ठेकेदारको लापरवाहीले म्याग्दीका दुई आधारभूत अस्पताल भवन निर्माणको काम अलपत्र

ठेकेदारको लापरवाहीले म्याग्दीका दुई आधारभूत अस्पताल भवन निर्माणको काम अलपत्र

बेनी, पुस १९ । म्याग्दीमा निर्माणाधीन दुई आधारभूत अस्पताल अलपत्र परेका छन् । ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’योजनाअन्तर्गत मङ्गला र धौलागिरि गाउँपालिकामा निर्माण सुरु भएका दुई अस्पताल भवनको काम निर्माण व्यवसायीले ढिलासुस्ती गरेपछि अलपत्र परेका हुन् ।

धौलागिरि-७ ताकममा पाँच र मङ्गला-५ हाँडेभिरमा १० शय्या क्षमताको आधारभूत अस्पताल २०७७ सालमा शिलान्यास गरिएको थियो । निर्माण व्यवसायीले भवन निर्माणको काम रोकेपछि यहाँका दुवै अस्पताल योजना अधुरो बनेको हो । ताकममा निर्माणाधीन अस्पतालको जिम्मा लिएको आइएस एसी जेभी बुर्तिबाङ बागलुङले भुईँ ढलान गरेर पिल्लर मात्रै उठाएर कामलाई अधकल्चे बनाएको धौलागिरि-७ का वडाध्यक्ष अशोक खत्रीले बताए ।

‘स्थानीयस्तरमा कुनै विवाद र समस्या छैन, निर्माण व्यवसायीलाई काममा फर्कन पटकपटक आग्रह गरेका छौँ, केही दिनमै काममा फर्कने प्रतिबद्धता आएको छ’, उनले भने । ताकममा अस्पताल भवन बनाउन रु चार करोड ८८ लाख ७२ हजार एक सय ३२ मा ठेक्का सम्झौता भएको थियो । निर्धारित मिति २०७९ जेठ २५ भित्र भवन निर्माण सम्पन्न गर्नुपर्ने भए पनि अहिलेसम्म अस्पताल भवनको २० प्रतिशत भौतिक प्रगति भएको छ ।

भवन निर्माण गर्ने समय व्यतीत गरेको उक्त कम्पनीलाई १२ औँ संशोधन नियमावलीअनुसार एक वर्षका लागि म्याद थप भएको थियो । दुई तले अस्पताल भवनमा आकस्मिक, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डारण, उपचारका लागि छुट्टाछुट्टै कक्षलगायतका संरचना रहने प्रस्ताव गरिएको छ । निर्माण कम्पनीका प्रतिनिधि दीपक अढाईले बजेटको सुनिश्चितालगायतका विविध कारणले आफूले समयमै काम सम्पन्न गर्न नसकेको बताउँदै पालिकाको नेतृत्वमा सबै समस्या हल भएकाले अब छिट्टै कार्यक्षेत्रमा फर्कने बताए। उनले निर्माण सामाग्री, मेसिन उपकरण तथा जनशक्ति व्यवस्थापनमा जुटेको जनाउँदै एक सातामै कार्यक्षेत्रमा काम सुरु हुने जानकारी दिए ।

मङ्गला गाउँपालिकामा निर्माणाधीन पालिकास्तरीय अस्पताल भवन अलपत्र परेपछि निर्माण व्यवसायीलाई ताकेता गरिएको छ । ठेकेदारको ढिलासुस्ती र लापरबाहीका कारण यहाँको अस्पताल भवन विगत डेढ वर्षदेखि अलपत्र अवस्थामा छ । भवनको र्‍याप फाउन्डेसन तयार पारी पिल्लर उठाएर छाडिएको यस योजनाको जम्मा १० प्रतिशत भौतिक प्रगति भएको छ । पिल्लरको संरचना ठडाएर छाडिएको छ भने रडमा खिया लागेको छ । अस्पताल भवन निर्माणका लागि पालिकाले ओमबुद्ध इन्टरनेसनल कन्स्ट्रक्सन काठमाडौँसँग दुई वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी २०७८ असारमा रु नौ करोड ११ लाखमा ठेक्का सम्झौता भएको थियो ।

मुख्य ठेकेदारले योजनाको काम गर्न अर्को पेटी ठेक्का लगाएको र उनीहरुबीचको आन्तरिक विवादले योजना नै अलपत्र परेको गाउँपालिकाका असिस्टेन्ट सब–इन्जिनियर नगेन्द्र सापकोटाले जानकारी दिए । पालिकाले पटकपटक पत्राचार गरेपछि मुख्य ठेकेदार दिपेश लामा सम्पर्कमा आएर भवन बनाउने प्रतिबद्धता व्यक्त गरेको उनले बताए । यस भवनको आगामी असार मसान्तसम्म ठेक्का सम्झौताको म्याद थप भएको छ ।

पालिकाको अस्पताल भवनलाई सम्पन्न गराउन निरन्तर ताकेता गरेको र मुख्य ठेकेदार नै पालिकामा आएर केही दिनमै काम अघि बढाउने प्रतिबद्धता जनाएको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताए । मङ्गलामा आकस्मिक, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डारण, उपचारका लागि छुट्टाछुट्टै कक्षसहितको भूकम्पप्रतिरोधी क्षमताको ३५ कोठा भएको अपाङ्गमैत्री अस्पताल भवन निर्माण हुनेछ ।

जिल्लाको मालिका गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर आधारभूत अस्पतालको रूपमा सञ्चालनमा ल्याएको छ । दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा भौतिक पूर्वाधार, मेसिन उपकरण, जनशक्तिलगायतको बन्दोबस्त गरेर पाँच शय्याको अस्पताल सञ्चालनमा ल्याइएको छ ।

म्याग्दीमा अन्नपूर्ण गाउँपालिकाले वडा नम्बर १ दोबामा पाँच शय्याको अस्पताल भवन निर्माण सम्पन्न गरेको छ भने रघुगङ्गा गाउँपालिकामा वडा नम्बर १ बेगमा निर्माण हुने भनिएको अस्पताल योजना विवाद र जग्गा व्यवस्थापनको समस्याले अझै शिलान्यास हुन सकेको छैन ।रासस

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *