किसुनजीको शताब्दी जन्मदिवस: त्याग र सादगीपनको चर्चा

ललितपुर- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सन्त नेता कृष्णप्रसाद भट्टराई (किसुनजी) जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउने संविधान जारी गर्ने त्यागी व्यक्तित्व भएको धारणा राख्नुभएको छ ।
नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री सन्त नेता भट्टराईको शताब्दी जन्मदिवसका उपलक्ष्यमा आज नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित विमर्शसभामा सभापति देउवाले सन्त नेता भट्टराई नेपालका एक त्यागी व्यक्तित्वका रुपमा आफूले पाएको बताउनुभएको हो ।
“उहाँलाई मैले नख्खु जेलमा पहिलो पटक भेटेको हो, अत्यन्तै ‘सेन्स अफ ह्युमर’ भएको व्यक्ति हुनुहुन्थ्यो, कहिल्यै चिन्ता नलिने सच्चा त्यागी तथा निर्लोभी व्यक्तित्वका रुपमा उहाँले आफूलाई स्थापित गर्नुभएको थियो”, सभापति देउवाले भन्नुभयो, “उहाँले २०४७ सालमा तत्कालीन राजा र जनता सबैले अपनत्व गर्नेगरी नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन बनाउने संविधान जारी गर्न सफल हुनुभयो । उहाँको त्यागी, सादगीपनका साथै आदर्श व्यक्तित्वका विषयमा अझै खोजी गरेर किताब लेखिनुपर्छ ।”
सभापति देउवाले आजको समयमा सन्त नेता भट्टराईबाट सिकेर गणतन्त्रात्मक शासन व्यवस्था सुदृढ बनाउनुपर्ने धारणा पनि व्यक्त गर्नुभयो ।
नेपाली कांग्रेसका उपसभापति एवं उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले किसुनजी सरकारको नेतृत्व र पार्टी सञ्चालनमा अनुशासित ढङ्गले काम गर्नुभएका निष्ठावान् व्यक्तित्वका रुपमा स्मरण गर्नुभयो ।
उहाँले अप्ठ्यारा दिनमा पनि पार्टीमा दुःख पाएका कार्यकर्तालाई सहयोग गरेर हिसाबकिताब राख्दै पार्टी चलाएर नेपाली कांग्रेसलाई सशक्त बनाउने योगदान स्वर्गीय भट्टराइले गर्नुभएको बताउनुभयो ।
“किसुनजीले कसैप्रति दुर्भाव राखेको पाइएन । पार्टी सभापति रहेका अवस्थामा चुनाव हार्दा पनि कसैलाई आरोपित गर्नुभएन, आफू अपमानित भएर पनि पार्टीलाई विभाजन हुनबाट रोक्नुभएको थियो, उहाँले आध्यात्मिक, भौतिक, प्रशासनिक तथा निष्ठाका आधारमा देश र जनताप्रति समर्पणको भाव देखाउनुभएको थियो”, उपसभापति खड्काले भन्नुभयो ।
उहाँले किसुनजीलाई जनता, कार्यकर्ता र विश्वले विश्वास गर्नेगरी आफूलाई स्थापित गर्न सफल व्यक्तित्वका रुपमा स्मरण गर्नुभयो । उहाँले सरकार सञ्चालनमा किसुनजीले देखाउनुभएको बाटो अनुशरण गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
कांग्रेस उपसभापति एवं कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री धनराज गुरुङले जीवनभर देश, जनता र प्रजातन्त्रका लागि अविश्राम लागि पर्नुभएका व्यक्तित्व किसुनजीको निष्ठा र साद्गीपनको अनुशरण गर्नसकेमा उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने भन्ने धारणा राख्नुभयो ।
“वर्तमान समयमा विकृति र विसङ्गतिको चाङमा उभिएर आजको दिनमा उहाँले दिनुभएको मार्गदर्शन पछ्याउन ज्यादै कठिन छ । किसुनजीको सन्तपन, साद्गीपन र सदाचार हामीमा पनि हुनु आवश्यक छ”, उपसभापति गुरुङले भन्नुभयो ।
त्यस्तै सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले किसुनजीले पछ्याउनुभएको आदर्श र निष्ठालाई कायम राख्नु हाम्रो दायित्व हो, भन्नुभयो । उहाँले किसुनजी भारतीय स्वतन्त्रताका लागिसमेत योगदान गर्नुभएका चीरस्मरणीय व्यक्तित्व रहेको धारणा पनि राख्नुभयो ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ पुष १३, आईतवार ११:२५त्रिवेणी कप फुटवल प्रतियोगिता सुरु
समाचार२०८२ पुष १३, आईतवार ०६:३७नेपाल मगर संघ धादिङको अध्यक्षमा भिम दर्लामी निर्वाचित
समाचार२०८२ पुष १२, शनिबार २१:१५उत्पादन, प्रशोधन र बजारीकरणमा जोड दिँदै आँकुरा कृषि सहकारी
समाचार२०८२ पुष १२, शनिबार १९:२५एड्भान्स एकेडेमीका विद्यार्थी र अभिभावकको लागि सकारात्मक सोच र मनोपरामर्श कार्यक्रम








