बङ्गलादेशको प्रधानमन्त्रीमा पुनःनिर्वाचित भएकोमा शेख हसिनालाई प्रधानमन्त्री प्रचण्डको बधाई

बङ्गलादेशको प्रधानमन्त्रीमा पुनःनिर्वाचित भएकोमा शेख हसिनालाई प्रधानमन्त्री प्रचण्डको बधाई
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बङ्गलादेशको नयाँ नेतृत्वसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बङ्गलादेशको प्रधानमन्त्रीमा शेख हसिना पुनःनिर्वाचित भएपछि प्रधानमन्त्री दाहालले उहाँलाई पठाएको बधाई सन्देशमा बङ्गलादेशको नेतृत्वसँग मिलेर काम गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले त्यहाँका नवनियुक्त परराष्ट्रमन्त्री डा हसन महमुदसँग शनिबार भएको शिष्टाचार भेटमा प्रधानमन्त्री दाहालले  दुई देश र जनताको पारस्परिक हितका लागि सहकार्य गर्ने प्रतिबद्धता सन्देशमा व्यक्त गर्नुभएको जानकारी दिनुभएको थियो ।
त्यसअवसरमा राजदूत भण्डारीले परराष्ट्रमन्त्रीमा डा हसन महमुद नियुक्त हुनुभएकामा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले उहाँलाई सम्बोधन गरेर पठाउनुभएको बधाईपत्र हस्तान्तरण गर्नुभएको ढाकास्थित नेपाली राजदूतवासले आज जनाएको छ ।
त्यसअवसरमा नेपाल–बङ्गलादेशबीचको आर्थिक सहयोगलाई थप मजबुत बनाउने उपायबारे विचार आदानप्रदान भएको थियो । परराष्ट्रमन्त्री महमुदले आफूले गरेको नेपालको  औपचारिक स्मरणको स्मरण गर्दै दुई देशबीचको उत्कृष्ट द्विपक्षीय सम्बन्धप्रति सन्तोष व्यक्त गर्नुभयो । उहाँले व्यापार, पर्यटन, ऊर्जा, जलवायु परिवर्तन र जनस्तरको सम्पर्कका क्षेत्रमा रहेको सम्भावनालाई सदुपयोग गर्नुपर्नेमा जोड दिनुभएको थियो । हामीले हाम्रा देशहरूबीचको ऊर्जा व्यापारलाई यथाशीघ्र अघि बढाउन मिलेर काम गर्नुपर्छ र वार्तालाई तीव्रता दिनुपर्नेमा जोड दिनुभयो ।
राजदूत भण्डारीले परराष्ट्र मन्त्रालयको परामर्श, ऊर्जासम्बन्धी संयुक्त सञ्चालन समिति, वाणिज्य सचिवस्तरीय बैठकलगायत विभिन्न द्विपक्षीय संयन्त्रमा भएका प्रगतिबारे परराष्ट्रमन्त्रीसँगविचार  आदान–प्रदान गर्नुभएको थियो । उहाँले द्विपक्षीय साझेदारीबारे प्रकाश पार्दै व्यापार, ऊर्जा, कनेक्टिभिटी, शिक्षा र पर्यटनजस्ता क्षेत्रमा घनीभूत सहकार्य आवश्यक भएको बताउनुभएको थियो ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *