स्वास्थ्य, सुशासन र प्रणाली सुधारमा काम गर्ने सांसद श्रेष्ठको प्रतिबद्धता

धादिङ,२७ फागुन
धादिङ क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य बोध नारायण श्रेष्ठले विकास र सुशासनलाई केन्द्रमा राख्दै आफ्नो कार्ययोजना सार्वजनिक गर्नुभएको छ।मंगलबार धादिङबेंसीमा आयोजित सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा सांसद श्रेष्ठले “काम, काम, काम – नतिजा, नतिजा, नतिजा” तथा “खुसी, खुसी, खुसी” भन्ने नारासहित आगामी दिनमा जनताको अपेक्षा अनुसार परिणाममुखी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।उहाँले जिल्लाको समग्र विकासका लागि स्वास्थ्य, सुशासन र प्रणाली सुधारलाई आफ्नो प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो। सांसद श्रेष्ठका अनुसार धादिङ अस्पतालको स्तरउन्नति गर्दै आधुनिक स्वास्थ्य सेवा उपलब्ध गराउने योजना अघि बढाइनेछ। साथै अस्पतालको सेवा र सुविधा विस्तार गरी नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा पाउने वातावरण बनाइने उहाँको भनाइ छ।
स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन जिल्लामा अनुसन्धान तथा नव–प्रवद्र्धन केन्द्र स्थापना गर्ने योजना पनि उहाँले अघि सार्नुभएको छ। यसले स्वास्थ्य सेवा तथा अन्य विकासका क्षेत्रमा नयाँ सोच, अनुसन्धान र प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।त्यसैगरी नागरिकलाई सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य बीमा प्रणालीलाई थप विस्तार तथा प्रभावकारी व्यवस्थापन गरिने सांसद श्रेष्ठले बताउनुभयो।
उहाँले देशको विकासमा सबैभन्दा ठूलो बाधाका रूपमा रहेको भ्रष्टाचार नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। सार्वजनिक सेवा प्रवाहलाई छिटो, पारदर्शी र प्रभावकारी बनाउन प्रशासनिक तथा व्यवस्थापकीय प्रणालीमा आवश्यक सुधार गरिने उहाँको भनाइ थियो।“जनताले ममाथि विश्वास गरेर जिम्मेवारी दिनुभएको छ, अब काम गरेर परिणाम देखाउने समय आएको छ,” सांसद श्रेष्ठले भन्नुभयो।उहाँले विकासका योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्थानीय तह, सरोकारवाला निकाय तथा सञ्चारमाध्यमसँग सहकार्य गर्दै अघि बढ्ने पनि बताउनुभयो। साथै जिल्लाको समग्र विकासका लागि सबै पक्षसँग समन्वय र सहकार्यलाई अझ मजबुत बनाइने उहाँको भनाइ छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ५, शुक्रबार २१:४६चलचित्र ‘सिन्दुरे जात्रा’ मंसिर ४ गते रिलिज हुने
समाचार२०८३ असार ५, शुक्रबार १९:०८नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ५, शुक्रबार १४:३८भरतपुर अस्पतालमा बिरामी चाप बढ्दो « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ असार ५, शुक्रबार ०८:३२हिमाल घर्ती मगरको ‘ए साइली’ सार्वजनिक








