चाम्सको निर्देशनमा मदनकृष्ण श्रेष्ठको जीवनमाथि चलचित्र ‘मदनकृष्ण’ बन्ने

चाम्सको निर्देशनमा मदनकृष्ण श्रेष्ठको जीवनमाथि चलचित्र ‘मदनकृष्ण’ बन्ने

मिलन चाम्स बायोपिक निर्माणमा अब्बल निर्देशक मानिन्छन् । उनले गत वर्ष चलचित्र ‘अञ्जिला’ निर्माण गरेका थिए, जुन राष्ट्रिय फुटबल टिमकी गोलरक्षक तथा क्याप्टेन अन्जिला तुम्बाप्पेको बायोपिक थियो ।

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक सिनेमा ‘मदनकृष्ण’ निर्माणको घोषणा गरिएको छ । काठमाडौंमा आज एक भव्य कार्यक्रम गर्दै बायोपिक चलचित्र ‘मदनकृष्ण’ निर्माणको घोषणा गरिएको हो ।

चलचित्रको औपचारिक शुभारम्भ मदनकृष्ण र उनका हितैषी कलाकार हरिवंश आचार्यले संयुक्तरुपमा गरेका हुन् ।

मदनकृष्णको जिन्दगीका सुख, दुःख समेट्दै उनको सम्पूर्ण जीवन संघर्ष र आरोह–अवरोहलाई समेटेर बायोपिक सिनेमा ‘मदनकृष्ण’ निर्माण हुनेछ ।

बायोपिक ‘मदनकृष्ण’लाई मिलन चाम्सले निर्देशन गर्नेछन् । मिलन चाम्स बायोपिक निर्माणमा अब्बल निर्देशक मानिन्छन् । उनले गत वर्ष चलचित्र ‘अञ्जिला’ निर्माण गरेका थिए, जुन राष्ट्रिय फुटबल टिमकी गोलरक्षक तथा क्याप्टेन अन्जिला तुम्बाप्पेको बायोपिक थियो । यो चलचित्र बक्सअफिसमा सुपरहिट भएको थियो । समीक्षात्मक रुपमा पनि सफल भएको थियो ।

मिलनले बायोपिक ‘बबी’ र ‘ब्लाइन्ड रक्स’ पनि निर्देशन गरेका थिए । जसले राम्रो चर्चा बटुलेका थिए । त्यसैले मिलनलाई बायोपिक निर्माणका लागि कुशल तथा अनुभवी निर्देशक मानिन्छ ।

मदनकृष्णको बायोपिकमा मदनकृष्णको भूमिका अभिनेता महेश त्रिपाठीले निर्वाह गर्नेछन् । यो बायोपिकको शीर्ष भूमिकामा दर्शकले केकी अधिकारीलाई देख्न पाउनेछन् । उनले मदनकृष्णकी श्रीमती यशोदाको भूमिका निर्वाह गर्नेछिन् ।

मदनकृष्णको बाल्यकाल, सरकारी जागिरे जीवन, हरिवंशसँगको सहकार्य, अन्तरजातीय विवाहलगायतको कथा बायोपिकमा समावेश हुनेछ । चलचित्रमा राजाराम पौडेल, किरण केसी, रुषा न्यौपाने, यमन श्रेष्ठ, देशभक्त खनालको पनि अभिनय रहनेछ ।

कार्यक्रममा ७६ वर्षिय वरिष्ठ कलाकार मदनकृष्णले आफूमाथि बन्न लागेको बायोपिक सिनेमालाई लिएर खुसी व्यक्त गरे । ‘म एकदमै खुसी छु । दर्शकले मेरो जीवनबारे अझै नजिकबाट बुझ्न पाउनुहुनेछ’ उनले भने । साथै, उनले आफ्नो सफलतामा हरिवंश आचार्यको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।

यो पनि पढ्नुहोस् :  चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’को औपचारिक घोषणा

त्यसैगरी वरिष्ठ कलाकार हरिवंश आचार्यले मदनकृष्णको बायोपिक निर्माण हुनु आफ्नो लागि पनि गर्वको विषय भएको बताए । उनले निर्देशक मिलन चाम्सलाई नेपाली चलचित्र क्षेत्रका साहसी र ऊर्जाशील निर्देशकको रूपमा चित्रित गर्दै चलचित्रले न्यायपूर्ण ढंगले कथा प्रस्तुत गर्ने विश्वास व्यक्त गरे ।

‘चलचित्रका मुख्य क्याप्टेन निर्देशक नै हुन्। मिलन चाम्स नेपाली चलचित्र क्षेत्रमा असाध्यै आँटिला र जागरिला निर्देशक हुनुहुन्छ। उहाँले यो गम्भीर र महत्वपूर्ण कथालाई न्याय दिन सक्नुहुन्छ भन्ने मलाई विश्वास छ,’ उनले भने ।

भिन्टेज मोसन पिक्चर्सको प्रस्तुति बायोपिक ‘मदनकृष्ण’लाई राजकुमार श्रेष्ठले निर्माण गर्नेछन् । लोकप्रिय कलाकार भएकाले मदनकृष्णको बायोपिक प्रतिक्षित बन्ने निश्चित छ ।

चलचित्रको कथा तथा पटकथा यम थापाले लेखेका हुन् । पदम बहादुर श्रेष्ठ (बाबु श्रेष्ठ) डीओपी रहेको चलचित्रमा मिलन श्रेष्ठ सम्पादन, ए लिश कार्की ब्याकग्राउन्ड म्युजिक, प्रोडक्सन डिजाइनर क्षितिज सुवेदी,भरत कँडेल साउन्ड डिजाइन रहेका छन् ।
भदौ दोस्रो सातादेखि छायांकन सुरु गरिने यो चलचित्रलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट, र एफ.डी. कम्पनीले वितरण गर्ने छन् । डिजिटल पार्टनर ‘ओएसआर डिजिटल’ रहेको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’को औपचारिक घोषणा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 1   +   5   =