विपद्को मैदानमा देखेको र भोगेको यथार्थ

विपद्को मैदानमा देखेको र भोगेको यथार्थ

विपद्को कुरा गर्दा हामी प्रायः भूकम्प, बाढी, पहिरो, आगलागी वा डुबानजस्ता घटनालाई सम्झन्छौँ ।  तर विपद् केवल एउटा घटना होइन, यो मानिसको जीवन, परिवार, सम्पत्ति, सपना र भविष्यलाई एकैछिनमा प्रभावित पार्ने कठोर अवस्था हो । मैले विपद् व्यवस्थापनको क्षेत्रमा काम गर्ने क्रममा यसलाई कागजमा पढेको विषयभन्दा धेरै फरक रूपमा महसुस गरेको छु ।  विपद्को वास्तविकता घटना घटेको ठाउँमा पुगेर, पीडितको आँखामा हेरेर र उद्धार प्रतीक्षामा रहेका मानिससँग उभिएर मात्र बुझ्न सकिन्छ ।

नेपाल विश्वकै उच्च विपद् जोखिम भएका मुलुकमध्ये एक हो । विशेषगरी जलवायु परिवर्तनको असर र जोखिमका हिसाबले नेपाल निकै संवेदनशील मानिन्छ । जर्मनवाचले प्रकाशित गरेको क्लाइमेट रिस्क इन्डेक्स–(सीआरआई)ले सन २०१७ मा सार्वजनिक गरेको रिपोटमा जलवायु परिवर्तनको कारण  जोखिम देशहरुको सूचीमा चौथो स्थानमा नेपाललाई राखेको छ ।

हिमालदेखि तराईसम्म फैलिएको भौगोलिक विविधता, जलवायु परिवर्तनको बढ्दो प्रभाव, अव्यवस्थित बस्ती विकास तथा कमजोर पूर्वाधारका कारण नेपाल विभिन्न प्रकारका प्राकृतिक तथा मानवजन्य विपद्को जोखिममा रहेको छ ।

सन् २०१५ को गोरखा भूकम्पले करिब ८,९०० भन्दा बढी नागरिकको ज्यान लियो, २२ हजारभन्दा बढी घाइते भए र करिब ८ लाख घर तथा संरचनामा क्षति पुग्यो। भूकम्पपछिको पुनर्निर्माणले नेपाललाई विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा दिगो पूर्वाधार निर्माणको महत्व अझ स्पष्ट रूपमा सिकाएको छ । त्यसैगरी, गत भदौ १० गते आएको रसुवा बाढीका कारण हालसम्म १,२०० भन्दा बढी मानवीय क्षति भएको देखिएको छ भने ४,२१६ जना अझै सम्पर्कविहीन रहेका छन ।  बाढीबाट क्षतिग्रस्त घर, सडक, पुल तथा अन्य भौतिक संरचनाहरूको पुनर्निर्माण र पुनःस्थापनाको कार्यले प्रभावित समुदायको जनजीवन सामान्यीकरण गर्नुका साथै भविष्यमा यस्ता विपद्बाट हुन सक्ने क्षति न्यूनीकरणका लागि थप प्रभावकारी योजना, पूर्वतयारी र समन्वय आवश्यक रहेको तथ्यलाई उजागर गरेको छ ।

नेपालमा प्रत्येक वर्ष बाढी, पहिरो, चट्याङ, आगलागी तथा अन्य विपद्का कारण ठूलो धनजनको क्षति हुने गरेको छ। पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका कारण अत्यधिक वर्षा, आकस्मिक बाढी, डुबान तथा अन्य प्राकृतिक प्रकोपका घटनाहरू बढ्दै गएका छन्, जसले विपद् जोखिमलाई अझ जटिल र चुनौतीपूर्ण बनाइरहेको छ। यस सन्दर्भमा विपद् जोखिम न्यूनीकरण, प्रभावकारी पूर्वसूचना प्रणाली, सुरक्षित पूर्वाधार निर्माण, समुदायस्तरीय सचेतना अभिवृद्धि तथा विपद्पछिको द्रुत पुनर्निर्माण र पुनःस्थापनालाई प्राथमिकतामा राख्नु आजको आवश्यकता बनेको छ ।

