नारायणगढ–मुग्लिन सडक तीन साता बन्द हुँदै

चितवन, २५ पुस ।
नारायणगढ–मुग्लिन सडकखण्ड थप तीन साता बन्द गरिने भएको छ । सो सडक खण्डको तुइन खोलामा पुल बनाउन ढिस्को भत्काउने काम नसकिएपछि पुनः तीन साता दिउँसोको समयमा सडक बन्द गरेर काम गर्न लागिएको हो ।
यही पुस ७ गतेदेखि तीन साताका लागि दिउँसो चार घण्टा सडक बन्द गरेर काम गरिँदै आएको छ । आउँदो शनिबार पहिलो तीन साताको समय सकिँदै छ । प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले निर्माण कम्पनीले थप एक महिनाको समय माग गरेको भए पनि तीन साताका लागि मात्र सडक बन्द गरेर काम गर्न दिन लागिएको बताउनुभयो ।
उहाँका अनुसार बिहीबार सुरक्षा समितिको बैठकमा थप तीन साता सडक बन्द गरेर काम गर्ने अनुमति दिन लागिएको छ । सो ढिस्को विस्फोट गरेर भत्काउने तयारी गरिएको थियो । विस्फोट गर्दा त्यहाँ पुलसमेत जोखिममा पर्ने भएकाले अन्तिम प्रयासका रुपमा भत्काउन आग्रह गरेअनुरुप काम भइरहेको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “अत्यावश्यक सवारी साधन छाड्नुपर्ने हुँदा दिनमा चार घण्टा भनिए पनि दुई÷तीन घण्टा राम्रो गरी काम भएको छ ।” यथाशीघ्र छिटो काम सक्न भनिएको उहाँले बताउनुभयो । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यका अनुसार हालसम्म १४ मिटर ढिस्को भत्काइसकिएको छ ।
त्यहाँको ढिस्को ६० मिटर हाराहारी अग्लो थियो । गत साल २५ मिटर तल झारिएको थियो । बाँकी ३५ मिटरमध्ये आधा ढिस्को शनिबारसम्म भत्काइसक्ने अनुमान छ । गत साल कडा चट्टान आएपछि विस्फोट गर्ने भन्दै काम रोकिएको थियो । यस वर्ष ३८ टनको ब्रेकर प्रयोग गरेर भत्काउन सुरु गरेपछि कामले गति लिएको उहाँले जानकारी दिनुभयो ।
आवश्यक परेको ठाउँमा चट्टानलाई चिरा पार्ने रक स्पिलटर र हाइड्रोलिन ज्याक हेम्भर प्रयोग गरेर काम गरिएको छ । गत साल २२ टनको ब्रेकर मात्र प्रयोग गरिएको थियो ।आचार्यले कामको गतिलाई हेरेर आफूहरु उत्साहित भएको बताउनुभयो ।
गत वर्ष भत्काउने क्रममा सुरुमा १५ मिटर सहजै भत्काउन सकिएको थियो । त्यसपछिको १० मिटर भत्काउन ४५ दिन लागेको उहाँले जानकारी दिनुभयो । सो सडकका १९ पुलमध्ये चार पुल चार वर्षअघि निर्माण गरिएको थियो । बाँकी १५ पुल एकै साथ ठेक्का लगाइएको थियो।
विसं २०७६ चैत १० गतेबाट पुलको निर्माण थालिएको हो । पुलको लागत रु एक अर्ब २८ करोड छ । अनक कन्स्ट्रक्सनले पुलको ठेक्का पाएको थियो । यो राजमार्गलाई एसियाली विकास बैङ्क (एडिबी) को सहयोगमा एसियन मापदण्डअनुसार बनाइएको हो । पुल ११ मिटर चौडा छन् ।
सडक विस्तार गरेसँगै नौदेखि ११ मिटर फराकिलो बनेको छ । राजधानी बाहिरिने र भित्रने प्रमुख सडकका रुपमा यो सडक रहेको छ । यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी साधन आवत जावत गर्छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ कार्तिक ११, सोमबार ०७:२७निर्वाचनलाई सफल बनाउन जिम्मेवारपूर्ण ढङ्गले जुटौँ: प्रधानमन्त्री कार्की
समाचार२०८२ कार्तिक १०, आईतवार २२:३६जाँचबुझ आयोगविरुद्ध सर्वोच्चमा रिट
स्वास्थ्य/जानकारी टिप्स२०८२ कार्तिक १०, आईतवार १८:२८‘जेनजी’ प्रदर्शनका घाइतेलाई मनोपरामर्श सेवा दिने स्वास्थ्यमन्त्री शर्माको निर्णय
खेलकुद२०८२ कार्तिक १०, आईतवार १७:३८खेलकुदमन्त्री गुप्ताको पहिलो निर्णयः मन्त्रालय मातहतका सबै बैठकहरु लाइभ गरिने








