स्वदेशी उत्पादनलाई विश्व बजारमा पुर्याउन सरकारले सहयोग गर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ-: उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकलाई समृद्धिको अनुभूति दिलाउन सरकार क्रियाशील रहेको बताउनुभएको छ । ‘दोस्रो हिमालयन इन्टरनेरशनल एक्स्पो–२०८०’ को आज भृकुटीमण्डपमा उद्घाटन गर्दै उहाँले सामाजिक न्यायसहितको आर्थिक समृद्धि अहिलेको राष्ट्रिय कार्यभार रहेको बताउनुभयो ।
मुलुकलाई सामाजिक, आर्थिकरूपमा समृद्ध बनाउन सरकार र निजी क्षेत्रले हातेमालो गर्नुपर्नेमा जोड दिँदै गृहमन्त्री श्रेष्ठले राष्ट्रिय पुँजीको विकास गर्न निजी क्षेत्रले सक्रिय भूमिका खेल्नुपर्ने बताउनुभयो । “राजनीतिक परिवर्तन पछाडि नागरिकको जीवनस्तर बदलिएको अनुभूति दिलाउन वर्तमान सरकार क्रियाशील छ”, उहाँले भन्नुभयो, “सरकारको अभियानमा सबै क्षेत्रले हातेमालो गर्दै अगाडि बढ्नुपर्छ ।”
स्वदेशी उत्पादन निर्यात नगरी मुलुकको व्यापारघाटा न्यूनीकरण नहुने उल्लेख गर्दै गृहमन्त्री श्रेष्ठले आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा सबैको ध्यान जानुपर्ने बताउनुभयो ।
स्थानीय हस्तकला तथा साना र मझौला उद्योगका उत्पादनको प्रवर्द्धन तथा विश्वबजारमा पहुँच गराई निर्यातमा सघाउने उद्देश्यले आजदेखि राजधानीमा आयोजना गरिएको एक्स्पो यही असोज २९ गतेसम्म चल्नेछ ।
भृकुटीमण्डपको प्रदर्शनी हलमा आयोजित उक्त एक्स्पोमा हस्तकलाजन्य सामग्री, अल्लो, सिस्नो, केरा, बाँस, केतुकी, भुँइकटहरलगायत प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादन, विभिन्न प्रदेशका मौलिक परिकार तथा अन्य सामग्रीका स्टल रहेका छन् ।
एक्स्पोमा राउटे तथा चेपाङ समुदायले बनाएका काठका सामग्री, तेह्रथुमको ढाका, सङ्खुवासभाको करुवा, भोजपुरको खुकुरी, जैविक स्रोतबाट बनेका श्रृङ्गारको सामग्री तथा महबाट बनेका सौन्दर्य प्रसाधनका सामग्री, जैविक तथा आयुर्वेद उपचार प्रक्रियामा उपयोग गरिने प्राकृतिक औषधीय सामग्री, मसला, छोप, हस्तकलाका उत्पादनलगायतका सामग्री बिक्रीमा राखिएका आयोजकले जनाएको छ ।

पश्मिना, स्टोन, माला, क्युरियाको सामान, गलैँचा, गार्मेन्टका सामान, सिसा पाइपहरू, नेपाली कागज, मूर्तिकला, धातुकला, काष्ठकला, फेल्ट, गरगहना, हातबाट निर्मित कागज, नेपाली ढाका, कार्पेट, घरेलु साना तथा ठूला उद्योगबाट उत्पादित वस्तु, जडीबुटीलगायत प्रदर्शनीमा राखिएका छन् ।
सो एक्स्पोमा अमेरिका, क्यानडा, युरोप, चीन र भारतलगायत मुलुकबाट पाँच सयभन्दा बढी विदेशी क्रेताको सहभागिता रहेको आयोजका संयोजक कपिल अधिकारीले जानकारी दिनुभयो । नेपाली मौलिक उत्पादनको निर्यातलाई बढाई आर्थिक समृद्धि गराउने उद्देश्यले एक्स्पो आयोजना गरिएको संयोजक अधिकारीले बताउनुभयो ।
अधिकारीका अनुसार एक्स्पोको क्रममा हस्तकलासम्बन्धी जीवन्त कलाको प्रदर्शनी, समसामयिक विषयमा गोष्ठी, क्रेता र विक्रेताबीच अन्तक्र्रिया कार्यक्रम आयोजना हुनेछ । विश्वका विभिन्न देशबाट क्रेता भित्र्याउने र बढीभन्दा बढी नेपाली व्यापारीलाई विदेशी व्यापारीसँग सम्बन्ध विस्तार गराई निर्यात बढाउने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।
करिब ५० हजारले मेला अवलोकन गर्ने आयोजकको अनुमान छ ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ मंसिर २२, आईतवार २१:५३‘लोकन्ती’ को शिर्षक गीत सार्वजनिक
समाचार२०८२ मंसिर २२, आईतवार २०:४६हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
समाचार२०८२ मंसिर २२, आईतवार १९:१४चालिसे दुर्घटना अपडेट : १ को मृत्यु, ५ जनाको उपचार हुँदै ६४ जनाको डिस्चार्ज
समाचार२०८२ मंसिर २२, आईतवार १८:२७पाँच मन्त्रीहरु सहित ५५ जना विरुद्ध भष्ट्रचारको मुद्दा दायर







