ओलीले भने-‘भदौ २३ र २४ का घटना देश सिद्ध्याउने योजनाअनुसार भएका हुन्’

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ का घटना अहिलेको व्यवस्था र देश सिद्ध्याउने योजनाअनुसार भएकाे बताएका छन्।
बुधबार एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले अहिले देखिएका घटनाहरू वर्षौँदेखि चलिरहेको योजनाको परिणाम भएको बताए। उनका अनुसार, ‘संसद् मान्दैनौं, व्यवस्था मान्दैनौं, व्यवस्था नै फेर्नुपर्छ’ भन्नेहरूले नै ती घटना गराएका हुन्। ओलीले भने, “सिंहदरबार जलाउँछौँ, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र जलाउँछौँ भनेकै हुने, चैत १५ मा पनि उनीहरू त्यसतर्फ गएका थिए।”
ओलीका अनुसार नेपालका सफलता, संस्कार र गौरव मन नपराउने, अन्तैबाट पालित तत्त्वहरूले देश र सम्पत्तिमाथि आक्रमण गरेका छन्। उनले भने, “सार्वजनिक धरोहर र सम्पत्ति जलाइयो, प्रहरीका हतियार खोसिए, निजी घर र उद्योगसमेत जलाइए — यी तमासा हुन्।” ओलीका भनाइमा, यस्ता शक्ति राष्ट्रवादी आन्दोलनका विरुद्ध सक्रिय छन्।
तानाशाही र अधिनायकवादलाई फालेर स्थापित लोकतन्त्रलाई जोगाउन एमाले अग्रसर रहेको बताउँदै ओलीले भने, “हामीले ती सबै अप्ठेरा पार गरेर अहिलेको अवस्था ल्याएका हौं, अहिले पनि असहज स्थिति छ, तर त्यसलाई काँधमा बोकेर अघि बढ्नुपर्छ।”
उनका अनुसार भदौ २३ र २४ का घटना अनेपेक्षित थिएनन्, तर त्यति ठूलो स्तरको हुने अन्दाज भने गरिएको थिएन। ओलीले भने, “उनीहरू प्रयास त गरिरहेका थिए, तर हामीले रोक्छौं भन्ने विश्वास थियो। राज्य संयन्त्रले चाहेको भए रोक्न सकिन्थ्यो, तर सकिएन।”
लोकतन्त्र जनताले ल्याएको व्यवस्था भएको भन्दै ओलीले भने, “अब यसको रक्षा पनि जनताबाटै हुनुपर्छ। संविधानमा लागेको चोटमा मलमपट्टी जनताले नै गर्नुपर्छ।”
त्यस क्रममा उनले असंवैधानिक सरकारले प्रतिनिधि सभा विघटन गरेको विषयमा टिप्पणी गर्दै भने, “हिजो आफू दुई तिहाइको सरकार हुँदा संसद् विघटन हुँदै भनेकाहरू आज कानुन लुकाएर संसद् विघटन ठिक भन्छन्, तर सर्वोच्च अदालतले पहिले नै नजिर कायम गरिसकेको छ।”
ओलीका अनुसार सुशीला कार्की असंवैधानिक ढंगले प्रधानमन्त्री बनेकी थिइन् र संसद् विघटन पनि त्यही ढंगले भएको थियो। उनले थपे, “अहिलेको सरकार अवैधानिक र चुनाव नगराउने बाटोमा लागेको प्रतिगामी सरकार हो।”
ओलीले अहिले चर्चामा रहेका ‘जेनजी आन्दोलन’ का माग कुनै राजनीतिक घटनाक्रमसँग नजोडिएको भन्दै ओलीले भने भने, “उनीहरूको माग सुशासन र सामाजिक सञ्जाल खोल्नेमात्र हो। त्यसैले एमालेको काँधमा अहिले ठूलो जिम्मेवारी छ र त्यो पूरा गर्न एकता आवश्यक छ।”
फेसबुकमा आलोचना हुँदैमा आफूले पद नछोड्ने स्पष्ट गर्दै ओलीले भने, “फेसबुकले अध्यक्ष हटाउने होइन, कमिटीले आदेश दियो भने म एक मिनेट पनि बस्दिनँ। कमिटीभन्दा बाहिर गएर लोकप्रियतावादको पछि लाग्नु हुँदैन।”
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19800, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार ३, बुधबार १७:४१पोखरामा ‘यामाहा फेस्ट’ सुरु, एक्सचेन्जमा विशेष अफर
समाचार२०८३ असार ३, बुधबार ०८:१३समुदायको पहलले जोगियो भुर्तेल आधारभूत विद्यालय
समाचार२०८३ असार २, मंगलवार ०८:१३रास्वपाका गण्डकी प्रदेश सभापति नवीन त्रिपाठीलाई लायन्स क्लब अफ पोखरा हेम्जाद्वारा सम्मान
समाचार२०८३ असार १, सोमबार १५:१२नयाँ अनलाइनका सञ्चालक/सम्पादकलाई आचारसंहिता अभिमुखीकरण





