Home राजनीति राष्ट्रिय सभा निर्वाचन: कोशीमा सिटौलालाई कति सहज ?

राष्ट्रिय सभा निर्वाचन: कोशीमा सिटौलालाई कति सहज ?

0
Google search engine

मोरङ – आउदो माघ ११ गते हुन लागेको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशमा अन्य तर्फ तीन जना र महिला तर्फ दुई जनाको उम्मेदवारको मनोनयन दर्ता भएको छ ।

कोशी प्रदेशमा एक जना महिला र एक जना अन्य गरी दुई पदका लागि सत्तारुढ गठबन्धनबाट अन्य तर्फ नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौला र महिला तर्फ नेकपा माओवादी केन्द्रकी चम्पादेवी कार्कीले उम्मेदवारी दिनु भएको छ ।

यस्तै नेकपा एमालेले अन्य तर्फ भोजपुरका परशुराम अधिकारी र महिला तर्फ  रुक्मिणी कोइरालाले उम्मेदवारी दिनु भएको छ । यसैगरी राप्रपाले अन्य तर्फ उद्धव पौडेललाई उम्मेदवार बनाएको छ ।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरू सँग कुरा गर्दै नेपाली कांग्रेसका उम्मेदवार  सिटौलाले आफ्नो उम्मेदवारी पार्टी मापदण्ड अनुसार नै सर्वसम्मत भएको बताउनु भयो । उहाँले गठबन्धनका उम्मेदवारलाई जिताउन सबै एक जुट भएर लाग्न आग्रह समेत गर्नु भयो । 

गएको प्रतिनिधि सभाको निर्वाचनमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग पराजित काँग्रेस नेता सिटौला राष्ट्रिय सभा सदस्य मात्र नभइ सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय सभाको अध्यक्ष बन्ने गरी चुनावी प्रतिस्पर्धामा उत्रिनु भएको हो । हालका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिलसिनाको कार्यकाल आउदो फागुन २० गते बाट सकिदै छ । 

यस्तै गठबन्धनको महिला उम्मेदवार कार्की माओवादी केन्द्रको केन्द्रीय सदस्य एवम् ओखलढुंगा जिल्ला इन्चार्ज हुनुहुन्छ । कार्कीले जनयुद्धको क्रममा बायाँ हात गुमाउनु भएको छ । उहाँ २०५६ मा माओवादी प्रवेश गर्नुअघि नेकपा एमालेबाट २०५४ सालमा ओखलढुङ्गाको तत्कालीन मूलखर्क गाविस वडा नं. ६ को महिला सदस्य रहनु भएको थियो । 

त्यसै गरी एमालेबाट उम्मेदवार रहनु भएका अधिकारी पूर्व माओवादी नेता हुनुहुन्छ । उहाँ एमालेको केन्द्रिय सदस्य समेत रहनु भएको छ । माओवादीमा रहँदा बादल निकट रहनु भएका पूर्व माओवादी नेता अधिकारी नेकपा विभाजित हुँदा बादलसँगै एमालेमा रहनु भएको हो । यस्तै एमालेबाट महिला तर्फ उम्मेदवार बन्नु भएकी कोइराला एमाले कोशी प्रदेशकी सदस्य हुनुहुन्छ । 

कोशी प्रदेशमा रहेको मतभार विश्लेषण गर्दा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बन्नु भएका नेता सिटौला र कार्की दुबै जित नजिक रहेको देखिन्छ ।

कुल १०१३५ मतभार रहेको कोशी प्रदेशमा सत्ता गठबन्धनमा रहका दलहरू नेपाली कांग्रेसको ३७२२, नेकपा माओवादी केन्द्रको १२७८, नेकपा एकीकृत समाजवादीको ३४५ र जनता समाजवादी पार्टी १२९ मतभार रहेको छ । गठबन्धनको कुल मतभार ५४७४ रहेको छ । त्यस्तै प्रदेशमा एमालेको मतभार ४२१० र राप्रपाको मतभार ३९४ रहेको छ । प्रदेशमा स्वतन्त्र मतदाताको मतभार ५७ छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here