पोखरा, काठमाडौं पठाउनुपर्ने बाध्यता अन्त्य « रिपोर्टर्स नेपाल

पोखरा, काठमाडौं पठाउनुपर्ने बाध्यता अन्त्य « रिपोर्टर्स नेपाल

बागलुङ, माघ २७ । लामो समयको प्रयासपछि बागलुङको रक्तसञ्चार केन्द्रमा सेतो रगत (प्लेटलेट्स÷प्लाज्मा) बनाउन थालिएको छ । धवलागिरि प्रादेशिक अस्पतालअघि रहेको रक्त सञ्चार केन्द्रमा सेतो रगत निर्माण गर्ने उपकरणको अभावमा अन्य केही उपकरणसमेत प्रयोगविहीन भएका थिए भने बिरामीलाई पोखरा पठाउनुपर्ने बाध्यता थियो ।

लामो समयको प्रयास र करोड खर्च गरेर प्रयोगशाला स्थापना गरिएको छ भने आइतबारदेखि प्रयोगशालाले सेतो रगत उत्पादन गर्न थालेको छ । नेपाल रेडक्रस सोसाइटी बागलुङका सभापति जगन्नाथ आचार्यले लामो समयको प्रयास र विभिन्न निकायको सहयोगमा झण्डै एक करोड रुपैयाँ खर्चेर सुविधासम्पन्न प्रयोगशाला स्थापना गरिएको छ ।

उहाँका अनुसार प्रयोगशालामा तालिमप्राप्त प्रयोगशाला प्राविधिकको समेत व्यवस्था मिलाइएको छ । जटिल प्रकारका बिरामीलाई आवश्यक पर्ने प्लेटलेट्स/प्लाज्मा बागलुङमै बनाउन थालेपछि धवलागिरि प्रादेशिक अस्पतालबाट रेफर हुने जटिल प्रकारका बिरामीको सङ्ख्या घट्ने अपेक्षा छ ।

विशेषज्ञ सेवा प्रदान तथा जटिल प्रकारका रोगको उपचारका लागि सेतो रगत आवश्यक पर्ने अस्पतालका प्रमुख डा किरण तिवारीले जानकारी दिए । रक्त सञ्चार केन्द्रमा सेतो रगत (प्लेटलेट्स÷प्लाज्मा) नपाइँदा अस्पतालले जटिल प्रकारका समस्या देखिएर सेतो रगत चाहिने बिरामीलाई पोखरा पठाउनुपर्ने बाध्यता आइतबारदेखि हटेको उनले जानकारी दिए ।

गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले बागलुङस्थित रक्तसञ्चार केन्द्रलाई दुई वर्षअघि दिएको रातो र सेतो रगत छुट्याउने उपकरण (कम्पानेन्ट सेन्ट्रिफ्युज) प्रयोगमा आएको छ भने प्रदेश सरकारको रु १५ लाख र बागलुङ नगरपालिकाको रु पाँच लाख, जैमिनी नगरपालिकाको रु तीन लाख, गलकोट नगरपालिकाको रु दुई लाख र बरेङ गाउँपालिकाको रु एक लाख ५० हजार गरी रु २६ लाख ५० हजार लागतमा अन्य उपकरण खरिद गरिएको थियो ।

उपकरण आए पनि प्रयोगशालाको पूर्वाधार निर्माण गर्न नसक्दा रोकिएको काममा बागलुङ समाज जापानले रु १३ लाख ५० हजार सहयोग गरेपछि सुरु भएको थियो । रक्तसञ्चार केन्द्रको भवनमा उपकरण र अन्य सहयोग गरी झण्डै रु एक करोड लागतमा सेतो रगत उत्पादन थालिएको केन्द्रका प्रमुख गुरुदत्त शर्माले बताए ।

यो पनि पढ्नुहोस् :  क्यान्सर बिरामीको आयु बढाउन सक्ने यी औषधि

विशेषगरी डेङ्गीको सङ्क्रमण भई सेतो रगतको मात्रा घटेका, सर्पदंश, शल्यक्रिया, अत्यधिक रक्तश्राव भएका बिरामीलाई समेत सेतो रगत आवश्यक पर्ने धवलागिरि अस्पतालका प्रमुख डा तिवारीले जानकारी दिए । उनले सेतो रगतकै कारण उपचार सम्भव हुने बिरामीलाई समेत पोखरा, काठमाडौँ पठाउनुपर्ने बाध्यता अन्त्य भएको बताए । बिरामीको अवस्था हेरेर ३० हजारभन्दा तल प्लेटलेट्स भएमा सेतो रगतको आवश्यकता हुने गर्दछ । रासस

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 10   +   10   =