
काठमाडौं। भारतको डुवर्सबाट बनेको नेपाली चलचित्र ‘धागो’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरले चलचित्रको मूल भावलाई प्रस्ट्याएको छ, जसमा परिवारभित्रको भावनात्मक सम्बन्ध, आर्थिक कठिनाइले निम्त्याएका दैनिक समस्याहरू, र सामाजिक दुरावस्थाको सङ्घर्षको मार्मिक चित्रण गरिएको छ।
उदिप राणा थापा निर्देशित यो चलचित्र नेपाल-भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारहरूको जीवन, सांस्कृतिक सम्बन्ध र आपसी भावनात्मक धागोलाई कथाको केन्द्रमा राखेर बुनिएको छ। यसले एक परिवारभित्र सम्बन्धको धागो कमजोर भएपछि उत्पन्न हुने संवेदनशील परिस्थितिलाई प्रतिबिम्बित गर्ने निर्देशकले बताए।
चलचित्रमा अभिनेत्री सुरक्षा पन्त को प्रमुख भूमिका रहेको छ भने उहाँसँगै प्रभात थापा, सुरभि थापा, बुद्धि तामाङ, सुनिल थापा लगायतका कलाकारको अभिनय रहेको छ। अभिनेत्री वर्षा राउत विशेष केमियो भूमिकामा देखिनेछिन्।
चलचित्रको निर्माण फिल्म म्याग्नेट इन्टरटेन्मेन्ट प्रोडक्शन हाउस ले गरेको हो। निर्माण टिममा उमा थापा, उत्तम थापा र उदिप थापा रहेका छन्। चलचित्रको छायाङ्कन निर्देशन बलिउडका अनिकेर एम. घोघले गरेका हुन्।
चलचित्र ‘धागो’ आगामी कार्तिक २८ गते (नोभेम्बर १४) मा नेपाल र भारतका हलहरूमा एकसाथ रिलिज हुने तयारीमा छ। नेपालमा यसलाई आरआर फिल्म्सले वितरण गर्नेछ।







