चलचित्र विकास बोर्डका समितिमा विज्ञता र दक्षतालाई प्राथमिकता, पहिलोपटक खुला आवेदन आह्वान

सेलिब्रेटी नेपाल । चलचित्र विकास बोर्डअन्तर्गतका विभिन्न समितिलाई थप प्रभावकारी, व्यवस्थित र विशेषज्ञतामा आधारित बनाउने उद्देश्यसहित बोर्डका अध्यक्ष मनीष मण्डितले समितिका सदस्यका लागि पहिलोपटक सार्वजनिक रूपमा खुला आवेदन आह्वान गरेका छन्।
बोर्डको संस्थागत कार्यप्रणालीलाई थप पारदर्शी, सहभागितामूलक र परिणाममुखी बनाउने लक्ष्यसहित इच्छुक चलचित्रकर्मी, अनुभवी व्यक्तित्व तथा विभिन्न विषयका विज्ञहरूबाट आवेदन माग गरिएको हो।
बोर्डका दैनिक कार्य सञ्चालनदेखि नीतिगत निर्णय, योजना निर्माण तथा कार्यक्रम कार्यान्वयनसम्म समितिहरूको भूमिका महत्वपूर्ण हुने भएकाले सम्बन्धित क्षेत्रको ज्ञान, अनुभव र दक्षता भएका व्यक्तिहरूलाई समेटेर समितिलाई बलियो बनाउने योजना अघि सारिएको छ।
अध्यक्ष मण्डितको सोचअनुसार चलचित्र विकास बोर्डको कामकारबाही सीमित व्यक्तिको अनुभव र सुझावमा मात्र केन्द्रित नभई चलचित्र क्षेत्रका विभिन्न विधामा क्रियाशील विज्ञ तथा सरोकारवालाको सामूहिक ज्ञान र अनुभवबाट निर्देशित हुनुपर्छ। यसले बोर्डका निर्णय र कार्यक्रमलाई थप व्यावहारिक, प्रभावकारी र उपलब्धिमूलक बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यसअघि समितिमा सदस्य छनोट तथा मनोनयन गर्दा व्यक्तिगत पहुँच र निकटताका आधारमा अवसर सीमित हुने गरेको गुनासो चलचित्र क्षेत्रमा सुनिँदै आएको थियो। यस्तो पृष्ठभूमिमा यसपटक सार्वजनिक रूपमा आवेदन माग गरिनुलाई योग्यता, विज्ञता र अनुभवका आधारमा अवसर प्रदान गर्ने तथा संस्थागत पारदर्शिता बढाउने नयाँ अभ्यासका रूपमा हेरिएको छ।
बोर्डले चलचित्र निर्माता, निर्देशक, चलचित्र अनुसन्धानकर्ता, अनुसन्धानमा रुचि भएका व्यक्ति, विषयगत विज्ञ, कार्यक्रम व्यवस्थापक तथा कार्यक्रम र परियोजना सञ्चालनसम्बन्धी मोडालिटीमा दक्षता हासिल गरेका व्यक्तिहरूलाई समितिमा आबद्ध हुन आवेदन दिन आग्रह गरेको छ।
इच्छुक व्यक्तिहरूले आफ्नो विषयगत विज्ञता, अनुभव र दक्षता स्पष्ट हुने गरी व्यक्तिगत विवरण (CV) सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बोर्डको इमेल fdbnepal@gmail.com मा पठाउन सक्नेछन्। यससम्बन्धी थप जानकारीका लागि WhatsApp नम्बर ९८०३४१२९५६ मा सम्पर्क गर्न सकिने बोर्डले जनाएको छ।
समितिहरूलाई नाम मात्रका औपचारिक संरचनामा सीमित नराखी बोर्डको दैनिक कार्य सञ्चालन, नीति निर्माण, योजना तर्जुमा र कार्यक्रम कार्यान्वयनमा सक्रिय भूमिका निर्वाह गर्ने जिम्मेवार संयन्त्रका रूपमा विकास गर्नु यस पहलको मुख्य उद्देश्य देखिन्छ।
चलचित्र क्षेत्रका अनुभवी, दक्ष र नयाँ सम्भावना बोकेका व्यक्तिहरूलाई एउटै संस्थागत संरचनामा जोड्ने यो प्रयासले चलचित्र विकास बोर्डको कार्यक्षमता अभिवृद्धि गर्नुका साथै निर्णय प्रक्रियामा विशेषज्ञताको प्रयोग बढाउने अपेक्षा गरिएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ कार्तिक २२, शनिबार १७:०४‘सिन्दुरे जात्रा’को गीतमा अञ्जना र विजयको नृत्य » Celebrity Nepal
खेलकुद२०८३ कार्तिक २२, शनिबार १६:४५लुम्बिनी लायन्सले टस जितेर काठमान्डु गुर्खाजलाई ब्याटिङको निम्तो
स्वास्थ्य/जानकारी टिप्स२०८३ कार्तिक २२, शनिबार १४:२४कोप-३१ मा जलवायु परिवर्तन र स्वास्थ्यसम्बन्धी उच्चस्तरीय छलफलको अध्यक्षता गर्दै मन्त्री मेहता
कला, विचार/मनोरञ्जन२०८३ कार्तिक २२, शनिबार ०९:४९काग सम्मेलनको २३औँ संस्करण सम्पन्न, रमेश दुलालले भेला पारे सयौँ काग