यो पनि पढ्नुहोस् :  तीजको दरको पैसा कटाएर बाढीपीडितलाई सहयोग, महाकालेश्वर महिला समूहले दियो ३५ हजार ५ सय

मैदानमा देखिएको पहिलो सत्य : समय नै जीवन हो ।

विपद् आएको बेलाको समय अत्यन्त महत्वपूर्ण हुन्छ । कार्यालयका फाइल, योजना, प्रक्रिया र निर्णयभन्दा अगाडि मानिसको जीवन बचाउनुपर्ने हुन्छ । व्यक्तिगत असहजता, कार्यालय समय वा व्यक्तिगत योजनाभन्दा पीडितको अवस्था अगाडि आउँछ । विपद्को समयमा एक मिनेटको ढिलाइले पनि ठूलो क्षति निम्त्याउन सक्छ भने समयमै गरिएको सानो प्रयासले समेत धेरै जीवन बचाउन सक्छ । जुन कुरा रसुवा बाढीमा ज्यान गुमाएका र बचेकाहरु बाट समेत देख्न र बुझन सकिन्छ ।

स्रोतभन्दा महत्वपूर्ण समन्वय

मैदानमा काम गर्दा मैले एउटा महत्वपूर्ण कुरा सिकेँ—विपद्को समयमा स्रोतभन्दा पहिले इच्छाशक्ति र समन्वय चाहिन्छ । प्रदेश सरकार , स्थानीय तह, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, स्वयंसेवक, गैरसरकारी संस्था, समुदाय तथा नागरिकबीच प्रभावकारी समन्वय हुन सके सीमित स्रोतबाट पनि ठूलो काम गर्न सकिन्छ ।

तर सूचना ढिलो पुग्यो, जिम्मेवारी स्पष्ट भएन वा निकायहरूबीच समन्वय भएन भने पर्याप्त स्रोत हुँदाहुँदै पनि उद्धार तथा राहत प्रभावकारी हुन सक्दैन । त्यसैले विपद् व्यवस्थापनमा समन्वय क्षमता नै सफलताको प्रमुख आधार हो।

राहतभन्दा ठूलो विषय : पूर्वतयारी

हाम्रो समाजमा अझै पनि विपद् व्यवस्थापन भनेको राहत वितरण मात्र हो भन्ने बुझाइ पाइन्छ । राहत आवश्यक छ, तर राहत विपद् व्यवस्थापनको एउटा सानो हिस्सा मात्र हो । जोखिम पहिचान, पूर्वतयारी, पूर्वसूचना प्रणाली, सुरक्षित पूर्वाधार, जनचेतना, उद्धार क्षमता, पुनर्स्थापना तथा पुनर्निर्माण पनि उत्तिकै महत्वपूर्ण पक्ष हुन ।

यदि हामीले विपद् आउनुअघि नै जोखिम न्यूनीकरणमा लगानी गर्न सक्यौँ भने विपद्पछिको मानवीय तथा आर्थिक क्षति उल्लेखनीय रूपमा कम गर्न सकिन्छ ।

स्थानीय समुदाय : पहिलो उद्धारकर्ता

मैदानको अनुभवले अर्को महत्वपूर्ण कुरा सिकाउँछ—विपद्को सबैभन्दा प्रभावकारी पहिलो उद्धारकर्ता स्थानीय समुदाय नै हो ।  बाहिरबाट उद्धार टोली पुग्न समय लाग्न सक्छ, तर छिमेकी, स्थानीय युवा, जनप्रतिनिधि तथा समुदायका सदस्यहरू घटना भएको केही मिनेटमै परिचालित हुन सक्छन ।

यो पनि पढ्नुहोस् :  भोटेकोशी बाढी पीडितका लागि लेखनाथ उद्योग वाणिज्य सङ्घद्धारा राहत संकलन शुरु

सन २०१५ को भूकम्प, विभिन्न बाढी तथा पहिरोका घटनाहरूमा स्थानीय समुदायले देखाएको साहस र सक्रियताले हजारौँ मानिसको ज्यान बचाउन सहयोग गरेको थियो ।  त्यसैले प्रत्येक समुदायलाई विपद् प्रतिकार्यका लागि तयार बनाउनु आवश्यक छ । विद्यालय, वडा, टोल तथा समुदायस्तरमा नियमित अभ्यास र जनचेतना कार्यक्रम सञ्चालन गरिनुपर्छ ।

