गायक, गीतकार तथा संगीतकार डिबी गुरुङ » Celebrity Nepal

सेलिब्रेटी नेपाल । विसं २०४८ सालको आमचुनाव संघारमै थियो । प्रजातन्त्र पुनर्बहालीपछिको त्यो पहिलो आम निर्वाचनले देशभर एक किसिमको नयाँ राजनीतिक तरङ्ग ल्याएको थियो । त्यही माहोलमा एक युवा हातमा ‘जय नेपाल जनसन्देश’ लेखिएको अडियो क्यासेट लिएर काठमाडौँको चाक्सीबारीस्थित लौहपुरुष गणेशमान सिंह र सन्त नेता कृष्णप्रसाद भट्टराई (किसुनजी) को सामुन्ने पुगे । क्यासेट हातमा लिँदै शीर्ष नेताद्वयले कौतूहलपूर्वक सोधे, ‘कांग्रेसको गीत चाहिँ कस्तो हुन्छ ?’
ती उत्साही युवाले विनम्र हुँदै जवाफ दिए, ‘नेताज्यू, कांग्रेसको गीतमा प्रजातन्त्र र समाजवादको व्याख्या हुन्छ । जनताले रुख चिह्नमा किन भोट हाल्ने र कांग्रेसमा किन गोलबद्ध हुने भन्ने सन्देश हुन्छ ।’ ती युवा अरू कोही नभएर गायक, गीतकार तथा संगीतकार डिबी गुरुङ थिए । उनै गुरुङले रचना र संयोजन गरेको ‘जाग जाग कांग्रेस जाग जाग रे…’ बोलको गीत नेपाली राजनीतिक वृत्तमा कांग्रेसको सम्भवतः पहिलो औपचारिक साङ्गीतिक दस्तावेज बन्यो । त्यसअघि पार्टी कार्यालय वा चुनावी मैदानमा संगठित रूपमा पार्टीका गीतहरू क्यासेटमा रेकर्ड गरेर बजाउने परम्परा थिएन । त्यो पहिलो एल्बम यति लोकप्रिय भयो कि देशैभर झन्डै १० ट्रक भन्दा बढी क्यासेट बन्यो । त्यहीँबाट नेपाली कांग्रेसको नयाँ संस्कृतिको जग बस्यो ।
डिबी गुरुङको कांग्रेसप्रतिको निष्ठा केवल गीत–संगीतबाट मात्र जोडिएको होइन, यसको जरा उनको पारिवारिक पृष्ठभूमिमा गहिरोसँग गाडिएको छ । उनका बडाबाउ मेजर तिलबहादुर गुरुङ ब्रिटिस आर्मीका पूर्वअधिकारी थिए । भारतको स्वतन्त्रता संग्राम र गान्धीको सत्याग्रहको रापताप नजिकबाट देखेका तिलबहादुर स्वदेश फर्किएपछि नेपाली कांग्रेसको आन्दोलनमा होमिए ।
बीपी कोइरालाले आफ्नो ‘आत्मवृत्तान्त’ मा समेत मेजर तिलबहादुरको साहसको स्मरण गरेका छन् । २०२७ सालतिर पूर्वको भ्रमणका क्रममा तमोर नदीको साँघुरो पुलमा बीपी सवार घोडा एक्कासि तर्सिएर नदीमा खस्न लाग्दा हट्टाकट्टा तिलबहादुरले बीपीलाई तानेर नयाँ जीवन दिएका थिए, जबकि घोडा तमोरको भेलमा खसेको थियो । त्यही राजनीतिक आस्थाका कारण तिलबहादुरले लामो समय धनकुटा जेलमा राजकाज मुद्दा खेप्नुपर्यो । त्यस्तो राजनीतिक त्याग र बलिदान देखेर हुर्किएका डिबीलाई कांग्रेसको लोकतान्त्रिक विचारले सानैदेखि आकर्षित गर्नु स्वाभाविक थियो ।
डिबीको साङ्गीतिक यात्रा सुगम समयको मात्र कथा होइन, यो संकट र जोखिमको दस्तावेजीकरण पनि हो । सशस्त्र द्वन्द्वकालमा माओवादीले सल्यानमा नेपाली कांग्रेसका नौ जना नेता–कार्यकर्ताको एकै चिहान बनाएको घटनाले देश स्तब्ध थियो । तत्कालीन समयमा माओवादीको त्रास यति चर्को थियो कि पार्टीका लागि गीत गाउन वा संगीत भर्न स्थापित कलाकारहरू समेत अघि सर्न डराउँथे ।
