प्रधानमन्त्रीसँग बालकुमारी घटनाका पीडित परिवारको भेट,दोषीलाई कारबाही गर्ने प्रतिबद्धता
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग ललितपुरको बालकुमारीमा शुक्रबार भएको घटनाका पीडित परिवारजनले भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको उक्त भेटमा प्रधानमन्त्री दाहालले घटनाको यथार्थ पत्ता लगाउन सरकारले छानबिनको प्रक्रिया अघि बढाइसकेको र दोषी देखिएकालाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रधानमन्त्रीले उक्त घटनालाई सरकारले गम्भीर रुपमा लिएको र प्रारम्भिक चरणमा दोषी देखिएकालाई निलम्बन गरिसकिएको पीडित पक्षलाई जानकारी गराउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उहाँले मृतकका परिवारलाई सरकारका तर्फबाट राहतको व्यवस्था गरिएको, घाइतेको उपचारको प्रबन्ध मिलाइएको बताउनुभएको थियो । प्रधानमन्त्री दाहालले घटनाका सम्बन्धमा दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जलि र परिवारजनमा समवेदना व्यक्त गर्नुभएको थियो ।
पीडित परिवारजनसँग प्रधानमन्त्री दाहालले शुक्रबार कार्यक्रमको सिलसिलामा दोलखामा रहेको र घटना थाहा पाउने बित्तिकै आफूले सम्बन्धित अधिकारीसँग जानकारी लिएको बताउनुभएको थियो । उहाँले घटनाको अनुसन्धान प्रक्रिया अघि बढिसकेको जानकारी दिँदै पीडितले न्याय पाउने विश्वास दिलाउनुभयो । “छानबिनबाट सत्यतथ्य जे आउँछ, जो दोषी देखिन्छन् तिनलाई कारबाही हुन्छ, आगामी दिनमा यस्ता घटना हुँदैनन्”, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उहाँका प्रेस सल्लाहकार गोविन्द आचार्यले रासससँग भन्नुभयो ।
आजै बसेको मन्त्रिपरिषद् बैठकले उक्त घटनामा निधन भएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । सरकारका तर्फबाट मृतकका परिवारलाई प्रतिपरिवार रु दश लाख राहत उपलब्ध गराउने बैठकले निर्णय गरेको छ ।
सरकारले ललितपुरको बालकुमारीमा शुक्रबार भौतिक तथा मानवीय क्षति हुने गरी भएको घटनामा लापरबाही गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउने प्रक्रिया अघि बढाइसकेको छ । सो घटनामा गोली चलाउन आदेश दिने प्रहरी अधिकारीलाई छानबिन पूरा नभएसम्म निलम्बन गरिएको छ भने रोजगार अनुमति प्रणाली (इपिएस) शाखाका प्रमुख निलम्बित भएका छन् ।
यस्तै गृह मन्त्रालयले पनि सो घटनाको निष्पक्ष छानबिनका लागि एक उच्चस्तरीय समिति गठन भई कार्यारम्भ गरिसकेको जनाएको छ । मन्त्रालयले समितिबाट प्राप्त हुने प्रतिवेदन पूर्णरुपमा कार्यान्वयन गर्ने विश्वाससमेत दिलाएको छ ।
बालकुमारीस्थित इपिएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई लिएर भएको प्रदर्शनका क्रममा अछाम चौरपाटी गाउँपालिका–१ का वीरेन्द्र शाह र दैलेख महाबु गाउँपालिका–६ का सुजन राउतको मृत्यु भएको थियो ।
भेटमा पीडित परिवारजनले घटनाको सत्यतथ्य र निश्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । सो अवसरमा पीडित परिवारका साथै अछाम र दैलेख जिल्लाका सङ्घीय सांसद्को पनि सहभागी हुनुहुन्थ्यो ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
- समाचार२०८१ माघ १३, आईतवार २०:४४फागुन १४ देखि तेस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप
- समाचार२०८१ माघ ११, शुक्रबार ०६:५३विकास र वातावरण बीच समन्वय गर्न स्थानीय तहसँग गोष्ठी सम्पन्न
- समाचार२०८१ माघ २, बुधबार १०:२६विद्याज्योति आधारभुत विद्यालयको स्वर्ण महोत्सव विभिन्न कार्यक्रम गरि सम्पन्न
- समाचार२०८१ पुष १९, शुक्रबार २१:४९मुख्यमन्त्रीद्वारा प्रतिष्ठानको आवासीय तथा प्रशासनिक भवनको शिलान्यास