तिहारको पाँचौ दिन गाई पूजा गरिँदै

तिहारको पाँचौ दिन गाई पूजा गरिँदै

धादिङबेशी, ५ कात्तिकः  कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको पाँचौ दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।

गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।

गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहेपनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा तोयराज नेपापले राससलाई जानकारी दिनुभयो ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीले गर्ने प्रत्येक कर्ममा गाईदान गर्ने विधि छ । पछिल्लो समय गाईको अभावमा पैसा राखेर गाईको अभावमा भनी सङ्कल्प पढिन्छ ।
गाईलाई गौमाताका रुपमा सम्मान पनि गरिन्छ । गाईलाई सम्मानका साथ राष्ट्रिय जनावरका रुपमा राखिएको छ । आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास समेत रहेको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 5   +   7   =  

Protected by Spam Master