संवेदनशील राहत वितरणको आवश्यकता

विपद्को समयमा राहत वितरणमा पनि संवेदनशीलता आवश्यक हुन्छ। एउटै प्रकारको राहत सबैका लागि उपयुक्त नहुन सक्छ । बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, महिनावारी भएका तथा गर्भवती महिला तथा दीर्घरोगीहरूको आवश्यकता फरक हुन्छ ।

त्यसैले विपद् व्यवस्थापन मानवकेन्द्रित हुनुपर्छ ।  राहतको मात्रा मात्र होइन, कसलाई, कहिले, के र कसरी दिने भन्ने कुरा पनि उत्तिकै महत्वपूर्ण हुन्छ । प्रभावकारी राहत व्यवस्थापनले पीडितको सम्मान र आत्मविश्वासलाई समेत जोगाउन मद्दत गर्दछ ।

प्रविधि : आधुनिक विपद् व्यवस्थापनको आधार

आजको युगमा प्रविधिको प्रयोग अब विकल्प होइन, आवश्यकता बनिसकेको छ । पूर्वसूचना प्रणाली, डिजिटल सूचना आदानप्रदान, जोखिमको नक्साङ्कन, ड्रोन, भू–सूचना प्रणाली, आपत्कालीन सञ्चार तथा डिजिटल तथ्याङ्क व्यवस्थापनले विपद् प्रतिकार्यलाई अझ प्रभावकारी बनाउन सक्छ । तर प्रविधिभन्दा महत्वपूर्ण कुरा त्यसलाई सही रूपमा प्रयोग गर्न सक्ने दक्ष जनशक्ति, संस्थागत क्षमता र स्पष्ट कार्यप्रणाली हो ।

विपद् व्यवस्थापन : साझा जिम्मेवारी

मैले विपद्को क्षेत्रमा काम गर्दा सबैभन्दा गहिरो रूपमा महसुस गरेको कुरा भनेको विपद् व्यवस्थापन केवल सरकारी जिम्मेवारी मात्र होइन, साझा सामाजिक जिम्मेवारी हो भन्ने हो।

सरकारको भूमिका नेतृत्वदायी हुन्छ, तर नागरिकको तयारी, समुदायको सक्रियता, निजी क्षेत्रको योगदान तथा गैरसरकारी संस्थाको सहयोगबिना विपद् व्यवस्थापन पूर्ण हुन सक्दैन। सुरक्षित समाज निर्माणका लागि सबै पक्षको सहभागिता अपरिहार्य छ ।

विपद् कहिले आउँछ भनेर हामीले रोक्न नसकौँला, तर विपद्ले कति क्षति पुर्‍याउने भन्ने कुरा धेरै हदसम्म हाम्रो तयारीले निर्धारण गर्छ । एउटा सुरक्षित घर, एउटा सचेत परिवार, एउटा प्रशिक्षित स्वयंसेवक, एउटा प्रभावकारी पूर्वसूचना प्रणाली र एउटा व्यवस्थित उद्धार टोलीले धेरै जीवन जोगाउन सक्छ ।

यो पनि पढ्नुहोस् :  साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने

त्यसैले अब हाम्रो सोच “विपद् आएपछि के गर्ने?” बाट “विपद् आउनुअघि के गर्ने?” भन्ने दिशातर्फ बदलिनुपर्छ । विपद् व्यवस्थापनको सफलता उद्धार गरिएका मानिसको संख्याले मात्र मापन हुँदैन; विपद् आउँदा कसैको घर भत्किए पनि, सम्पक्ति सकिए पनि उसको आशा नभत्कियोस्, परिवारले राज्य र समाज आफूहरूसँगै छ भन्ने अनुभूति गर्न सकोस्, त्यही नै वास्तविक विपद् व्यवस्थापन हो ।

विपद् हामीलाई हरेक पटक एउटा नयाँ पाठ पढाएर जान्छ । अब प्रश्न यति मात्र हो—हामीले त्यो पाठ अर्को विपद् आउनुअघि सिक्छौँ कि फेरि विपद् आएपछि मात्र सम्झन्छौँ?

लेखक : निरौला, विपद् व्यवस्थापनसम्बन्धी कार्यक्रम निर्माणमा नेपाल टेलिभिजनमा सात वर्षको कार्यानुभव।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 6   +   7   =