माघ १ गतेदेखि मेलम्चीको पानी काठमाडौँमा वितरण हुँने

काठमाडौँ –खानेपानीमन्त्री महिन्द्रराय यादवले आगामी माघ १ गतेदेखि काठमाडाँमा मेलम्चीको पानी वितरण गरिने बताउनुभएको छ ।
सुन्दरीजलस्थित मेलम्चीको पानी प्रशोधन केन्द्रको आज अनुगमन तथा निरीक्षण गर्नुहुँदै मन्त्री यादवले भन्नुभयो, “मेलम्चीको पानी सुन्दरीजलमा आइपुगेको छ, माघ १ गते बिहान ९ बजेदेखि काठमाडौँमा वितरण सुरु हुन्छ ।”
उहाँले लक्ष्यभन्दा पहिले नै सुन्दरीजलमा पानी आइपुगेको भन्दै अब बाह्रै महिना काठमाडौँमा मेलम्चीको पानी वितरण हुने दाबी गर्नुभयो । काठमाडौँका विभिन्न ठाउँमा पानी विरतण हुने पाइप बिग्रिएकाले मर्मत गर्न र खानेपानी मिटर जडान गर्न निर्देशन दिनुभयो ।
त्यस अवसरमा मेलम्ची खानेपानीको आपूर्ति निर्वाधरूपमा सुनिश्चित गर्न मेलम्ची खानेपानी विकास समितिका वरिष्ठ डिभिजनल इन्जिनियर पमदबहादुर कुँवरको संयोजकत्वमा एक समितिसमेत गठन गरिएको थियो ।
मेलम्चीको पानी माघ १ गतेदेखि अनामनगर, मीनभवन, महाँकालचौर, रिगनी, भक्तपुर, खुमलटार, बालाजु र बाँसबारी क्षेत्रमा क्रमिकरूपमा वितरण गरिने खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सिन्धुपाल्चोकको अम्बाथानबाट बुधबारदेखि सुरुङमा छाडिएको पानी सुन्दरीजल आइपुगेको छ, खानेपानीको परिमाण मापन गरी क्रमिकरूपमा काठमाडौँका सबै क्षेत्रमा वितरण गरिने छ ।”
सुन्दरीजलमा पानी जम्मा गरी प्रेसर पुगेपछि यसलाई प्रशोधन गरिने र दुई दिनपछि वितरण गर्ने तयारी भइरहेको मेलम्ची खानेपानी विकास समितिका वरिष्ठ डिभिजनल इन्जिनियर पमदबहादुर कुँवरले बताउनुभयो ।
बाढी तथा पहिराका कारण अवरुद्ध भएको मेलम्चीको पानी बुधबार साँझबाट फेरि आपूर्ति सुरु गरिएको हो । यही पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाइड्रोबीच २८ दिनमा मेलम्चीको पानी काठमाडौँ ल्याउनेगरी भएको सहमतिअनुसार बुधबार साँझबाट सुन्दरीजलमा पानी आउन सुरु भएको सुन्दरीजल पानी प्रशोधन शाखाका प्रमुख दीपेश ढकालले जानकारी दिनुभयो ।
कुल २८ दिनको कार्ययोजनासहित पानी पथान्तरण सुरु गरिएको भए पनि २१ दिनमै हेलम्बुबाट सुन्दरीजल पानी पथान्तरण गरिएको उहाँको भनाइ छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँ आउने मेलम्ची खानेपानी विकास समितिका आयोजना निर्देशक जक्की अहमद अन्सारीले जानकारी दिनुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८१ फाल्गुन ११, आईतवार १५:३५पोखरामा हालसम्मकै ठूलो कोटिहोम श्री गण्डकी कोटिहोम महायज्ञ हुदै
कला, विचार/मनोरञ्जन२०८१ माघ २४, बिहीबार २०:४७सुप्रसिद्ध गीतकार हरिहर खनिया सम्मानित
समाचार२०८१ माघ १३, आईतवार २०:४४फागुन १४ देखि तेस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप
समाचार२०८१ माघ ११, शुक्रबार ०६:५३विकास र वातावरण बीच समन्वय गर्न स्थानीय तहसँग गोष्ठी सम्पन्न