मुटु, क्यान्सर र श्वासप्रश्वास सम्बन्धी रोगका बिरामी धेरै

मुटु, क्यान्सर र श्वासप्रश्वास सम्बन्धी रोगका बिरामी धेरै

काठमाडौँ, २२ साउन । नेपालमा नसर्ने मुटु, क्यान्सर र श्वासप्रश्वास सम्बन्धी रोग धेरै देखिने गरेको छ ।

नसर्ने रोगबारे काम गरिरहेको संस्था नेपाल एनसिडी एलाइन्सका डा मनिता प्याकुरेलले नेपालमा नसर्ने रोग बढ्दै गएको बताए । तीमध्ये मुटु, क्यान्सर र श्वासप्रश्वास सम्बन्धी रोग धेरै देखिने गरेको उनको भनाइ छ । प्रमुख नसर्ने रोगमा मुटु रोग ३० प्रतिशत, क्यान्सर नौ प्रतिशत र दीर्घकालीन श्वासप्रश्वास सम्बन्धी रोग १० प्रतिशत रोग लाग्ने गरेको उनले बताए ।

नेपालमा आजभन्दा १५ वर्ष अघि अर्थात् सन् २०१० मा कुल मृत्युमध्ये ५१ प्रतिशत नसर्ने रोगबाट हुने गर्दथ्यो । सन् २०१४ मा मृत्युको सङ्ख्या बढेर ६० प्रतिशत पुगेको र सन् २०१६ मा त झन् बढेर ६६ प्रतिशत पुगेको जनाइएको छ । सन् २०१९ मा आइपुग्दा कुल मृत्युको ७१ दशमलव एक प्रतिशत हिस्सा नसर्ने रोगको भागमा परेको ग्लोबल बर्डेन अफ डिजिजको प्रतिवेदनमा उल्लेख छ

नसर्ने रोगको उपचारमा हुने खर्च अत्यधिक हुने गर्दछ र स्वास्थ्य क्षेत्रमा हुने कुल खर्चमध्ये सबैभन्दा बढी खर्च नसर्ने रोगमा नै हुने गरेको देखिएको छ । विश्वमा नसर्ने रोगका कारण वार्षिक ४३ लाख व्यक्तिको मृत्यु हुने गरेको छ । विश्व स्वास्थ्य सङ्गठनले सन् २०५० सम्ममा विश्वव्यापी मृत्यु गराउने पाँच प्रमुख कारण नसर्ने रोग नै हुने अनुमान गरेको छ ।

नसर्ने रोग धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन, अस्वस्थकर खानपान, शारीरिक निष्क्रियता, मद्यपान र वायु प्रदूषणले निम्त्याउने गरेको छ । एलाइन्सका सदस्य तथा स्वास्थ्य पत्रकार सरोज ढुङ्गेलले सरकारले नसर्ने रोगबारेमा आमनागरिकलाई समयमा सचेत गराउन आवश्यक रहेको बताए।

स्वास्थ्य पत्रकार मञ्च नेपालका पूर्व अध्यक्ष रामप्रसाद न्यौपानेले नसर्ने रोगको रोकथाम र नियन्त्रण गर्न सरकार जतिकै भूमिका पत्रकारको हुने भएकाले नसर्ने रोगबारेमा समाचार सम्प्रेषण गर्न आग्रह गरे । रासस

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 9   +   10   =  

Protected by Spam Master