सामाजिक सञ्जालसम्बन्धी कानुन बनाउँदा स्वनियमनलाई जोड दिइने

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जालको प्रयोगको न्यूनतम आधार नेपाली मूल्यमान्यता भएको स्पष्ट पार्नुभएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सामाजिक सञ्जालसम्बन्धी कानुन तर्जुमा सम्बन्धमा सरोकारवालासँग आज गरेको अन्तक्र्रियामा मन्त्री शर्माले सामाजिक मूल्यमान्यतालाई आधार बनाएर नै सामाजिक सञ्जाल प्रयोगसम्बन्धी कानुन बनाउनुपर्ने बताउनुभयो ।
“सूचना प्रविधिको युगमा सामाजिक सञ्जाल नै प्रयोग हुनुहुँदैन भन्ने होइन किनकि यो नेपाली समाजको जीवनशैली बन्न थालेको छ”, सरकारका प्रवक्ता शर्माले भन्नुभयो, “तर, नेपाली समाजको मूल्यमान्यतासँग यसको सामञ्जस्यता कसरी मिलाउने भन्ने सन्दर्भमा नै कानुन निर्माणको आवश्यकता महसुस भएको हो, त्यसका लागि सञ्चार तथा सूचना मन्त्रालयले एउटा टोली बनाएर लामो समयदेखि कानुन तर्जुमाको मस्यौदा गरिरहेको छ ।”
नेपाली समाज पश्चिमा समाजभन्दा फरक भएकाले पनि अन्य देशले जस्तै नेपालमा पनि सामाजिक सञ्जालको प्रयोग हुनुपर्छ भन्ने धारणा सही नभएको स्पष्ट गर्दै मन्त्री शर्माले भन्नुभयो, “हाम्रो समाज तीन पुस्ता एउटै घरमा बसेर पारिवारिक र सामाजिक सद्भावसहित सांस्कृतिक मूल्यमान्यताको हस्तान्तरण गर्दै अघि बढेको समाज हो । त्यसैले १८ वर्ष उमेर पुग्दा नपुग्दै घर छाडेर फरकफरक संस्कृति अवलम्बन गर्ने नागरिक बसोबास गर्ने समाजका मूल्यमान्यता यहाँ लागू हुनुपर्छ भन्ने धारणा सही होइन ।” सामाजिक सञ्जालसम्बन्धी कानुन निर्माण गर्दा नेपाली जनताले लडेर ल्याएको अभिव्यक्ति स्वतन्त्रताको हकलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिँदै उहाँले जनताको अभिव्यक्ति स्वतन्त्रताको हक र नेपाली समाजको विशिष्ट मूल्यमान्यताको रक्षाको सवाललाई केन्द्रमा राख्नुपर्ने बताउनुभयो ।
सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका जारी भइसकाले सो निर्देशिका पनि कानुनमा निर्माणको महत्त्वपूर्ण आधार हुने उल्लेख गर्दै मन्त्री शर्माले यसमा स्वनियमन, सचेतना र नियमनलाई आधार बनाइने बताउनुभयो । “सामाजिक सञ्जालको प्रयोग कसरी गर्ने गराउने यसको पहिलो जिम्मेवारी उपभोक्ता र सम्बन्धित प्लेटफर्मकै हो”, उहाँले भन्नुभयो, “त्यसैले हामीले कानुन निर्माण गर्दा स्वनियमनमै जोड दिने छौँ ।”
स्वनियमनमा सहयोग पुगोस् भनेर विद्यालय शिक्षाको पाठ्यक्रममा उल्लेख गर्नेदेखि आमसञ्चारको माध्यमबाट साइबर सचेतनामा जोड दिने र त्यति गर्दा पनि सामाजिक सञ्जालको प्रयोग सुरक्षित हुन नसकेको खण्डमा नियमन गर्नेगरी कानुन निर्माणको तयारी भइरहेको मन्त्री शर्माले जानकारी दिनुभयो ।
आम सञ्चार र सूचना प्रविधिको क्षेत्रमा धेरै परिवर्तन भए पनि पुराना कानुनबाट अघि बढ्न सम्भव नभएकाले आफू नेतृत्वको मन्त्रालय कानुन निर्माणमा केन्द्रित रहेको जानकारी दिँदै मन्त्री शर्माले कानुन निर्माणको औपचारिक र परम्परागतभन्दा पनि सकेसम्म धेरै क्षेत्रको राय आओस् भनेर कानुन मस्यौदाका क्रममा सरोकारवालासँग छलफल गर्ने र मस्यौदा निर्माण भएपछि वेबसाइटमा राखेर सार्वजनिक बहसका लागि आह्वान गर्ने गरिएको स्पष्ट गर्नुभयो ।
कानुन व्यवसायी, सूचना प्रविधि क्षेत्रका जानकार र डिजिटल मिडिया सञ्चालकलगायत विभिन्न क्षेत्रका सरोकारवालाले सामाजिक सञ्जालसम्बन्धी कानुनमा समावेश गर्नुपर्ने विभिन्न पक्षको बारेमा राय सुझाव दिनुभएको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ मंसिर ७, शनिबार १९:३१चलचित्र ‘मन बिनको धन’ हेर्ने देशैभरिका विद्यालयलाई सहयोग र छुट दिने
समाचार२०८२ मंसिर ७, शनिबार १८:१७धादिङको नेत्रावतीमा उत्कृष्ट विद्यालय र शिक्षक सम्मानित, बिद्यार्थी पुरस्कृत
समाचार२०८२ मंसिर ७, शनिबार ०८:३७यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य
समाचार२०८२ मंसिर ७, शनिबार ०८:३२आज कर्णाली र लुम्बिनी तथा काठमाडौँ र विराटनगरबीच प्रतिश्पर्धा








