१९ बुँदे प्रतिबद्धता जनाउँदै सकियाे वन निर्देशनालयकाे प्रगति समीक्षा गाेष्ठी

१९ बुँदे प्रतिबद्धता जनाउँदै सकियाे वन निर्देशनालयकाे प्रगति समीक्षा गाेष्ठी

पोखरा । गण्डकी प्रदेशको वन तथा वातावरण मन्त्रालय अन्तर्गतकाे वन निर्देशनालयले पोखरामा आयाेजना गरेकाे बार्षिक प्रगति समीक्षा गोष्ठी वन, वन्यजन्तु, जैविक विविधता तथा जलाधार संरक्षणसँग सम्बन्धित १९ बुँदे प्रतिबद्धता पारित गर्दै सकिएकाे छ ।

गोष्ठीमा आ.व. ०८१/८२ का कार्यक्रमको समिक्षा गर्दै कार्यान्वयनका उपलब्धि, समस्या र सुधारका उपायहरूमाथि छलफल गरिएको थियो। समन्वयमा आधारित कार्यक्रम सञ्चालन, बेरुजु फछ्यौटमा तीव्रता, दिगो वन व्यवस्थापन, PAN नम्बर प्राप्तिमा सहजीकरण, र कम खर्चिलो भू संरक्षण प्रविधिको प्रयोगमा जोड दिइएको छ।

डिभिजन वन कार्यालयहरूले कानुनी व्यवस्था अनुसार पूर्वाधार विकासलाई निरुत्साहित गर्न छलफल गर्ने, वन डढेलो नियन्त्रणमा समन्वय गर्ने, मुद्दाका क्रममा बरामद सामग्रीको लिलामी प्रक्रिया अघि बढाउने र तथ्याङ्क व्यवस्थापनमा सावधानी अपनाउने निर्णय गरिएको छ।

त्यस्तै, वदेल र बाँदरलाई कृषिमा हानिकारक घोषणा गरी सिफारिस गर्ने, कार्य सम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन गर्ने र वन संगठनको पुनःसंरचना सेवामुखी बनाउने प्रतिवद्धता समेत गोष्ठीले व्यक्त गरेको छ।

गाेष्ठीकाे समापन सत्रमा बाेल्दै गण्डकी प्रदेशका वन तथा वातावरणमन्त्री भेष बहादुर पाैडेलले अबका कार्यक्रमहरू परिणाममुखी र रणनीतिक हुनुपर्नेमा जोड दिए ।

मन्त्री पौडेलले प्रदेशको समग्र वन तथा वातावरण क्षेत्रको रणनीतिक योजना चाँडै तयार पारिने जानकारी दिए । वातावरण परिवर्तनका चुनौतीहरूलाई मध्यनजर गर्दै रणनीतिक कार्ययोजना निर्माण गरी तत्काल कार्यान्वयनमा लैजाने, योजनाहरु सिस्टममा आधारित बनाई स्थायित्व र प्रभावकारिता सुनिश्चित गर्ने कुरामा समेत उनकाे जाेड छ ।

उनले हाल देखिएको अन्तरसमन्वयको अभावलाई हटाउँदै संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे । कार्यान्वयनको क्रममा आवश्यक परेमा योजना संशोधन र रकमान्तर गरेर पनि लक्ष्य हासिल गर्नुपर्ने मन्त्री पौडेलको भनाई छ ।

कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव जीवनाथ पाैडेल , वृहत जलाधार व्यवस्थापन केन्द्र तनहुँका वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत दिवाकर पाैडेल , डिभिजन वन कार्यलय कास्कीका डिभिजनल वनअधिकृत काेमलराज काफ्ले लगायतले विविध चुनौतीका बाबजुद पनि “वन अझै छ” भन्ने अनुभूति दिलाउन सकिएको बताए ।

उनीहरुका अनुसार पछिल्लो समय वन क्षेत्रको महत्व बढेको र मन्त्रालयकै दृष्टिमा कास्कीको वन क्षेत्र गौरवको विषय बन्न पुगेको छ। आन्तरिक प्रणाली सुधार हुँदै गएको र वन तथा प्राकृतिक स्रोतलाई समृद्धिसँग जोड्ने प्रयास भइरहेको उनीहरुले उल्लेख गरे।

कार्यक्रममा वन निर्देशनालय गण्डकीका वरिष्ठ वन अधिकृत करूणा कार्कीले १९ वुँदे प्रतिवद्वतापत्र प्रस्तुत गरेकी थिईन् ।

कार्यक्रममा प्रदेशका ११ वटै जिल्लाका डिभिजनल वन अधिकृतहरुले वन निर्देशनालयसमक्ष कार्य सम्पादन समझाैता करार गरेका छन् भने, कार्यक्रममा आ.व. २०८२/८३ का लागि कार्यक्रम कार्यान्वयन मापदण्ड सम्बन्धी छलफल भएकाे थियाे ।

साथै  गाेष्ठीमा वन्यजन्तु र वन पैदावार संरक्षणमा ‘सुराकी’ एप सञ्चालनकाे लागि छलफल भयाे । जसमा दुर्लभ वन्यजन्तु र बहुमूल्य वन पैदावारको चोरी–सिकारी तथा अवैध कारोबार नियन्त्रण गर्न राष्ट्रिय आविष्कार केन्द्रले विकास गरेको ‘सुराकी’ मोबाइल एप्लिकेशन समुदायस्तरमै निगरानीको प्रभावकारी माध्यम बन्ने विश्वास गरिएकाे छ । कार्यक्रममा एपको प्रयोगबारे केन्द्रका प्राविधिक इन्जिनियर इन्द्र बहादुर ओलीले जानकारी गराएका थिए ।

साेमबार र मंगलबार भएकाे गोष्ठीमा मन्त्रालयका मातहतका डिभिजन वन कार्यालयहरू, निर्देशनालय तथा सम्बन्धित संघीय निकायहरूको सहभागिता थियो।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19111, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 8   +   7   =  

Protected by Spam Master