गैरआवासीय नेपालीले नागरिकता प्राप्त गर्नु ठूलो उपलब्धि हो : प्रधानमन्त्री दाहाल

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निकै ठूलो सङ्घर्ष र मेहनतपछि गैरआवासीय नेपालीले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यवस्था गरिएको जानकारी दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्दै उहाँले यो निकै ठूलो उपलब्धि हो भन्नुभयो ।
“नेपालको संविधानमा गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसहितको गैरआवासीय नागरिकताको व्यवस्था गर्न मैले निकै ठूलो सङ्घर्ष र पहल गरेको छु, त्यसकै बलमा तपाईँहरूले संवैधानिक अधिकार प्राप्त गर्नुभएको छ”, उहाँले भन्नुभयो ।
आफ्नो नेतृत्वको नयाँ सरकारको आग्रहअनुसार राष्ट्रपतिबाट नागरिकता विधेयक सदर भएपछि उक्त विधेयक कानुनमा परिणत भएको र नियमावली बनेको स्मरण गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, “मलाई विश्वास छ, विदेशमा रहनुभएका लाखौँ गैरआवासीय नेपालीहरूले यो नागरिकता कसको सङ्घर्ष र पहलबाट प्राप्त भयो भन्ने तथ्य राम्रोसँग बुझ्नुभएको छ । सबै साथी र सम्पूर्ण नेपाली जनसमुदायलाई पनि त्यसरी नै बुझाउनु हुनेछ ।”
गैरआवासीय नेपालीसँग सम्बन्धित थुप्रै सवाललाई सरकारको नीति तथा कार्यक्रम र बजेटबाट सम्बोधन गरिएको उल्लेख गर्दै उहाँले विदेशी लगानीको न्यूनतम सीमा रु पाँच करोडबाट घटाएर रु दुई करोड कायम गरिएको बताउनुभयो । “धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीको लगानी खुला गर्न कानुनी व्यवस्था मिलाइएको छ, यसैगरी वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमार्फत योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा आबद्ध गर्ने निर्णय लागू भइसकेको छ”, उहाँले भन्नुभयो, “यो एउटा ऐतिहासिक काम भएको छ । अहिलेसम्म तीन लाखभन्दा बढी श्रमिक साथीहरू यो अभियानमा आबद्ध भइसक्नुभएको छ । आगामी दिनमा यो सङ्ख्या अरु बढ्ने हाम्रो विश्वास छ ।”
संसारभरि रहेका नेपाली नेपालका गैरआवासीय दूत भएको उल्लेख गर्दै उहाँले नेपालले गैरआवासीय नेपालीबाट धेरै अपेक्षा गरेको बताउनुभयो । सरकारले सङ्घको स्थापनाकालदेखि नै सहकार्य गर्दै आएको जनाउँदै उहाँले चालु आर्थिक वर्षको बजेट वक्तव्यमा गैरआवासीय नेपाली लक्षित विभिन्न कार्यक्रम घोषणा गरिएको बताउनुभयो ।
सङ्घका कार्यकारी अध्यक्ष बद्री केसीले गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गरेसँगै ‘एकपटकको नेपाली, सधैँको नेपाली’ भन्ने अभियान सार्थक भएको बताउनभयो । गैरआवासीय नेपालीको चाहनालाई सरकारले सम्बोधन गरेको उल्लेख गर्दै उहाँले सरकार र सम्पूर्ण राजनीतिक दलप्रति आभार प्रकट गर्नुभयो । “यो (नागरिकता) कागज होइन, अभिभारा पनि हो, यसबाट ठूलो अभिभारा थपिएको छ, विदेशमा बस्ने नेपालीले मातृभूमिको समृद्धिमा योगदान गर्नुपर्छ”, उहाँले भन्नुभयो ।
अध्यक्ष कुल आचार्यले मुलुकको विकासमा ‘डास्पोरा’को महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै मुलुक बाहिर रहेका नेपालीलाई नागरिकताले मातृभूमिसँग जोडेको बताउनुभयो । सङ्घका संस्थापक अध्यक्ष उपेन्द्र महतोले गैरआवासीय नेपाली नागरिकता कागजको टुक्रोमात्र नभई गैरआवासीय नेपालीको मुटुको अंश भएको बताउनुभयो । गैरआवासीय नेपालीले नागरिकता प्राप्त गर्ने कानुनी प्रबन्ध गरेकामा सरकार र सम्पूर्ण राजनीतिक दललाई धन्यवाद दिँदै उहाँले नेपाललाई समृद्ध बनाउन गैआवासीय नेपाली लागि रहेन विश्वास दिलाउनुभयो ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ जेष्ठ ९, शनिबार ०७:०१हैदरावाद ५५ रनले विजयी « रिपोर्टर्स नेपाल
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ८, शुक्रबार २२:५९क्यान्सरको उपचारमा प्रयोग हुने औषधि अभाव
खेलकुद२०८३ जेष्ठ ८, शुक्रबार १७:३३अमेरिकाविरुद्धको खेलमा नेपालले सहज जित
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ८, शुक्रबार ११:१५चलचित्र ‘कुम्भ’ को रोमान्टिक गीत ‘स्पर्श’ सार्वजनिक









