३१ औँ विश्व आदिवासी दिवसमा ‘रिमै’ टिमको सक्रिय उपस्थिति

काठमाडौं। ३१औँ विश्व आदिवासी दिवसको अवसरमा राजधानीको भृकुटी मण्डपबाट सुरु भई विभिन्न स्थान परिक्रमा गर्दै सम्पन्न भएको भव्य र्यालीमा नेपाली चलचित्र ‘रिमै’ टिमले विशेष सहभागिता जनाएको छ। आदिवासी जनजातिको पहिचान, संस्कृति र अधिकारको संरक्षणका लागि आयोजित यस दिवसमा विभिन्न संघ संस्था, कलाकार, सांस्कृतिक टोली र सर्वसाधारणको उल्लेखनीय उपस्थिति देखियो।
रंगीन पोशाक, परम्परागत भेषभूषा र सांस्कृतिक झाँकीसहितको र्यालीमा ‘रिमै’ टिमले आफ्नो उपस्थितिलाई आकर्षक बनायो। कलाकार, निर्माता, निर्देशकलगायत सम्पूर्ण टिमका सदस्यहरू मौलिक पहिचान र संस्कृतिको जगेर्नाको सन्देशसहित सडकमा उत्रिएका थिए। उनीहरूले हातमा ब्यानर, प्लेकार्ड र चलचित्रको नाम अंकित पोस्टर बोकेका थिए भने, परम्परागत वाद्ययन्त्रको धुनमा नाचगान प्रस्तुत गर्दै सहभागीहरूलाई उत्साहित पारेका थिए।

टिमका सदस्यहरूले आदिवासी दिवसलाई केवल उत्सव नभई अधिकार, समानता र सांस्कृतिक सम्मानका लागि संघर्षको प्रतीकका रूपमा लिएको बताएका थिए। साथै, चलचित्रमार्फत आदिवासी समुदायको वास्तविक कथा, संस्कृति र चुनौतीलाई दर्शकसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरे। यस वर्षको दिवसमा ‘रिमै’ टिमको सहभागिताले कलाकार तथा चलचित्रकर्मीहरू पनि सामाजिक र सांस्कृतिक मुद्दाप्रति सचेत र प्रतिबद्ध रहेको सन्देश दिएको छ। र्यालीमा सहभागी दर्शक तथा समर्थकहरूले ‘रिमै’ टिमको पहिचानमूलक उपस्थितिलाई प्रशंसा गर्दै चलचित्र हेर्ने उत्सुकता व्यक्त गरे।
गोर्खा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्सको ब्यानरमा निर्माण भएको नेपाली चलचित्र ‘रिमै’ भदौ २० गतेदेखि प्रदर्शनमा आउनेछ। खिलबहादुर गुरुङ निर्देशित यस चलचित्रमा दयाहाङ राई, रिश्मा गुरुङ, अर्पण थापा, गौमाया गुरुङ, बुद्धि तामाङ, माओत्से गुरुङलगायतका कलाकारको अभिनय रहेको छ। कथामा गाउँकी गुरुङ युवती धनरुपासँग विवाह गरेर विदेश गएका लाहुरे गाउँ फर्कने प्रसंग देखाइएको छ, जसमा दयाहाङ राईले लाहुरेको भूमिका निर्वाह गरेका छन्।
माथिल्लो गोरखामा छायांकन गरिएको यस चलचित्रले प्राकृतिक सौन्दर्य, संस्कार र ग्रामीण जीवनशैलीलाई पर्दामा उतार्ने प्रयास गरेको छ। ‘कबड्डी’ श्रृंखलामा रुचाइएको दयाहाङ र रिश्माको जोडी यस चलचित्रमा पनि पुनः देखिनेछ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण १८, सोमबार १४:१९माइतीघर डुबान समस्यामा दीर्घकालीन समाधानको खोजी गरिँदै
कला, विचार/मनोरञ्जन२०८३ श्रावण १८, सोमबार ०७:५६बाजुराको बडीमालिकाबाट ‘ए मेरो हजुर ५’को छायांकन शुभारम्भ हुने
समाचार२०८३ श्रावण १८, सोमबार ०७:२६सूर्यज्योति लाइफ इन्स्योरेन्स धादिङद्वारा उत्कृष्ट अभिकर्ता सम्मान, लक्ष्यको १२९ प्रतिशत व्यवसाय
समाचार२०८३ श्रावण १७, आईतवार २०:१७गृहमन्त्रीद्वारा मटिहानी–मधवापुर नेपाल–भारत सीमा क्षेत्रको निरीक्षण









