डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’ को छायांकन सम्पन्न

काठमाडौँ। मेघौली फिल्म्सको ब्यानरमा निर्माण भइरहेको डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को सम्पूर्ण छायांकन सम्पन्न भएको छ। कास्कीको धिताल गाउँमा कलाकारद्वय राजन भुसाल र प्रकाश घिमिरेको अन्तिम टेक लिँदै सोमबार चलचित्रको ‘प्याकअप’ गरिएको हो। ३५ दिनको छायांकन तालिका तय गरेर पोखराको अर्मलाकोट मन्दिरबाट क्यामेरा रोल गरेको निर्माण टोलीले ३७ दिन लगाएर सुटिङ पूरा गरेको छ। चलचित्रको सम्पूर्ण छायांकन पोखरा वरपरका रमणीय तथा मौलिक बस्तीहरू अर्मलाकोट, धिताल, घार्मी र बगरमा गरिएको छ।
छायांकनका क्रममा निर्माण टोलीले मौसमको ठुलो चुनौती सामना गर्नुपरेको थियो। हरेक दिनजसो पानी परिरहँदा पनि सुटिङलाई निरन्तरता दिइएको थियो भने अन्तिम-अन्तिम तिर लगातार ३० घण्टासम्म पनि छायांकन गरिएको थियो। यस्तो कठिन परिस्थितिमा पनि सेटको माहोल भने निकै रमाइलो र ऊर्जावान रहेको निर्देशक आकास बराल बताउँछन्।
सजन काफ्ले र आकास बरालको संयुक्त निर्देशन तथा पटकथा रहेको यस चलचित्रमा अभिनेता विजय बराललाई दर्शकले अहिलेसम्मकै फरक र नदेखेको अवतारमा देख्न पाउनेछन्। यद्यपि, निर्देशक बरालले उनको चरित्रको बारेमा भने खुलाउन चाहेनन्।
सडक सञ्जाल राम्रोसँग नपुगेको एक विकट गाउँमा आमाबुवाको निधन भएपछि विदेशमा रहेका सन्तान नफर्किन्जेल शवलाई सुरक्षित राख्न ‘डीप फ्रिज’ बोकेर गाउँ उक्लिँदा आइपर्ने उथलपुथल र रमाइला परिस्थितिहरूमा यस चलचित्रको कथा घुमेको छ।
चलचित्रमा विजय बरालका साथै प्रकाश घिमिरे, राजन भुसाल, सनिशा भट्टराई, वरिष्ठ अभिनेत्री वसुन्धरा भुसाल, रमेश बुढाथोकी, लोकेन्द्र लेखक, सन्जोग रसाइली, प्रवेश महतरा क्षेत्री, शारदा सिलवाल, सबिना थापा क्षेत्री, राम बाबु रेग्मी, सुवास गजुरेल र बासु खनाल लगायतको बलियो अभिनय लाइनअप रहेको छ। मोती कार्की कार्यकारी निर्माता रहेको यस चलचित्रलाई निशाल पौडेलले खिचेका हुन्। चलचित्रमा चानस पुन मगरको सम्पादन, राजेन्द्र मोक्तानको रङ्ग संयोजन, अङ्कित बाबु अधिकारीको सङ्गीत र युवराज काफ्लेको शब्द रचना रहेको छ। यो चलचित्रलाई काठमाडौं उपत्यका बाहिर कुबेर सिने डिस्ट्रिब्युसन र उपत्यकामा डिसिएनले वितरण गर्नेछन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ भाद्र २१, आईतवार १७:२३‘जदौ’ को रोमान्टिक ‘तिमीसँग नबोली’मा मा नीति र प्रभात पाल
कला, विचार/मनोरञ्जन२०८३ भाद्र २१, आईतवार ११:११‘हनुमान अंश’को दोस्रो भाग बन्ने, पहिलो फिल्मले कमायो १०० करोड
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र २१, आईतवार १०:१२बाँकेमा १६ जनाको डीएनए नमुना संकलन « रिपोर्टर्स नेपाल
खेलकुद२०८३ भाद्र २१, आईतवार ०७:५२नेपाल ‘ए’ ‘टस’ जितेर न्युजिल्यान्ड विरुद्ध ‘ब्याटिङ’ गर्दै









