म्याग्दीको गाजनेमा स्याउको परीक्षण उत्पादन सफल – फोटो फिचर

म्याग्दीको गाजनेमा स्याउको परीक्षण उत्पादन सफल – फोटो फिचर

म्याग्दी– हिमाली जिल्ला म्याग्दीको गाजने गाउँमा स्याउको परीक्षण उत्पादन सफल भएको छ । जिल्लाको बेनी नगरपालिका–५, पुलाचौरस्थित रहेको गाजने गाउँमा मुस्ताङबाट ल्याएर लगाइएको स्याउका बिरुवाले यस वर्षदेखि उत्पादन दिन थालेको हो ।

वि.सं. २०७८ सालमा गाजनेका स्थानीयवासीले हिमालपारिको जिल्ला मुस्ताङबाट स्याउका बिरुवाहरू खरिद गरेर ल्याएका थिए । करिब २५ घर परिवारको बसोबास रहेको गाजने गाउँमा अधिकांश स्थानीयले मुस्ताङबाट ल्याइएका स्याउका बिरुवाहरू लगाएका हुन् । उक्त स्याउका बिरुवा लगाएको छोटो समयमै बोटमा स्याउको दाना लागेपछि अहिले स्थानीय किसानहरू हर्षित भएका छन् ।

समुन्द्री सतहदेखि २ हजार मिटरभन्दा माथिको उचाइमा रहेको गाजनेमा यसअघि पनि स्याउ लगाइएको थियो । तर गाजनेमा स्याउको चोरी हुन थालेपछि स्थानीयवासीले लगाउन छाडेका थिए । तर अहिले पछिल्लो समयमा भने मुस्ताङबाट स्याउका बिरुवाहरू ल्याएर परीक्षणको रूपमा लगाइएको हो । मुस्ताङबाट स्याउका बिरुवा ल्याएर परीक्षणको रूपमा लगाइएको स्याउले उत्पादन दिएर परीक्षण सफल भएपछि स्थानीयवासीले यस वर्षदेखि थप बिरुवा लगाउने तयारी गरेको बताएका छन् ।

स्याउ लगाएको तीन वर्षको अवधिमै गत वर्षदेखि स्याउ फल्न थालेकोमा यस वर्ष अलि राम्रोसँग फलेको जगन्नाथ (धाम) मन्दिर व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष समेत रहनुभएका स्थानीय नीलकण्ठ शर्माले बताउनुभयो । उहाँले गाजनेमा स्याउको परीक्षण उत्पादन सफल भएपछि अब व्यावसायिक रूपमा लगाउने योजना आफूहरूले बनाएको सुनाउनुभयो । जिल्लाको उच्च भेग, चिसो हावापानी भएकाले गाजने गाउँमा स्याउ उत्पादन सफल भएको दाबी समेत गरिएको छ ।

बोटमा स्याउका दाना लागेपछि विभिन्न प्रजातिका लामो लामो पुच्छर भएको चराचुरुङ्गीहरू समेत आएर स्याउ खाने गरेको स्थानीय शर्माले बताउनुभयो । उहाँका अनुसार गाजनेमा मुस्ताङबाट गोल्डेन र रेड प्रजातिको स्याउ ल्याएर लगाइएको हो । यसअघि गाजने गाउँमा २०३८÷०४० सालमा पनि स्याउ लगाइएको थियो ।

त्यति बेला सार्वजनिक ठाउँमा स्याउ लगाइएको थियो भने अहिले स्थानीयले आ–आफ्नो निजी पाखोबारी र व्यक्तिगत जग्गाजमिनमा स्याउको खेती गरेका छन् ।

यस वर्ष गाजनेका यामबहादुर बानियाँ, यामबहादुर कार्की, तिलक खत्री, नीलकण्ठ शर्मा, खड्कबहादुर खत्री र सीता कार्कीले लगाएको बारीमा स्याउले उत्पादन दिएको जनाइएको छ । ०७८ सालमा यहाँका स्थानीयले परीक्षणको रूपमा २०÷२५ गोटाका दरले स्याउका बिरुवा लगाएका थिए । अहिले अन्य किसानहरू पनि स्याउ खेती गर्नेतर्फ आकर्षित भएका छन् । जग्गा बाँझो राख्नुभन्दा स्थानीय किसानहरूले स्याउ लगाउनेतर्फ चासो देखाएका हुन् । परम्परागत खाद्यान्न बालीभन्दा फलफूल खेतीतर्फ किसानको आकर्षण बढेको छ ।

कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बास्तोलाले गाजनेमा फलेको स्याउको दाना देख्दा व्यावसायिक रूपमा खेती गर्न सकिने अनुमान गरेको बताउनुभयो । तर उहाँले अझै एक दुई वर्ष परीक्षणकै रूपमा स्याउ लगाउनुपर्ने र त्यसको उत्पादनअनुसार मात्रै व्यावसायिक रूपमा अगाडि बढाउन सकिने बताउनुभयो । स्याउ खेतीका लागि हिउँदको समयमा हिमपात पर्नुपर्ने र चिसो हावापानी हुनुपर्ने उहाँको भनाइ छ । सामान्यतयास् २ हजार मिटरदेखि माथिको उचाइ भएको भूगोलमा स्याउको खेती गर्न सकिने कृषि प्राविधिकहरू बताउँछन् ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 2   +   7   =  

Protected by Spam Master