क्यान्सर अस्पतालमा भिडियो एक्सरे सेवा बन्द

नेपालगन्ञ्ज, २५ पुस । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रेडियोलोजिस्ट नहुँदा करिब २० दिनदेखि भिडियो एक्सरे सेवा पूर्णरूपमा बन्द भएको छ । क्यान्सरको उपचार प्रक्रियामा अत्यावश्यक मानिने प्रारम्भिक परीक्षण सेवा नै बन्द भएपछि सेवा प्रभावित भएको हो ।
अस्पतालका रेडियोलोजिस्ट डा ठाकुर कोइरालाले करिब १० दिनअघि राजीनामा दिएपछि हालसम्म अर्को रेडियोलोजिस्टको व्यवस्था नहुँदा भिडियो एक्सरे सेवा सञ्चालन गर्न नसकिएको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालका कार्यकारी निर्देशक डा ज्वलन्त पौडेलले नयाँ डाक्टरको पदपूर्ति नहुँदा बाहिरबाट एकसरे गरेर ल्याउनुपर्ने बाध्यता रहेको बताए । “पदपूर्ति नहुँदा भिडिओ एक्सरे गर्न पाएका छैनौँ” उनले भने । क्यान्सरको पहिचान, उपचारको योजना बनाउने र उपचारको प्रगतिबारे मूल्याङ्कन गर्न भिडियो एक्सरे अनिवार्यजस्तै भएको उल्लेख गर्दै पौडेलले एक्कासि रेडियोलोजिस्टले राजीनामा दिएर गएकाले तत्काल विकल्प नजुट्दा सेवा प्रभावित भएको बताए ।
यसअघि लामो समयसम्म अस्पतालमा ‘पार्टटाइम’ ज्यालादारीमा भिडियो एक्सरे सेवा सञ्चालन हुँदै आएको थियो । करिब एक वर्षअघि डा ठाकुर कोइराला आएपछि भने सो सेवा पूर्णरूपमा नियमित सञ्चालनमा थियो । दैनिक १५ देखि २० जनासम्म बिरामीको भिडियो एक्सरे लिँदै आएका थिए ।
अस्पताल प्रशासनका अनुसार स्थानीयस्तरमै रेडियोलोजिस्ट राख्ने प्रयास गरिए पनि अस्पताल विकास समिति पूर्ण नहुँदा दरबन्दी सिर्जना र विज्ञापन गर्न समस्या भएको छ । “स्थानीय स्रोतबाट समाधान खोज्न चाहन्छौँ, तर संरचनागत कमजोरीले गर्दा प्रक्रिया अघि बढाउन सकिएको छैन,” उनले भने ।
अस्पतालमा उपचारका लागि आएका अधिकांश बिरामीलाई एक्सरे गराउन नेपालगञ्ज पुग्नुपर्ने बाध्यता भएको छ । यस अस्पतालले लुम्बिनी प्रदेशसँगै कर्णाली र सुदूरपश्चिम प्रदेशसम्मका क्यान्सरका बिरामीलाई सेवा दिँदै आएको छ । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ माघ १, बुधबार १२:०५सौगात र सृष्टिको सिनेमा ‘भाईरल गोर्खे’ को प्रिमियर सम्पन्न
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ १, बुधबार ११:१७एकीकृत परिवार योजना शिविरः महिलालाई भन्दा पुरुषलाई सम्झाउन गाह्रो
समाचार२०८२ माघ १, बुधबार १०:३७सभापति देउवा र दुई महामन्त्रीबीच छलफल, केन्द्रीय समितिको बैठक बस्दै
समाचार२०८२ पुष २९, मंगलवार १९:३०काँग्रेस कार्य समिति बैठक भोलि विहान बस्ने








