एक दशकपछि आँखा देखेका रामबहादुरको मुहारमा फिरेको खुशी

गोरखा, ४ जेठ । गुम्दा गाउँका ८८ वर्षीय रामबहादुर गुरुङले एक दशकपछि संसार देख्न थाले । विगत १० वर्षदेखि दुवै आँखाको ज्योति गुमाएका उनलाई ज्वाइँ कर्णमाहिला गुरुङले बोकेर विद्यालयको आँगनमा ल्याइपुर्याएका थिए । उनीजस्तै अरु ४८ जनाले पनि अब आँखा देख्न थालेका छन् ।
आफ्नै गाउँमा गत मङ्गलबार, बुधबार र बिहीबार आयोजना गरेको शल्यक्रिया शिविरमा गुरुङको आँखाको शल्यक्रिया गरिएको थियो । निर्धारित समयमा वरिष्ठ आँखारोग विशेषज्ञ कमलबहादुर खड्का नेतृत्वको टोलीले धमाधम आँखाको पट्टि खोल्न थाल्यो । उनको पालो सबैभन्दा पछि थियो ।
जब चिकित्सकले गुरुङको आँखाको पट्टि खोले, उनी बसिरहेको कुर्चीबाट उठे र विस्तारै आँखाका परेला खोल्न थाले । ‘एक दशकदेखि अन्धकार बनेको रङ्गीन संसार देखेँ । ऊ, मेरो ज्वाइँ’, घरबाट बोकेर ल्याएका कर्णमाहिलातिर देखाए । सबैतिर हेर्न हतार नगर्न चिकित्सक गुरुङले सुझाव दिए । उनले आफूलाई संसार देखाइदिने चिकित्सकलाई धन्यवाद दिए ।
दुर्गम भेगमा रहेको गोरखाको धार्चे गाउँपालिका–५ गुम्दाका ८८ वर्षीय रामबहादुर गुरुङले दुवै आँखाको ज्योति गुमाएको १० वर्ष पुग्यो । ‘२०६८ सालमा बारी जोत्दा हलोको फालीले लागेर दाहिने आँखा गुमाएको थिएँ, त्यसको चार वर्षपछि देब्रे आँखा पनि देख्न छाडेँ’, गुरुङले भने ।
त्यसयता गुरुङलाई आफ्नो घरआँगन परदेश लाग्न थाल्यो, आफन्तहरू परायाजस्ता । आफैँ हिँड्न नसक्ने भएपछि उनलाई परिवारले सुताउने, उठाउने, खाना खुवाउने र शौचालयसम्म लैजाने, ल्याउने गर्नुपर्थ्यो ।
‘पहिले त स्वरले चिन्थेँ । स्वर पनि र्बिसिएर विस्तारै चिन्न छाडेको थिएँ । म फलानो हुँ भन्यो भने बल्ल याद आउँथ्यो’, गुरुङले भने, ‘घरमा बूढी पनि रोगी, छोरा बाहिर विदेशमा छ । एउटा बुहारीले घरबारीको काम, हामी बुढाबूढीको स्याहार, नातानातिनीको स्याहार सबै हेर्नुपर्छ । बुढेसकालमा अरु केही गर्न नसके पनि आफ्नो काम चाहिँ आफँै गर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । त्यो सपना आज पूरा भयो’, शल्यक्रियापछि आँखाको ज्योति पाउनुभएका गुरुङले भने ।
शल्यक्रियापछि ससुरा आफैँ हिँड्डुल गर्न सक्ने भएपछि कर्णमाइलालाई पनि सन्तोष मिलेको छ । ‘बुढो मान्छे, त्यसमाथि आँखा नदेख्ने भएपछि साह्रै बिजोग हुनेरहेछ’, उनले भने, ‘अब त सबै देखेँ, हिँड्छु भनेका छन् । यति भयो भने घरपरिवारलाई धेरै हलुका हुन्छ ।’
धार्चे गाउँपालिकाको आयोजना, मुटु फाउन्डेसन र मनोज एसोसिएसन फ्रान्सको आर्थिक सहयोग तथा मात्रिका आई फाउन्डेसनको प्राविधिक सहयोगमा गुम्दामा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको थियो ।
शिविरमा धार्चेको गुम्दा, सिङ्ला, लप्सीबोट, यामगाउँ, खानीगाउँलगायत आसपास क्षेत्रका चार सय सात जनाले सेवा लिएका थिए । शिविरमा रामबहादुरसहित ४९ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको थियो ।
तीन दिनसम्म चलेको शिविरमा वरिष्ठ आँखारोग विषेशज्ञ डा कमलबहादुर खड्का नेतृत्वको टोलीले सेवा दिएको थियो । विकट ठाउँमा आएर वृद्धवृद्धालाई सेवा दिन पाउँदा खुसी लागेको डा खड्काले बताए । ‘गाउँघर यस्तै हो, कति दुःख कति सुख । जे होस् यति टाढा आएर सेवा दिने मौका मिल्यो । खुसी लागेको छ’, उनले भने । -रासस
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ असार २१, शनिबार ०९:१६फाइनल खेलमा सिङ्गापुर विरुद्ध राम्रो सुरुवात गर्दै नेपाल
खेलकुद२०८२ असार २१, शनिबार ०८:४६सिङ्गापुर विरुद्धको फाइनल खेलमा बलिङ गर्दै नेपाल
समाचार२०८२ असार २१, शनिबार ०८:२३नीलकण्ठ नगरपालिकाबाट बागमती प्रदेशको बजेटविरुद्ध खेद प्रस्ताव पारित
कला, विचार/मनोरञ्जन२०८२ असार २०, शुक्रबार २३:१८कलाकार लक्ष्मी श्रेष्ठको निधन