‘बलिदान’को ६० फुट अग्लो विशाल पोस्टर सार्वजनिक

काठमाडौं । यस पटकको वडा दसैँको फूलपातीको भव्यतासँगै रिलिज हुने तयारीमा रहेको बहु प्रतीक्षित नेपाली चलचित्र ‘बलिदान’को विशाल साइजको नयाँ पोस्टर सार्वजनिक गरिएको छ। ६० फिट अग्लो र १६ फिट चौडाइको यो पोस्टर बिहीबार काठमाडौंको गोङ्गबु बसपार्कस्थित ल्होत्से मलको बाहिरी भागमा राख्दै सार्वजनिक गरिएको हो। सार्वजनिक गरिएको पोस्टरले चलचित्रको भाव, शैली र उद्देश्यको एक स्पष्ट चित्र प्रस्तुत गर्दै दर्शकको ध्यान खिच्न सफल भएको छ।
पोस्टरमा रगतले लतपतिएका, घाइते र क्रुद्ध मुद्रामा देखिएका अभिनेता समीर भट्ट एक विशालकाय मानव आकृतिमाथि भालाजस्तो देखिने अस्त्र प्रयोग गर्दै आक्रामक रूपमा प्रस्तुत छन्। समीरको अनुहारमा आक्रोश, हिम्मत र बलिदानको भावना झल्किन्छ। आकाशमा कालो बादल, जमिनमा अन्धकार र पृष्ठभूमिमा आगोको रापले यो पोस्टरलाई अझ प्रतीकात्मक र सिनेम्याटिक बनाएको छ। दृश्यहरूले फिल्मको द्वन्द्वात्मक स्वभाव र गहिरो देशभक्तिपूर्ण सन्देश झल्काउँछन्।
पोस्टर सार्वजनिकसँगै निर्देशक सन्तोष सेनले यो चलचित्र एउटा सिनेम्याटिक क्रान्तिको सुरुवात रहेको बताएका छन्। उनले भनेका छन्, “बलिदान – एउटा सिनेम्याटिक क्रान्तिको सुरुवात हो। विभिन्न चरणको छायाङ्कन, सम्पादन र सृजनात्मक परिश्रमपछि अब गर्वका साथ भन्न सक्छौँ, बलिदान केवल चलचित्र होइन, यो एउटा अभियान बनिसकेको छ– ‘यो ज्यान बलिदान’। सुरुदेखि अन्त्यसम्म पटक पटक हेरिएका दृश्यहरू, सूक्ष्म कुरामा दिएको ध्यान र हरेक फ्रेममा हालिएको आत्माले यसलाई मजबुत सिनेम्याटिक संरचना बनाएको छ।”
उनका अनुसार, ‘बलिदान’ विदेशी चलचित्रहरूको भीडमा पनि आत्मबल, गहिरो कथावस्तु र प्रस्तुतीकरणको निखारले फरक पहिचान कायम गर्ने तयारीमा छ। उनले चलचित्रलाई गाउँ–सहर, टोल–बस्ती हुँदै हरेक दर्शकको मनसम्म पुर्याउने लक्ष्य लिएको उल्लेख गर्दै ‘बलिदान ब्यानर’ मार्फत देशव्यापी प्रचार–प्रसार यात्रा सुरु गरिएको जनाए।
यसअघि सार्वजनिक गरिएको पोस्टरमा अभिनेता सौगात मल्ल एक सशक्त र रहस्यमय अवतारमा प्रस्तुत भएका थिए। यसै गरी, चलचित्रको प्रमुख अभिनेता समीर भट्टको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको प्रि–टिजरले निकै चर्चा पाएको थियो। त्यस्तै, चलचित्र घोषणादेखि हालसम्म सार्वजनिक गरिएका समीर भट्ट र नायिका कविता रायका पात्र परिचय दिने पोस्टरहरूले पनि उत्तिकै चर्चा पाएका थिए।
‘आसुसेन फिल्म्स् प्रा.लि.’को प्रस्तुति रहेको ‘बलिदान’मा समीर भट्ट, सौगात मल्ल, कविता रायसँगै अर्पण थापा, ऋचा शर्मा, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारहरूको अभिनय रहेको छ। चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् भने कार्यकारी निर्माता प्रेम पुरी हुन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन २३, शुक्रबार २१:४३सशस्त्रका एआइजी दाहाललाई सेवाबाट हटाइयो
समाचार२०८३ आश्विन २३, शुक्रबार १९:२२धादिङको गलौदीमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द
खेलकुद२०८३ आश्विन २३, शुक्रबार १६:१२एनपीएल सिजन–३: क्लाउड एजुकेसन भिसा र काठमाडौं गोर्खाजबीच साझेदारी
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन २३, शुक्रबार १५:४२अन्सारीले संसद्मा उठाएका गम्भीर टिप्पणीप्रति नेशनल मेडिकल कलेजको आपत्तिः निष्पक्ष र पारदर्शी छानबिनका लागि तयार रहेको उल्लेख