त्यस्तो प्रतिकूल परिस्थितिमा राजेन्द्रबहादुर शाह र दीर्घराज रेग्मीका शब्दहरूलाई डिबी गुरुङले संगीतबद्ध गरे । ‘आँसु’ नामक उक्त ऐतिहासिक एल्बमलाई तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले पोखराबाट विमोचन गरेका थिए । सहिदहरूको गाथा समेटिएको त्यो एल्बम बाहिर ल्याएपछि गुरुङले झन्डै पाँच महिनासम्म विद्रोही माओवादीको तीव्र धम्की र खेदो खेप्नुपरेको थियो । तर, लोकतन्त्रप्रतिको उनको निष्ठा डगमगाएन ।
संगीत सिर्जनासँगै गुरुङले कलाकारहरूको हकहित र संगठन निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरे । सुरुमा ‘हिमाली सांस्कृतिक संघ’ को नेतृत्व गरेका उनले पछि दासढुङ्गा दुर्घटनापछि जेलबाट छुटेर अन्योलमा परेका अमर लामालाई साथ लिएर गिरिजाप्रसाद कोइरालाको संरक्षकत्वमा ‘जय नेपाल सांस्कृतिक प्रतिष्ठान’लाई देशव्यापी बनाए । लामाको दुःखद अन्त्यपछि संस्था अलपत्र परेपछि गुरुङले पार्टीभित्र कलाकारहरू उपेक्षित भएको महसुस गरे।
दलहरूले कलाकारलाई केवल चुनावमा भिड जम्मा गर्ने साधन मात्र बनाएको देखेपछि उनले विसं २०५७ मा ट्रेड युनियन काउन्सिलसँग आबद्ध गराई श्रम विभागमा १ हजार कलाकारको हस्ताक्षरसहित ‘नेपाल सांस्कृतिक कलाकार संघ’ दर्ता गराए । उक्त संस्थालाई ५५ भन्दा बढी जिल्लामा विस्तार गर्दै उनले तीन कार्यकाल सफल नेतृत्व दिए ।
डिबी गुरुङका ५०० भन्दा बढी गीतहरू रेकर्ड भइसकेका छन्, जसमा कांग्रेससँग मात्र सम्बन्धित झन्डै ९५ वटा गीत र दर्जनौँ एल्बम छन्। अन्य आधुनिक, लोक, भजनदेखि सबै प्रकारका छन् । पूर्वदेखि सुदूरपश्चिमका विकट रोल्पा, रुकुम, प्युठान, जाजरकोट, बैतडी र डडेल्धुरासम्म पुगेर उनले पार्टीको विचारलाई संगीतको भाकामा गाउँ–गाउँ पुर्याएका छन्।
उनी केवल गीत–संगीतमा मात्र सीमित रहेनन्, पार्टी र राज्यले दिएको प्रशासनिक जिम्मेवारीमा पनि अब्बल ठहरिए । स्व. सुशील कोइरालाको प्रधानमन्त्रित्व कालमा उनले सहरी विकास मन्त्रालयअन्तर्गत राष्ट्रिय आवास कम्पनी (पुनरावास) को महाप्रबन्धक भएर कुशल प्रशासकीय भूमिका निर्वाह गरे । यसअघि गिरिजाप्रसाद कोइरालाको पालामा स्थानीय निकाय वित्तीय आयोगको उपाध्यक्ष (राजस्व विज्ञ) का रूपमा नीतिगत तहमा रहेर काम गरिसकेका थिए ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ कार्तिक १९, बुधबार १२:४२गायक, गीतकार तथा संगीतकार डिबी गुरुङ » Celebrity Nepal
सूचना-प्रविधि२०८३ कार्तिक १८, मंगलवार २१:२७नि:शुल्क एआई तालिममा ६८ हजारभन्दा बढीको आवेदन
खेलकुद२०८३ कार्तिक १८, मंगलवार २१:०५एनपीएल: लुम्बिनीको शानदार जित, पोखरा ८ विकेटले पराजित
कला, विचार/मनोरञ्जन२०८३ कार्तिक १८, मंगलवार १९:५५अन्याय र अत्याचारको विरुद्धमा ‘पाँच पाण्डव’को ट्रेलर









