प्राथमिक अस्पताल थानकोटमा ‘डायलायसिस’ सेवा सञ्चालनमा आउँदै

काठमाडौँ, ११ माघ । चन्द्रागिरि नगरपालिकाद्वारा सञ्चालित प्राथमिक अस्पताल थानकोटले मिर्गौलाका बिरामीका लागि ‘डायलायसिस’ सेवा सञ्चालनमा ल्याउने भएको छ । विसं २०७६ वैशाख २८ देखि चन्द्रागिरि–४ थानकोटमा सञ्चालित १५ श्ययाको सो अस्पतालले हाल प्रयोगशाला, आकस्मिक सेवा र ‘बर्थिङ सेन्टर’सहितको सेवा प्रदान गरिराखेको छ ।
अस्पताललले पछिल्लो समय विशेषज्ञ मुटु रोग, परिवार नियोजन, ज्येष्ठ नागरिक, विपन्न तथा अपाङ्गता भएकालाई निःशुल्क सेवा प्रदान गरिराखेको छ । अस्पतालमा डायलायसिस सेवा सञ्चालनसम्बन्धी चन्द्रागिरि नगरपालिका र चन्द्रागिरि लायन्स ‘किड्नी डायलायसिस प्रोजेक्ट कमिटी’बीच बुधबार द्विपक्षीय हस्ताक्षर सम्पन्न भएको छ ।
सो अवसरमा नगरप्रमुख घनश्याम गिरीले प्राथमिक अस्पतालको परिसरमा नगरपालिकाले थप १५ श्ययाको अस्पताल बनाउन सुरुआत गरेको जानकारी दिँदै अस्पतालमा डायलायसिस सेवा सञ्चालनका लागि सहयोग गरेकामा धन्यवाद दिए । प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले नगरपालिकाले स्वास्थ्य सेवाका क्षेत्रमा उच्च प्राथमिकता दिँदै लगानी गरिरहेको जानकारी दिए ।
लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५, लायन्स क्लब अफ चन्द्रागिरि, लायन्स क्लब अफ चन्द्रागिरि नर्थ र लायन्स क्लब अफ काठमाडौँ ग्लोबलको सहजीकरणमा लायन्स क्लब इन्टरनेसनल फाउन्डेसनको सहयोगमा उक्त डायलायसिस सेवा सञ्चालन हुने जनाइएको छ । आगामी छ महिना भित्रनै उक्त सेवा सुचारु हुने उक्त कमिटीका अध्यक्ष राजु महर्जनले जानकारी दिए ।
‘प्राथमिक अस्पताल थानकोट’को हाताभित्रै थप १५ श्ययाको नगर अस्पताल गत हप्ता शिलान्यास गरिएको थियो । मन्त्रिपरिषद्को गत फागुन ४ को बैठकले चन्द्रागिरि नगर अस्पताल बनाउन नगरपालिकालाई २३ रोपनी सार्वजनिक जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो । यसपछि नगरपालिकाले फागुन २१ गते अस्पतालको नयाँ भवन निर्माण गर्न बोलपत्र आह्वान गरेको थियो ।
गत असार २० मा चन्द्रागिरि नगरपालिका र निर्माण कम्पनीका बीचमा दुई वर्षभित्रमा भवन निर्माण सम्पन्न गर्ने गरी द्विपक्षीय सम्झौता भएको थियो । कर बाहेक १७ करोड ४९ लाख ३४ हजार एकसय ९९ मा तीन तल्ले भवन बन्ने जनाइएको छ ।
‘चन्द्रागिरिलाई सहयोग जारी रहन्छ’
यसैबीच नगरप्रमुख गिरी, उपप्रमुख उपप्रमुख वसन्ती श्रेष्ठ, प्रवक्ता कृष्णप्रसाद खड्गी, प्रमुख प्रशासकीय अधिकृत अर्यालसँग अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसआइडी) का उच्च पदस्थ पदाधिकारीका बीचमा छलफल भएको छ । बुधबार सम्पन्न भएको सो छलफलमा नगरप्रमुख गिरीले हाल नगरपालिकाले वातावरण संरक्षणमा गरिरहेको कामसहित नगरका गतिविधि प्रस्तुत गरेका थिए।
सो अवसरमा युएसआइडी प्रशासन सहायक सेनन ग्रिनले युएसआइडीले चन्द्रागिरि नगरपालिकालाई प्रदान गर्दै आएको सहयोग जारी रहने जानकारी दिँदै अगामी दिनमा थप सहयोगका बारेमा यस्ता छलफलले सहयोग पुग्ने विश्वास व्यक्त गरे । प्रमुख प्रशासकीय अधिकृत अर्यालले युएसआइडीको आर्थिक एवं प्राविधिक सहयोगमा स्वच्छ हावासम्बन्धी परियोजना कार्यान्वयन गरिराखेको बताए ।
सो अवसरमा नगरपालिकाले कार्यक्रम कार्यान्वयनमा देखाएको तत्परतालाई युएसआइडीका प्रतिनिधिले धन्यवाद दिएका थिए । परियोजनाअन्तर्गत जस्तै सवारी साधनको वायु गुणस्तर जाँच र हरियो ‘स्टिकर’ प्रदान, सवारीमा ‘डस्टबिन’ राख्न प्रेरणास्वरूप चेतनामूलक ‘स्टिकर ’ टाँस, स्वास्थ्यकर्मी तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई तालिम र घरघरमा परिचालन गर्ने काम नगरपालिकाले गरिराखेको छ । यसैगरी सरसफाइकर्मीलाई अभिमुखीकरण र वायु गुणस्तर र फोहरमैला सचेतनाका लागि नागरिक सञ्जाल गठन परिचालन र पैरवी, इन्डक्सन चुलो वितरणसमेत नगरपालिकाले गरिराखेको छ । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक २४, आईतवार १५:५३केदार घिमिरेद्वारा चलचित्र पत्रकार कल्याणकारी कोषमा २५ हजार सहयोग
समाचार२०८२ कार्तिक २४, आईतवार १३:३२शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक २४, आईतवार ०९:०८सन्तोष र प्रियनाको ‘बयान’ ले मिलियन भ्युज पार्यो
समाचार२०८२ कार्तिक २४, आईतवार ०६:४९सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपालको प्रथम वार्षिकोत्सवमा राष्ट्रपति पौडेल सहभागी हुने






