धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

धादिङबेशी,२२ असार । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाले सुशासन, पारदर्शिता र जवाफदेहिता प्रवर्द्धन गर्ने उद्देश्यले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। आइतबार गाउँपालिकाको प्राङ्गणमा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राजु उप्रेती प्रमुख वक्ताको रुपमा उपस्थित रहनुभएको थियो । कार्यक्रममा उपाध्यक्ष देवराज धरेल, प्रमुख प्रशासकीय अधिकृत वीर सिंह भण्डारी बिशेष वक्ताको रुपमा सहभागी हुनुभयो । कार्यक्रममा वडा अध्यक्षहरु र कार्यालयका शाखा प्रमुखहरु वक्ताका रुपमा सहभागी हुनुभएको थियो । कार्यक्रममा सेवा प्रवाह, विकास निर्माण तथा प्रशासनिक गतिविधिबारे जानकारी गराउँदै वक्ताहरुले सहभागीका जिज्ञासाको जवाफ दिएका थिए । कार्यक्रममा सबै वडा अध्यक्ष, शाखा प्रमुख, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, पत्रकार तथा स्थानीय नागरिकको सहभागिता रहेको थियो।
सार्वजनिक सुनुवाइमा सहभागीहरूले बजार अनुगमनलाई थप प्रभावकारी बनाउन, विषादी र मासु पसलको नियमनमा कडाइ गर्न, योजना सम्झौतापछि बैंक खातामा रोकिएको रकमको समस्या समाधान गर्न तथा विद्यार्थी सङ्ख्या घटेका विद्यालयको व्यवस्थापनबारे आवश्यक निर्णय गर्न सुझाव दिएका छन्। त्यसैगरी, सल्यानकोट स्वास्थ्य चौकीलगायत स्वास्थ्य संस्थामा जनशक्ति अभाव हटाउन, पशु सेवा शाखामा औषधिको उपलब्धता सुनिश्चित गर्न, धानको बीउ वितरणलाई व्यवस्थित बनाउन तथा कार्यालयमा दर्ता भएका फाइल र बिल सुरक्षित व्यवस्थापन गर्न आग्रह गरिएको छ।
सहभागीहरूले गाउँपालिकाका लागि आवश्यक सामग्री स्थानीय बजारबाट खरिद गरी स्थानीय व्यवसायलाई प्रोत्साहन गर्नुपर्ने, प्राथमिक स्वास्थ्य केन्द्र सल्यानटारको निर्माण कार्य शीघ्र सम्पन्न गर्नुपर्ने तथा बिग्रिएका एक्स–रे लगायतका उपकरण तत्काल सञ्चालनमा ल्याउनुपर्ने बताएका थिए । कार्यक्रममा स्वास्थ्य सेवाको विस्तार, एम्बुलेन्स व्यवस्थापन, गोलाङ क्षेत्रमा स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति व्यवस्थापन तथा सडक निर्माणको गुणस्तरमा प्रभावकारी अनुगमन गर्नुपर्ने विषय पनि उठाइएको थियो।
यसैगरी, शाखागत कार्यक्रम र गतिविधिको नियमित प्रचार–प्रसार गर्न, कार्यालयका कर्मचारीका लागि समान कार्य वातावरण सुनिश्चित गर्न, कर्मचारीलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गर्न तथा प्रमुख प्रशासकीय अधिकृतको स्थायित्वमा ध्यान दिनुपर्ने सुझाव सहभागीहरूले दिएका छन्। गाउँपालिकाभित्र सञ्चालनमा रहेका वित्तीय संस्थाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत स्थानीय क्षेत्रमा सामाजिक कार्यमा लगानी गर्नुपर्ने विषयमा पनि पालिकाले पहल गर्नुपर्ने धारणा व्यक्त गरिएको थियो। सहभागीहरूले सार्वजनिक सुनुवाइलाई नियमित रूपमा सञ्चालन गर्न समेत आग्रह गरेका छन्।
कार्यक्रमको समापनमा गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुले सार्वजनिक सुनुवाइबाट प्राप्त सुझाव र गुनासोलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। नागरिकबाट प्राप्त सुझावका आधारमा सेवा प्रवाहमा रहेका कमजोरी सुधार गर्दै थप प्रभावकारी, पारदर्शी र उत्तरदायी स्थानीय शासन प्रणाली विकास गरिने जनाइएको छ। सार्वजनिक सुनुवाइले नागरिक र गाउँपालिकाबीच प्रत्यक्ष संवाद स्थापना गरी सार्वजनिक सेवाको गुणस्तर सुधार गर्न महत्वपूर्ण योगदान पुगेको गाउँपालिकाले जनाएको छ। साथै कार्यक्रममा सहभागी भई सुझाव, जिज्ञासा र प्रतिक्रिया दिने सबै नागरिक, जनप्रतिनिधि, कर्मचारी, पत्रकार तथा सरोकारवालाप्रति गाउँपालिकाले धन्यवाद व्यक्त गरेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण १०, आईतवार १०:४०राप्ती शान्ति उद्यानमा प्रत्येक शनिबार निःशुल्क आँखा जाँच सेवा
समाचार२०८३ श्रावण ९, शनिबार १९:०४प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण ९, शनिबार १२:५५डा. गोविन्द केसीलाई लगियो प्रादेशिक अस्पताल
समाचार२०८३ श्रावण ९, शनिबार ०७:४७आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै







