कानुन नहुँदा जनचाहनाअनुसार काम गर्न सकिएन-मुख्यमन्त्री पाण्डे

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अधिकार र कानुन नहुँदा चाहेर पनि काम गर्न नसकिएको बताउनुभएको छ । प्रदेश विकास समस्या समाधान समितिको आठौँ बैठक एवम् आव २०८० /८१ को प्रथम चौमासिक प्रगति समीक्षा कार्यक्रमलाई आज पोखरामा सम्बोधन गर्दै उहाँले प्रदेशलाई काम गर्न बनाइएका कानुन कार्यन्वयनका लागि सङ्घीय सरकारले बनाउनुपर्ने कानुन निर्माण नहुँदा समस्या भएको हो भन्नुभयो ।
“कानुन निर्माणमा माथिबाट सहजीकरण गरिदिनुपर्ने आवश्यकता छ, सङ्घीय सरकारले बनाउनुपर्ने कानुन नबनाएका कारण प्रदेश र स्थानीय सरकारले काम गर्न अफ्ठ्यारो परेको छ”, उहाँले भन्नुभयो । सङ्घले कानुन नबनाउँदा प्रदेशले गाली खानुपरेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले निजामती सेवा ऐन, प्रहरी समायोजन ऐन, जग्गा प्राप्ति ऐन, शिक्षा ऐन आउला भन्ने आशा लागेको तर सङ्घीय सरकारबाटै यी विषय कार्यान्वयन नभएको गुनासो गर्नुभयो । “सङ्घीयताको नाममा प्रदेशले यो भन्दा बढी गाली खाने अवस्था अब रहँदैन, चाहदाचाहदै अधिकार र कानुन नहुँदा काम गर्न सकिएको छैन”, उहाँले भन्नुभयो । यसअघि पोखरामा सम्पन्न राष्ट्रिय समस्या समाधान समितिको बैठकमा उठेका विषय केही समाधान भएको र धेरै बाँकी रहेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले छ महिनाभित्र कार्यान्वयन हुनुपर्ने विषय हुन्छ कि भन्ने आशा रहेको बताउनुुभयो ।
सङ्घीय सरकारले कानुन निर्माण गरिदिनुपर्ने या सङ्घीयताको बारेमा पुनःविचार गर्नुपर्नेमा जोड दिँदै उहाँले संविधान अनुसार एकल र साझा अधिकारको सूचीमा लेखिएको कुरालाई कानुन बनाएर लिपिबद्ध गरी अधिकार बाँडफाँट गर्दा मात्रै सङ्घीयता ‘सिस्टम’ मा जाने बताउनुुभयो । सङ्घ सरकार र सङ्घीय सांसदले पनि प्रदेशलाई बनाइदिनुपर्ने कानुन निर्माणमा सहजीकरण नगरेको उहाँको गुनासो छ ।
गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटा, सचिव बद्रीनाथ अधिकारी, विभिन्न मन्त्रालयका सचिवले प्रदेशस्तरका आयोजना कार्यान्वयनमा कतिपय सङ्घीय कानुनले अवरोध सिर्जना गर्दा आयोजना समयमा नै सम्पन्न हुन नसकेको लगायतका विषयमा बोल्नुभएको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ चैत्र १२, बिहीबार १५:२६कार्यविनायकमा ‘बेहुली’ फिल्मको शुभमुहूर्त, तीजमा रिलिज हुने
समाचार२०८२ चैत्र १२, बिहीबार ०९:०५तनहुँको मह विश्वबजारमा, किसान उत्साहित
कला, विचार/मनोरञ्जन२०८२ चैत्र १२, बिहीबार ०७:५९मोडलिङबाट अभिनयतर्फ उक्लिँदै सुरज गौतम, नेपाली फिल्ममा सक्रिय हुने तयारी
समाचार२०८२ चैत्र ११, बुधबार २१:३६पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो








