नेपालमै ड्रोन, इलेक्ट्रोनिक्स र बायोमेडिकल अनुसन्धान केन्द्र खोल्दै सरकार

काठमाडौँ । सरकारले विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तनको क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न प्राविधिक क्षेत्रमा विशिष्टीकृत अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापना गर्न अवधारणापत्र आह्वान गरेको छ।
प्रविधिमा आधारित उद्यमशीलताको विकास र अनुसन्धानलाई संस्थागत गर्ने लक्ष्यसहित सरकारले यस्तो पहल अघि बढाएको हो।
विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, २०८३ अनुसार यस क्षेत्रको विकासका लागि मन्त्रालयअन्तर्गत विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन कोष रहने व्यवस्था छ। सोही कोषको रकम परिचालन गरी विज्ञान, प्रविधि तथा नवप्रवर्तन केन्द्रमार्फत विभिन्न क्षेत्रमा अनुसन्धान केन्द्र स्थापना गर्ने तयारी गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले औद्योगिक तथा कृषि औजार, उपकरण र मेसिनरीसम्बन्धी अनुसन्धान केन्द्र स्थापनालाई प्राथमिकतामा राखेको छ। त्यसैगरी विद्युतीय तथा इलेक्ट्रोनिक्स, स्वस्थ खाद्य परिकार तथा पेय पदार्थ, ड्रोन तथा एरोनटिकल प्रविधि, आयुर्वेद, जडीबुटी तथा वन पैदावारका क्षेत्रमा समेत विशिष्टीकृत केन्द्र स्थापना गर्ने योजना अघि सारिएको छ।
यसका अतिरिक्त बायोमेडिकल इन्जिनियरिङ तथा कृषिजन्य फोहोरको मूल्यवर्धनसम्बन्धी अनुसन्धान र नवप्रवर्तन केन्द्र स्थापना गर्ने प्रस्तावसमेत गरिएको छ।
उल्लिखित क्षेत्रबाहेक राष्ट्रिय आवश्यकता र प्राथमिकताका आधारमा अन्य नवीन तथा उदीयमान प्राविधिक क्षेत्रमा पनि केन्द्र स्थापना गर्न इच्छुक संस्था तथा सरोकारवालाले अवधारणापत्र पेस गर्न सक्नेछन्।
मन्त्रालयले प्रस्ताव पेस गर्दा केन्द्र स्थापनाको उद्देश्य, सञ्चालनको अवधारणा र अनुमानित लागतसमेत खुलाउनुपर्ने जनाएको छ।
सरकारको यो पहलले स्वदेशमै अनुसन्धान तथा प्रविधि विकासको वातावरण निर्माण गर्नुका साथै व्यावहारिक आविष्कार र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ। यसबाट औद्योगिक उत्पादन, कृषि आधुनिकीकरण, स्वास्थ्य प्रविधि र स्वदेशी स्रोतसाधनको अधिकतम उपयोगमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ।

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ कार्तिक २९, शनिबार २०:१९वरिष्ठ युरोलोजिस्ट डा. सञ्जय खड्गीलाई अन्तर्राष्ट्रिय ‘डिस्टिङ्गुइस्ड करियर अवार्ड’
कला, विचार/मनोरञ्जन२०८३ कार्तिक २९, शनिबार ०५:५८‘सारथी’को अफिसियल पोस्टर सार्वजनिक » Celebrity Nepal
कला, विचार/मनोरञ्जन२०८३ कार्तिक २९, शनिबार ०५:५२सुनिल थापाको अन्तिम चलचित्र ‘हिमालयन गोल्ड’ को दोस्रो ट्रेलर सार्वजनिक
सूचना-प्रविधि२०८३ कार्तिक २८, शुक्रबार २१:४९नेपालमै ड्रोन, इलेक्ट्रोनिक्स र बायोमेडिकल अनुसन्धान केन्द्र खोल्दै सरकार









