पुस १ देखि स्वास्थ्य बीमा सेवाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य

पुस १ देखि स्वास्थ्य बीमा सेवाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौँ । स्वास्थ्य बीमा कार्यक्रममा नयाँ आबद्धता, नवीकरण तथा उपचार सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने भएको छ । स्वास्थ्य बीमा बोर्डले आगामी २०८३ साल पुस १ गतेदेखि १६ वर्ष उमेर पूरा गरेका नागरिकका लागि यस्तो व्यवस्था लागू गर्ने निर्णय गरेको हो ।

बोर्डको बबरमहलस्थित कार्यालयले असोज १२ गते गरेको निर्णयअनुसार स्वास्थ्य बीमा सेवासँग सम्बन्धित विभिन्न प्रक्रियामा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गर्न लागिएको जनाएको छ ।

यसअघि नेपाल सरकार, गृह मन्त्रालयले २०८१ असार १० गते नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै २०८२ साउन १ गतेदेखि नै स्वास्थ्य बीमा कार्यक्रममा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने व्यवस्था गरेको थियो ।

नयाँ व्यवस्थाअनुसार १६ वर्ष वा सोभन्दा बढी उमेरका नागरिकले स्वास्थ्य बीमामा पहिलोपटक आबद्ध हुँदा, बीमा नवीकरण गर्दा तथा स्वास्थ्य सेवा उपयोग गर्दा राष्ट्रिय परिचयपत्र नम्बर उपलब्ध गराउनुपर्नेछ ।

यद्यपि, ९० वर्ष उमेर नाघेका ज्येष्ठ नागरिक र अति अशक्त अपाङ्गता भएका व्यक्तिका हकमा भने राष्ट्रिय परिचयपत्र अनिवार्य नहुने बोर्डले स्पष्ट पारेको छ ।

स्वास्थ्य बीमा बोर्डले बीमित परिवारलाई आफ्नो विवरण अद्यावधिक गर्न तथा नयाँ आबद्धता र नवीकरणका लागि एचआईबी ई–पोर्टल (eportal.hib.gov.np) प्रयोग गर्न आग्रह गरेको छ ।

यसअघि स्वास्थ्य बीमामा आबद्ध हुँदा राष्ट्रिय परिचयपत्र नम्बर नदिएका नागरिकले पनि स्वास्थ्य संस्थामार्फत उक्त नम्बर उपलब्ध गराएर सेवा लिन सक्ने व्यवस्था मिलाइएको बोर्डले जनाएको छ ।

त्यसैले पुस १ गतेपछि स्वास्थ्य बीमाअन्तर्गत सेवा लिन जाँदा बीमितले आफ्नो राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य रूपमा साथमा राख्नुपर्नेछ ।

यस व्यवस्थाबारे जानकारी प्रवाह गर्न तथा बीमित परिवारको विवरण अद्यावधिक गराउन बोर्डले सबै स्थानीय तहका स्वास्थ्य बीमा संयोजन समितिसँग समन्वय गर्न आग्रह गरेको छ । साथै, स्वास्थ्य सेवा लिन जाँदा राष्ट्रिय परिचयपत्र नम्बर साथमा लैजान सर्वसाधारणलाई सूचित गर्न पनि स्थानीय तहलाई अनुरोध गरिएको छ ।

यो पनि पढ्नुहोस् :  मण्डनदेउपुरमा निःशुल्क आँखा शिविर « रिपोर्टर्स नेपाल

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 5   +   2   =