्रतिनिधित्व गर्ने चलचित्र हो।
“पेन्सन पट्टा हरेक समाजको कथा हो। यसले इमोसन, प्रेम र समाजको स्ट्रक्चरलाई बोल्छ,” राईले भने, “हराएको पेन्सन पट्टा खोज्नु र त्यससँगै समाजको परिवेशलाई बोल्नु चलचित्रको विशेषता हो।”
जीवनको उद्देश्य, प्रेम र सम्बन्धलाई महसुस गर्दै अघि बढ्ने नेपाली समाजको कथा चलचित्रले प्रस्तुत गरेको उनको भनाइ छ। सिनेमाका चरित्रमार्फत नेपाली समाजका विभिन्न मनोविज्ञान बुझ्न पाउनु आफ्ना लागि सुखद पक्ष भएको उनले बताए।
“सिनेमाको चरित्रमार्फत आम नेपाली समाजलाई थोरै भए पनि बुझ्न पाएको छु। पेन्सन पट्टा निकै सरल रूपमा प्रस्तुत गरिएको कथा हो। हरेक वर्गका मानिसले बुझ्न सक्छन् र आफ्नो घरको व्यथा मान्न सक्छन्,” उनले भने।
आफूलाई लेखनमा रुचि भए पनि तत्काल निर्देशनमा जाने आँट नगरेको राईले बताए। “लेखन मन पर्छ, तर आँट्न सकिरहेको छैन। अहिलेलाई काम नै गरौँ भन्ने लाग्छ,” उनले भने।
आम नेपाली परिवारको विषयवस्तु
चलचित्रका लेखक तथा निर्देशक माओत्से गुरुङले आमाको पेन्सन नपाउँदा नेपाली समाजका धेरै परिवारले भोगिरहेको समस्यालाई चलचित्रको कथाको आधार बनाइएको बताए।
गोर्खालीको निधनपछि परिवारले पेन्सनबापत पाउने सुविधा सहज रूपमा प्राप्त गर्न नसक्दा उत्पन्न हुने समस्या, पारिवारिक उतारचढाव र सामाजिक परिवेशलाई चलचित्रमा प्रस्तुत गरिएको उनको भनाइ छ।
“आमाको पेन्सन नमिल्दा समाजका धेरै परिवारमा समस्या छ। त्यसलाई चलचित्रमार्फत प्रस्तुत गर्नुपर्छ जस्तो लाग्यो र कथा बन्यो,” गुरुङले भने, “यो आम समुदायको कथा हो। पेन्सन पट्टा तपाईँ–हाम्रै समाजको विषयवस्तु हो।”निर्देशक गुरुङले आफ्नै परिवेशको कथालाई इमानदारीपूर्वक चलचित्रमा प्रस्तुत गरिएको बताए।
चलचित्रकी अभिनेत्री सोल गुरुङले कथा मन परेकै कारण आफू चलचित्रमा जोडिएको बताइन्। सानैदेखि आफूले हेर्दै आएका अभिनेता दयाहाङ राईसँग काम गर्न पाउनु सुखद अनुभव भएको उनको भनाइ छ। चलचित्र राम्रो बनेकाले दर्शकले रुचाउने विश्वास उनले व्यक्त गरिन्।
अभिनेत्री मनिका गुरुङले पनि चलचित्रको विषयवस्तुले आफूलाई आकर्षित गरेको बताइन्। समयसापेक्ष विषय भएकाले दर्शकले चलचित्र रुचाउनेमा आफू विश्वस्त रहेको उनले बताइन्।
चलचित्र पत्रकार संघ नेपाल कास्कीका अध्यक्ष सन्तोष बस्यालले चलचित्रको प्रचारप्रसारमा सहयोग गर्न सञ्चारकर्मीलाई आग्रह गरे। नेपाली समाजकै कथा भएकाले तथा पोखराको ताङतिङ र आसपासका क्षेत्रमा छायाङ्कन गरिएकाले चलचित्रको विषय समाजसम्म पु¥याउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने उनले बताए।
दयाहाङ राई, गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, स्वर्गीय सुुनिल थापा, माया गुरुङ, विश्वास गुरुङ, सोल गुरुङ, मनिका गुरुङ, डिभी गुरुङ, पञ्चसुब्बा गुरुङ (दिलु) लगायतका कलाकारको अभिनय रहेको ‘पेन्सन पट्टा’ भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22363, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन १९, सोमबार १६:४९कांग्रेस केन्द्रीय सदस्यमा सुदर्शन शर्मा : ‘व्यक्ति होइन, विचारको बहस गरौँ’
समाचार२०८३ आश्विन १८, आईतवार १५:०५कास्की आइडल–२ को सेमिफाइनल सम्पन्न, गायन र नृत्यतर्फ १०–१० जना फाइनलमा
समाचार२०८३ आश्विन १८, आईतवार ११:१५आप्रवासी स्रोत केन्द्रका परामर्शकर्मीलाई तनाव व्यवस्थापन तालिम
समाचार२०८३ आश्विन ७, बुधबार १४:४१दलित अधिकार तथा विकास विधेयकमाथि पोखरामा सुझाव संकलन








